रोनाल्डोको ह्याट्रिकले रियल विजयी

म्याड्रिड : प्रभावशाली पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको मंगलबार राति खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नै सहरको चिरपरिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि ३-० गोलको सजिलो जित हात पारेको छ । घरेलु मैदानमा हात पारेको उक्त जितसँगै रियलले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । सेमिफाइनलको दोस्रो लेग खेल आगामी बुधबार एट्लेटिकोको मैदानमा खेलिनेछ ।
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन लिगको साबिक विजेतासमेत रहेको रियलका लागि खेल सुरु भएको १०औं मिनेटमै रोनाल्डोले हेडमार्फत पहिलो गोल गरेका थिए । थप दुई गोल उनले दोस्रो हाफमा गरेका थिए । ७३औं मिनेटमा दोस्रो गोल थपेका ३२ वर्षीय रोनाल्डोले निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि ह्याट्रिक पूरा गरेका थिए ।
उक्त खेलपछि रोनाल्डोले रियलका लागि गरेको गोलसंख्या पनि चार सय पुगेको छ । ‘हामीले आज स्तरीय खेल खेल्यौं', खेलपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘एट्लेटिको म्याड्रिडजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्घ तीन गोल गर्नु सामान्य उपलब्धि होइन ।' उनले आफ्नो टोलीको फाइनल यात्रा सहज बने पनि चुनौती अझै बाँकी रहेको धारणा पनि व्यक्त गरे ।
अघिल्लो सिजनको फाइनलमा एट्लेटिको म्याड्रिडलाई नै हराउँदै रियलले च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो । यसैगरी सन् २०१३÷१४ सिजनको च्याम्पियन्स लिगको फाइनलमा पनि रियलले एट्लेटिको म्याड्रिडलाई नै पराजित गरेको थियो । रियलले हालसम्म सर्वाधिक ११ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । ‘हामी फेरि एकपटक जिल्लिएका छौं, यो नतिजापछि अब हाम्रो फाइनलमा पुग्ने सम्भावना निकै कम छ', नतिजाबाट निकै निराश देखिएका एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनले भने ।
रियललाई सेमिफाइनलमा पुर्‍याउन पनि रोनाल्डोको महत्ववपूर्ण भूमिका रहेको थियो । उनले जर्मन क्लब बायर्न म्युनिखविरुद्घको क्वार्टरफाइनल खेलमा पाँच गोल गरेका थिए । बायर्नको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा दुई गोल गरेका रोनाल्डोले घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा ह्याट्रिक गरेका थिए । एट्लेटिको म्याड्रिड भने क्वार्टरफाइनलमा इङ्लिस प्रिमियर लिग विजेता लेस्टर सिटीलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
‘हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौं, रियलसँगको मेरो सम्बन्धमा अर्को कोसेढुंगा पनि थपिएको छ', खेलपछि रोनाल्डोले भने । उनले रियलबाट तीन सय ८९ खेल खेल्दै चार सय गोल पूरा गरेका हुन् । उनी रियल म्याड्रिडको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका राउलले रियलका लागि सात सय ४१ खेल खेल्दै तीन सय २३ गोल गरेका थिए ।

जारी सिजनको च्याम्पियन्स लिगमा भने रोनाल्डोले गरेको गोल संख्या १० पुगेको छ । उनले च्याम्पियन्स लिगमा हालसम्म एक सय तीन गोल गरेका छन् । चारपटकका फिफा वर्ष खेलाडी रोनाल्डोले छनोट चरणमा गरेको एउटा विवादास्पद गोललाई भने गणना गरिएको छैन । रियलले भने उनले गरेको उक्त गोललाई मान्यता दिने गरेको छ । च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका अर्को स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेसीको नाममा ९४ गोल छ ।
रोनाल्डो च्याम्पियन्स लिगको नकआउट चरणमा ५० गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । नकआउट चरणमा उनले गरेको गोल संख्या ५२ पुगेको छ । उनले हालसम्म च्याम्पियन्स लिगको सेमिफाइनलमा १३ गोल गरेका छन् । उनले सेमिफाइनलमा रियलका लागि १० र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि तीन गोल गरेका छन् ।
यसैगरी रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको ृरूपमा बार्सिलोनाका मेसीसँग बराबरी पनि गरेका छन् । यी दुवैले हालसम्म सातसातवटा ह्याट्रिक गरेका छन् । च्याम्पियन्स लिगको इतिहासमा लगातार पहिलोदेखि पाँचौं संस्करणसम्मको उपाधि जितेको रियल यतिबेला प्रतियोगिता नयाँ ढाँचामा खेलाउन सुरु गरिएपछि लगातार दुईपटक उपाधि जित्ने पहिलो टोली बन्ने योजनामा छ ।

Comments