स्थानीय निर्वाचनबारे गाउँठाउँमा छलफल गर्दै कैलालीका थारू समुदाय । तस्बिर : अन्नपूर्ण
धनगढी : नवलपरासीदेखि कञ्चनपुरसम्मको तराई एक प्रदेश हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेको थारू समुदाय असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय चुनावमा उत्साहित देखिएको छ । स्थानीय तहको निर्वाचनपछि देशमा स्थायित्व आउने र त्यसपछि आफ्ना हक अधिकार माग्न सकिने मनसाय बनाउँदै थारु समुदाय चुनावी तयारीमा लागेको छ ।
संविधानसभा निर्वाचन ०७० मा कैलालीका ६ निर्वाचन क्षेत्रमध्ये दुई स्थानमा जितेको नेपाल लोकतान्त्रिक फोरमले कैलालीका १३ स्थानीय तहमध्ये तराईमा पर्ने ९ स्थानीय तहमा मात्रै उम्मेदवारी दिने तय गरेको छ । नेपाल लोकतान्त्रिक फोरम कैलालीका अध्यक्ष विरुप्रसाद चौधरीले टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकामा मेयर तथा उपमेयरको टुंगो लगाएको बताउनुभयो ।
फोरमले टीकापुरमा मेयरका लागि लौटन चौधरी र उपमेयरमा सुदर्शनीदेवी चौधरीलाई उम्मेदवार बनाएको छ । कैलालीको निर्वाचन क्षेत्र नंं १ मा पर्ने टीकापुरबाट संविधानसभा निर्वाचन २०७० मा फोरमका जनक चौधरीले जित्नुभएको थियो । 'लौटन हाम्रो पार्टीका बलिया उमेदवार हुनुहुन्छ, थारू आन्दोलनका सशक्त नेता भएकाले टीकापुरमा फोरमले जित्छ', विरुप्रसाद चौधरीले भन्नुभयो ।
यस्तै, गौरीगंगा नगरपालिकामा पनि फोरमले मेयरमा खुसीराम चौधरी र उपमेयरमा शारदा चौधरीलाई टिकट दिएको छ । जानकी, जोशीपुर र कैलारी गाउँपालिका तथा घोडाघोडी, गोदावरी र भजनी नगरपालिका तथा धनगढी उपमहानगरपालिकामा भने उम्मेदवारको टुंगो नलागेकाले पार्टी केन्द्रमा सिफारिस पठाइएको छ । जानकी गाउँपालिकाबाट प्रदीप चौधरी, परशुराम चौधरी र भगतराम चौधरीको नाम मेयरका लागि र उमा महतोको नाम उपमेयरका लागि सिफारिस गरिएको फोरमका अध्यक्ष विरुप्रसादले बताउनुभयो ।
यस्तै, जोशीपुर गाउँपालिकाका लागि अध्यक्ष विरुप्रसाद चौधरी र घनश्याम कुस्मी तथा उपाध्यक्षका लागि राजेश्वरी चौधरी र किरण चौधरीको नाम केन्द्रमा सिफारिस गरिएको छ । भजनीका लागि केबल चौधरी, श्रीपाल चौधरी, करण चौधरी र राजाराम चौधरीको नाम मेयरमा र धनवासी चौधरी, राजकुमारी चौधरी र सीतारानी चौधरीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ ।
घोडाघोडी नगरपालिकाको मेयरका लागि फोरमले चन्द्रकुमार चौधरी, योगेन्द्र विष्ट र छविलाल चौधरी तथा उपमेयरका लागि चैतीदेवी विकको नाम सिफारिस गरेको छ । कैलारी गाउँपालिकाका लागि कलेसुराम चौधरी र शिवराज गुरुङलाई मेयरका लागि र फूलमती महतो र गीतादेवी चौधरीको नाम उपमेयरका लागि सिफारिस गरिएको छ ।
धनगढी उमहानगरका लागि पनि सहमति नजुटेपछि प्रेम विसी, शिवराज गुरुङ र पृथ्वी रानाको नाम मेयरमा र दुर्गा कुस्मीको नाम उपमेयरका लागि सिफारिस गरिएको अध्यक्ष विरुप्रसादले जानकारी दिनुभयो । 'हामीले टोलसभा, वडा भेला र घरदैलो पनि गरिरहेका छौं', उहाँले भन्नुभयो । 'थारू समुदायमा चुनावको उत्साह एकदमै देखिएको छ ।' फोरमले जोशीपुर, टीकापुर, जानकी, भजनी र कैलारीमा जित्ने दाबी गरेको छ । यी क्षेत्र थारू मतदाता बाहुल्य भएका क्षेत्र हुन् ।
थरुहट आन्दोलनकै अर्को घटक संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीले संयुक्त रूपमा उम्मेदवार चयन गरेका छन् । दुवै पार्टीले चुनावी तालमेल गर्दै टीकापुरको मेयरमा दलबहादुर विक, जानकी गाउँपालिकाको प्रमुखमा जनक चौधरी, जोशीपुरको प्रमुखमा चन्द्रप्रकाश चौधरीलाई उम्मेदवार बनाएका छन् । यी तीनै तहमा उपप्रमुखको भने टुंगो नलागेको संघीय समाजवादी फोरमका तराई-थरुहट क्षेत्रका संयोजक होरीलाल चौधरीले बताउनुभयो।
यस्तै, भजनी नगरपालिकामा डिल्लीराज जैशी र सीता चौधरीलाई मेयर र उपमेयरको उम्मेदवार बनाइएको छ भने घोडाघोडी नगरपालिकामा दीपेन्द्र शाही मेयर र सुशीला चौधरीलाई उपमेयरको टिकट दिइएको छ । गौरीगंगा नगरपालिकामा खडक साउदलाई मेयरको र कौसिल्या चौधरीलाई उपमेयरको टिकट दिइएको छ । कैलारी गाउँपालिकामा गंगादेवी चौधरीलाई प्रमुखमा र अनील चौधरीलाई उपप्रमुखमा टिकट दिइएको संयोजक होरीलालले बताउनुभयो ।
'हामीले, कैलालीको तराईमा पर्ने ९ वटै स्थानीय तहमा वडादेखि प्रमुखसम्म उम्मेदवार छनोट गरिसकेका छौं, ९ वटा स्थानीय तहमा हाम्रो कतै पनि खाली हुँदैन', नयाँ शक्ति पार्टीका कैलाली संयोजक कृष्णकुमार चौधरीले बताउनुभयो । 'हाम्रो प्रदेशको सीमांकनको मुद्दा यथावत छ तर चुनावमा भाग लिएर जनमतअनुसार जाने मनसायले स्थानीय तहमा सहभागी भएका छौं', उहाँले भन्नुभयो । २०७२ भदौ ७ गते भएको टीकापुर घटनापछि थारू सहुदाय निर्वाचनमा जाने वा नजानेमा कुनै टुंगो लागेको थिएन । पुष्पकमल दाहाल नेतृत्वको सरकारले तराई र थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्ने निर्णय गरेपछि तराईका थारू पनि चुनावका लागि तातेका हुन् ।
सरकारको त्यो निर्णय भए पनि टीकापुर घटनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि कैलाली कारागारमा रहेका थारू नेता तथा कार्यकर्ता अझै रिहा भएका छैनन् ।थारू नेताले स्थानीय तहको निर्वाचनबाट थरुहट र मधेस आन्दोलनका विरोधीलाई बढार्ने भन्दै चुनावमा गएको बताएका छन् । 'यो चुनावमा कैलालीका थारूले थरुहट आन्दोलनका विरोधी पार्टीलाई बढार्नेछ । हाम्रो अभियान त्यही छ', संघीय समाजवादी फोरमका तराई थरुहट क्षेत्रका संयोजक होरीलालले भन्नुभयो ।
अझ ठूला दल कांगेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि थारू मतदाता बाहुल्य रहेका स्थानमा थारू समुदायबाटै उम्मेदवार बनाएपछि सिंगो थारू समुदाय चुनावमा होमिएको हो ।सुदूरपश्चिममा कैलाली र कञ्चनपुर छुट्याएर छुट्टै थरुहट प्रदेश बनाउनुपर्ने र सिंगो सुदूरपश्चिम एक प्रदेश हुनुपर्ने भन्दै दुई थरी आन्दोलनपछि भइरहेको स्थानीय तहको निर्वाचनको परिणाम पनि फरक आउने आकलन गरिएको छ ।
कैलालीमा कुल चार लाख ३ हजार २ सय ८० मतदाता छन् भने कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा, भजनी र टीकापुर नगरपालिका छन् । यसैगरी, कैलारी, जोशीपुर, मोहन्याल, बर्दगोरिया, चुरे र जानकी गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् ।
Comments
Post a Comment