रंगमञ्चमा आख्यानको प्रभुत्व

नाटक छापिन मात्र नभई मञ्चन हुने गरि लेखिनुपर्छ । त्यही भएर नाटक लेखन कठिन कुरा हो ।
वैशाख २२, २०७४- डेढ वर्षअघि नयनराज पाण्डेको ‘लू’ रंगकर्मी सरिता साहको हातमा परेको थियो । सुरुका केही अंश पढ्दापढ्दै उनलाई यति रमाइलो लाग्यो, उपन्यास एकै बसाइमा सकिन् । पश्चिम नेपालको सीमावर्ती परिवेश समेटिएको उपन्यास सरिताको मस्तिष्कमा निकै गहिरो छाप पार्‍यो ।
‘डेढ वर्षपछिसम्म पनि भुल्न सकिनँ,’ सरिताले भनिन् । उपन्यासको यो छापले उनलाई नाटक मञ्चनसम्मै पुर्‍याइदियो । केही महिनाअघि मात्रै उनले ‘लू’ लाई नाटय रूपान्तरण गरी मञ्चन गरिन्, एक महिनासम्म ‘लू’ थिएटरमा चल्यो ।
सरिता एक उदाहरण हुन् । पछिल्लो समय रंगमञ्चमा कथा र उपन्यास मञ्चन गर्ने प्रचलन बढदो छ । गत वर्ष राजधानीका थिएटरहरूमा मञ्चन भएका नाटकहरूलाई हेर्दा आख्यानको लोभलाग्दो उपस्थिति देखिन्छ । विदेशी लेखकका कृतिहरू पनि अनुवादको रूपमा मनग्गे मञ्चनमा आए, विलियम शेक्सपियरदेखि सहादत हसन मन्टो, लियो लियोनी, भीष्म साहनी, कार्लो गोल्डेनी र स्यामुयल बेकेटसम्म । यसलाई साहित्यकार सरुभक्त सकारात्मक नै ठान्छन् । नाटय रूपान्तरण वा विदेशी कृतिको नेपालीकरण गरेरै भए पनि नेपाली नाटकको निरन्तर विकास भइरहेको उनको बुझाइ छ ।
तर यस्तो क्रमले नेपाली मौलिक नाटकको भविष्य के हुने भन्ने चिन्ताचाहिँ उनलाई छ । ‘समय–समयमा केही पुराना कथा र विदेशी नाटकहरू अनुवाद गरेर मञ्चन गर्नुपर्छ,’ नेपाल संगीत नाटय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका सरुभक्तले भने, ‘तर त्यही मात्र गरेर वर्तमान विषयहरूमा नेपाली मौलिक नाटक लेख्नै बिर्सनुचाहिँ भएन । यसले अहिले केही असर पुर्‍याएको जस्तो नदेखिए पनि दीर्घकालीन रूपमा भने ठूलो असर पार्छ ।’
कुनै समय यस्तो थियो, नाटक मञ्चनका लागि मात्रै हैन, पढ्नका लागि पनि लेखिन्थ्यो । अहिले कथा, उपन्यासको समय छ । पढ्नकै लागि नाटक कृति किन्ने पाठकहरू निकै न्यून छन् । यस कारणले पनि नेपाली नाटक लेखनको क्रममा खासै नबढेको र मञ्चनको आपूर्तिचाहिँ आख्यान या विदेशी नाटकबाट गर्नुपर्ने अवस्था रहेको विज्ञहरू बताउँछन् । ‘आख्यान पढ्न युवाहरू जति लहसिन्छन्, नाटकमा त्यो छैन,’ सरुभक्तले भने ।
आफ्नो समयमा कतैबाट सिक्ने अवस्था नभएकोले पढेरै सिकेको उनले बताए । ‘नाटक पढ्दा पनि रंगमञ्चमा नाटक हेरिरहेको छु भन्ने सोचेर पढ्ने चलन थियो त्यो बेला,’ उनले भने ।
नाटक लेखनबाटै जमेका सरुभक्तले अहिले प्रकाशन गृहहरू नाटकका पुस्तकहरू छाप्नै नमान्ने अवस्थामा रहेको बताए । नाटकका पुस्तकहरू छाप्नका लागि दिँदा प्रकाशकहरूले ‘उपन्यास या कथा भए दिनुस्, नाटक त बिक्री नै हुन्न’ भनेर छाप्नै नमान्ने गरेको उनले सुनाए । उनका ‘युद्ध : उही ग्यास च्याम्बरभित्र’, ‘इतिहासभित्रको इतिहास’, ‘शिशिरका अन्तिम दिनहरू’, ‘गाउँघरका नाटकहरू’, ‘निमाबिया’, ‘शिरुमा रानी’, ‘जस्तो हाम्रो दन्त्यकथा’ लगायत दर्जनभन्दा बढी नाटक छन् ।
अर्का रंगकर्मी अशेष मल्लले भने अहिले विश्वमै नाटक लेखनमा कमी आएको बताए । ‘संसारमै कविता, कथा, उपन्यास लेखनमा वृद्धि भइरहेको छ,’ उनले भने, ‘नाटक आफैंमा लामो विधा भएकोले लेखकहरू कलम चलाउन आँटै गर्दैनन् ।’ त्यही ट्रेन्ड नेपाली रंगमञ्चमा देखिएको उनले सुनाए । ‘फेरि नाटक छापिन मात्र नभई मञ्चन हुने गरी लेखिनुपर्छ,’ उनले भने, ‘यस्तो अवस्थामा नाटक लेखन कठिन कुरा हो ।’
नेपाली रंगमञ्च व्यावसायिक नबनिसकेकोले मञ्चनकै लागि नाटक लेख्ने अवस्था नबनेको पनि उनले सुनाए । चर्चित उपन्यास या कथाहरूमा काम गर्दा व्यावसायिक रूपमा राम्रो हुने भएकोले पनि आख्यान मञ्चनको क्रम बढेको हुन सक्ने उनले तर्क गरे । उनका अनुसार नाटक लेखनमा रुचि मात्र नभई मञ्चनका बेला प्रयोग हुने प्राविधिक पक्षको पनि ज्ञान हुनुपर्ने भएकोले यो अलिक मुस्किल विधा हो ।
युवा रंगकर्मी राज शाहले भने हालै दुई नाटक लेखेर मञ्चन गरेका थिए, ‘जिम्दा सपना’ र ‘बुख्याँचा मन’ । यी नाटकको मञ्चनबाट उनले नेपाली दर्शकको मनोविज्ञान बुझ्न पाए । आख्यान र नाटक मञ्चनमा के फरक रहेछ त ?
‘नयाँ नाटकको शीर्षक स्थापित गर्नै समय लाग्ने रहेछ’ उनले भने, ‘चर्चित पुस्तकहरू वा विदेशी नाटकहरू आफैमा पावरफुल हुन्छन् । शीर्षकले नै दर्शक तान्छ ।’
नयाँ नेपाली ठेट शब्दको प्रयोग गर्दा दर्शकले नपत्याउने खतरासमेत हुने उनले सुनाए ।
गत वर्ष मञ्चित आख्यान :
१.    ऊ कसको हो ? कथा – शंकर लामिछाने, निर्देशन – प्रवीण खतिवडा
२.    भित्तोको नमस्ते : बालकथा – खगेन्द्र संग्रौला, निर्देशन – केदार श्रेष्ठ र सञ्जिता सञ्जी
३.    बेड नं. ९९ : कथा – महेशविक्रम शाह, निर्देशन – घनश्याम श्रेष्ठ
४.    छिमेकी : कथा – गुरुप्रसाद मैनाली, निर्देशन – आशान्त शर्मा
५.    थाङ्ला : आलेख – सरुभक्त, निर्देशन – अनुप बराल
६.    लू : उपन्यास – नयनराज पाण्डे, निर्देशन – सरिता साह


Comments