पोखराः अन्नपूर्ण मिडिया नेटवर्कको
आयोजनामा अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याटमिन्टन प्रतियोगिताको
पश्चिमाञ्चलस्तरीय छनोट खेल बिहीबार पोखरामा सुरु भएको छ । पोखरा
रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा भव्य समारोहका बीच प्रतियोगिता सुरु
भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद
मैनालीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यस अवसरमा सीडीओ मैनालीले यस
क्षेत्रका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रस्फुटन गर्ने मौका
दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मिडिया हाउसले सामाजिक
उत्तरदायित्व सम्झेर खेलकुद प्रतियोगिता गरी स्वास्थ्यमा पनि योगदान
पुर्याएकोमा प्रशंसा गर्नुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष
दीपेन्द्र श्रेष्ठले बौद्धिक खुराक पस्कँदै आएको अन्नपूर्ण मिडिया
नेटवर्कले ब्याडमिन्टन प्रतियोगिता गरेर खेलाडीलाई हौसला दिएको विचार
व्यक्त गर्नुभयो । ब्याडमिन्टन संघ कास्की अध्यक्ष तथा समारोहका सभापति
डम्बरसिंह गुरुङले काठमाडौं जान नसक्ने खेलाडीलाई पोखराबाटै छनोटको अवसर
दिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल
पश्चिमाञ्चल मुख्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० कविन्द्रमान
श्रेष्ठ, कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्याल, राष्ट्रिय अनुसन्धान
विभाग कास्कीका प्रमुख एसपी यमप्रसाद पराजुली, राष्ट्रिय समाचार समितिका
बोर्ड सदस्य गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष
रामकृष्ण ज्ञवाली, हिसान कास्की अध्यक्ष बाबुराम पन्त, प्रेस सोसाइटीका
केन्द्रीय अध्यक्ष रुद्र भट्ट, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी वानका मुख्य
सल्लाहकार विश्वेश्वर आचार्य, सफल मिडियाका प्रबन्ध निर्देशक दुर्गा
हुमागाईं, साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्य, पोखरेली युवा
सांस्कृतिक परिवारका पूर्वअध्यक्ष सुरेश रानाभाटसहित कास्कीका उद्योगी
व्यवसायी र पत्रकारहरुको उल्लेख्य सहभागिता थियो। 
प्रतियोगितामा ८० जनाको सहभागिता छ ।
पुरुष सिंगल, पुरुष डबल र महिला एकल विधामा हुने प्रतियोगिताका विजेता र
उपविजेता काठमाडौंका लागि छनोट हुनेछन् । प्रतियोगिता राष्ट्रिय रेफ्री
किरण कारञ्जितको नेतृत्वको प्राविधिक टिमले सञ्चालन गरिरहेको छ । यसअघि
सुदूरपश्चिमाञ्चल स्तरीय क्षेत्रीय प्रतियोगिता धनगढीमा, मध्यपश्चिमाञ्चल
स्तरीय नेपालगन्ज र पश्चिमाञ्चल स्तरीय बुटवलमा प्रतियोगिता सञ्चालन
भइसकेको छ ।
Comments
Post a Comment