युटयुबमा चुनावी गीत

चुनावजस्ता राजनीतिक अवसर वा घटनाको प्रचारप्रसारमा गीतसंगीत मानिन्छन् बलियो हतियार ।
वैशाख २१, २०७४- प्रजातान्त्रिक मुलुकमा चुनावको महत्त्व नहुने कुरै भएन । हामीकहाँ हुन लागेको स्थानीय तहको निर्वाचनले अझ ठूलो अर्थ राख्छ । झन्डै बीस वर्षपछि स्थानीय तहको चुनाव हुँदै छ । यत्तिका समयपछि नागरिकले आफ्ना प्रतिनिधि छान्ने अवसर पाउँदै छन् । जेठ ३१ लाई लक्ष्य गरी गाउँ सहरमा माहोल बढदै छ ।
 रेखा थापा, करिश्मा मानन्धर, कोमल वलीजस्ता चिनिएका कलाकर्मीले यसअघि नै पार्टी प्रवेश गरिसकेका छन् भने चुनावलाई नै केन्द्रमा राखी यतिबेला विभिन्न दल, तिनका कार्यकर्ता र अन्य कलाकर्मीले सांस्कृतिक गतिविधि सुरु गरेका छन् । यति बेला युटयुबमा पार्टीपिच्छेका गीत भेटिन थालेको छ ।
बद्री पंगेनी र प्रिया भण्डारीले गाएको ‘मै पनि एमाले...’ बोलको गीत युटयुब ट्रेन्डिङको लोकप्रिय १५ भित्र परेको छ । एक साताअघि अपलोड गरिएको गीतमा ४ लाखभन्दा बढी भ्युज छ भने ६ सयभन्दा बढीले कमेन्ट गरेका छन् । ‘समय सान्दर्भिक शब्द संयोजनमा सुमधुर स्वर’, पूर्ण परियारले लेखेका छन्, ‘यसले जनतालाई जगाउँछ ।’
कांग्रेसलाई समर्थन गर्दै गाइएको ‘भोट हालौं रूखमा...’ ले पनि युटयुबमा एक लाखभन्दा बढी भ्युज पाइसक्यो । राधिका हमाल र सुनील थापाको स्वर रहेको गीतमा कांग्रेस नेताहरू, पार्टीको झण्डा, जनलहर देखाएर भिडियो बनाइएको छ । ‘रूखमा भोट हाल्दाहाल्दा थाकिसकेँ,’ सूर्यप्रसाद उपाध्यायले कमेन्ट गरेका छन्, ‘रूखमा पालुवा पलायो तर फल फलेन ।’ धेरैले चाहिँ प्रतिक्रियामा ‘कांग्रेस जिन्दावाद’ लेखेका छन् ।
पार्टी प्रचारका लागि गीतसंगीतलाई बलियो सामग्रीका रूपमा प्रयोग गर्दै आएको माओवादी केन्द्रका पक्षमा पनि नवीन खड्का र टीका पुनले स्वर दिएका छन् ।
दुई महिनाअघि नै सार्वजनिक भएको ‘म पनि माओवादी...’ बोलको गीत युटयुबमा ९० हजार बढीले हेरेका छन् । ‘गीतले भनेझैं सबैजना एकजुट होऔं’, शोभा मगरको प्रतिक्रिया छ, ‘सबै दल मिलेर समाज परिवर्तन गरेको हेर्ने सपना छ ।’
राप्रपाका लागि भने पार्टी अध्यक्ष कमल थापाकै शब्दमा गायक राज सागरले ‘नेपाली, नेपाली हामी....’ बोलको गीत लयबद्ध गरेका छन् । अप्रिल १३ मा युटयुबमा हालिएको गीत २४ हजारले हेरेका छन् । पार्टीको गीत भए पनि लय र शब्द मन परेको नेहा रानाले प्रतिक्रियामा उल्लेख गरेकी छन् ।
उता, रञ्जु दर्शनालाई काठमाडौंको मेयरमा उठाएको विवेकशील नेपाली पार्टीका लागि भने अमृतराज वैद्यले गीत गाइदिएका छन् । ‘भोट फर विवेकशील नेपाली...’ बोलको गीत अन्य पार्टीको चुनावी गीतभन्दा अलि फरक पनि छ । हिपहप जानरामा गाइएको गीतमा १० हजार बढी भ्युज छन् । युटयुब प्रयोगकर्ता रुपेन्द्र अर्यालले ‘चुनावको शुभकामना’ दिँदै पार्टीकै नारा ‘वी डिजर्भ बेटर’ भन्दै कमेन्ट छोडेका छन् ।
पुरुषोत्तम न्यौपानेले ‘भोट कसलाई उज्यालो घामलाई...’ गाइरहँदा वैकुण्ठ महत र पूर्णकला बीसीले पनि लोक लयमै आधारित ‘आयो एमाले...’ बोलको गीतमा भिडियो पनि बनाएका छन् । एमालेका पक्षमा युटयुबभरि गीतैगीत भेटिन्छन् भने चोलेन्द्र पौडेल, विमलराज क्षेत्री, स्मृति शाही, जेबी जिम्बालगायतले कांग्रेसको पक्षमा आवाज दिएका छन् । काशीराम बुढामगर, पिताचन्द्र न्यौपानेलगायतले माओवादी केन्द्रलाई जिताउन सांगीतिक अपिल गरेका छन् । ज्ञानम रुम्बाले त ‘साइली...’ लाई नै चुनावी भर्सनमा ढालेर माओवादी केन्द्रको पक्षमा प्यारोडी गाएका छन् ।
चुनावजस्ता राजनीतिक अवसर वा घटनाका बेला गीतसंगीतलाई बलियो हतियार मान्ने गरिएको छ । अमेरिकामा ‘क्याम्पेन सङ’ का रूपमा पार्टी र उम्मेदवारहरूले विशेषत: देशभक्ति र आशावादी गीतहरू बनाउने गरेका छन् । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनले क्रमश: रोलिङ स्टोन्स र केटी पेरीका गीत क्याम्पेन सङका रूपमा प्रयोग गरेका थिए ।


Comments