'सगरमाथाको गहिराइ' नाप्दै नवराज

काठमाडौं : आवरण ढाकिरहेको रंगीन कागज फुकाउँदै उनले आफ्नो पहिलो किताब आमाको हातमा राखिदिए । अनि थपक्क गोडामा ढोगे । छोराको प्रगतिले गद्गद् भएकी आमा लक्ष्मीदेवी पराजुलीले सँगै उभिएर छोराको किताब अनावरण गरिदिइन् । वातावरण उल्लासमय बन्यो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कवि नवराज पराजुलीको कविता संग्रह 'सगरमाथाको गहिराइ' यसरी विमोचन भयो ।
डबलीभरि बसेका कविताप्रेमीलाई सम्बोधन गर्दै लक्ष्मीदेवीले 'मेरो छोरा पेटमा हुँदा मैले केही सपना देखेकी थिएँ । आज उसले त्यो सपना पूरा गर्‍यो ।' आमाले आफ्नो प्रशंसा गरिरहँदा कवि पराजुलीका आँखा भने रसिला भइरहेका थिए । लगत्तै उनले कविता 'खोया' वाचन गरे, बाँसुुरी वादक सम्यक् महर्जनको धुनको साथमा ­–
'धुलोमा श्वास फेरिरहेका
ती जोडी पैतालाका डोबमध्ये
बुट्टा बिग्रिएको जुन पैताला छ
त्यो मेरो हो ।'
आमअनुभूतिलाई जीवनका साझा विम्बमार्फत व्यक्त गर्ने कवि पराजुली 'हेब्बी बड्डे', 'सगरमाथाको गहिराइ' जस्ता कविता वाचन गरेर सामाजिक सञ्जालमा पहिलेदेखि नै चर्चित छन् । उनको लोकप्रियता डबलीभरि शान्त भएर कविता सुन्न बसेका श्रोताले नै पुष्टि गर्थे ।
संगीतको तालमा रोकिई रोकिई कविता वाचन गरिरहेका पराजुलीले आफ्नो प्रिय साथी नै कविता भएको बताए । 'म जस्तो छु त्यस्तै गरी मलाई बुझिदिने साथी भए म कति धनी हुन्थें हुँला ! वर्षौंसम्म यस्तो लागिरह्यो । त्यही साथी हो मेरो कविता ।'
उनका कवितामा व्यक्तिगत अनुभूतिसँगै समाज र देशको कथा–व्यथा पनि उनिएको छ भन्ने सावित गरे कविताले नै ! सगरमाथाको गहिराइ शीर्षकमा पराजुली प्रश्न गर्दै थिए –
'ए देश !
मेरी आमाले बनाएको
सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्केँ भने त ठीकै हो
तर
त्यसभन्दा ठूलो रातो काठको बाकसमा
म आफैँ भरिएर फर्कें भने ? '
कवित तथा पूर्वपत्रकार रवीन्द्र मि श्रका शब्दमा 'असोचनी स्तरका सशक्त कवि' पराजुलीको कविता विमोचन मदन पुरस्कार विजेता उपन्यासकार अमर न्यौपानेका लागि भने विशेष दिन लाग्यो । 'आजको दिन नेपाली कविताका लागि विशेष हो किनभने आज 'सगरमाथाको गहिराइ' विमोचन हुँदै छ', अमरको टिप्पणी थियो । विमोचनअघि 'हेब्बी बड्डे' कविता वाचन गरेका पराजुलीले पछि 'लोकसेवा आयोग' पनि वाचन गरेका थिए –
'कक्षा एकदेखि स्नातकोत्तर पढ्दासम्म
तपाईंको टाउको धेरैचोटि पास भएको छ,
हरेक रात तपाईंको ओछ्यानमा
फेल भएर लड्ने मासुको थुप्रो कसको हो ? '
पफर्मेन्स कविताबाट सामाजिक सञ्जालमै हिट भएका पराजुलीको कविता संग्रह 'फाइन प्रिन्ट'ले प्रकाशन गरेको हो ।

Comments