सिंगापुरः परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताउनुभएको छ।
थाइल्याण्डस्थित नेपाली राजदूतावास र
सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासले हिजो साँझ सिंगापुरमा
आयोजना गरेको नेपालको पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलनलाई
सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह
गर्नुभएकोे हो। उहाँले भन्नुभयो,‘विदेशी लगानीको सुरक्षा गर्छौँ ढुक्क भएर
लगानी गर्दा हुन्छ।’
सिंगापुरका उद्योगी व्यवसायी, आर्थिक तथा
कूटनीतिक क्षेत्रका व्यक्तित्व, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु
सहभागी सो सम्मेलनमा मन्त्री डा.महतले नेपालमा जलश्रोत, पूर्वाधार विकास,
पर्यटन,कृषि, सूचना प्रविधी लगायतका कैयौँ क्षेत्रमा लगानीको अवसर रहेको
स्पष्ट गर्नुभयो।
उहाँले नेपालमा लगानीको वातावरण नरहेको
भनी बाहिरबाट गर्ने गरिएका टिप्पणीहरु यथार्थभन्दा बाहिरका हुन् भन्दै लामो
राजनीतिक अस्थिरतापछि नेपाल यतिखेर शान्ति, स्थिरता र विकासको मार्गमा अघि
बढेकोले नेपालमा लगानीको उचित वातावरण निर्माण भएको बताउनुभयो । उहाँले
भन्नुभयो,‘हामी विदेशी लगानीलाई कसरी सुरक्षित र आकर्षित गर्न सकिन्छ
भन्नेमा सचेत छौं। यस्तो लगानीलाई सहज र सुरक्षित बनाउने गरी हामीले नियम
कानुनको निर्माण गरेका छौं।’
नेपालसँग स्रोत र सम्भावनाहरु कैयौं रहे
पनि प्रविधिको अभावमा पछि पर्नुपरिरहेको यथार्थ प्रस्तुत गर्दै मन्त्री
डा.महतले नेपालमा लगानी प्रवर्धनका लागि हाल निर्मित सहज वातावरणको सही
सदुपयोग गर्न सकिएमा नेपाल र लगानीकर्ताहरुलाई समेत फाइदा पुग्नेतर्फ सोच्न
आग्रह गर्नुभयो।
Comments
Post a Comment