अन्ततः जन्म हुन्छ, धुर्मुस-सुन्तली फाउन्डेसनको ।
सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस-सुन्तली यसका अभियन्ता हुन् । हास्य शृंखला ‘मेरी बास्सै’ मा स्त्रिmन सेयर गर्दागर्दै अफस्त्रिmन दाम्पत्य सम्बन्ध जोडेका यो जोडी ‘रोल मोडल’ को रुपमा देखापरेका छन् । भूकम्पले तहसनहस बस्ती ठड्याउन निस्किएका उनीहरु अहिले महोत्तरीको मुसहर बस्तीमा पुगेका छन् ।
यो त्यही बस्ती हो, जहाँका पुस्तौं-पुस्ता झुपडीमा गुज्रिए ।
न उनीहरुले आफ्नो आँगनमा धारा देखे, न शौचालाय । न विद्यालय देखे, न स्वास्थ्य चौकी । ४२ डिग्रीको टन्टलापुर घामबाट ओत लग्ने गतिलो छानो भएन । न त न्यूनतम ५ डिग्री सेल्सियसको शीतलहरबाट जोगिने न्यानो पर्खाल नै ।
स-साना झिक्रामा हिले माटो लिपिएको झुपडीमा खुम्चिएका उनीहरुले कहिल्यै उज्यालो क्षितिज देख्न पाएनन् । तर, एक जुगमा एकदिन एकचोटि आउँछ । यी निमुखा सदा परिवार त्यही दिनको अधैर्य प्रतीक्षामा छन् ।
अब भित्तामा नेपाली पात्रो फेरिएसँगै मुसहर बस्तीमा नयाँ युगको उदय हुनेछ । उनीहरु नयाँ घरमा भित्रिनेछन्, ०७४ साल बैशाख १ गते ।
एउटा ठूलो कम्पाउन्ड । ५० वटा उस्तै बान्कीका घर । एक सामुदायिक भवन, बाल उद्यान, चौतारो, धारा, शौचालय । झुपडीबाट यो एकीकृत नमुना बस्तीमा सरेसँगै मुसहर समुदाय खुसीले रमाउनेछन् ।
यही उचाइमा पुगेर धुर्मुस-सुन्तली फाउन्डेसनले थालेको एकिकृत नमुना बस्ती निर्माण अभियानको ‘ह्याप्पी इन्डिङ’ हुनेछ । त्यसपछि ?
‘सम्भवत बस्ती बनाउने कामको बिट मारिनेछ’ धुर्मुस अर्थात् सीताराम कट्टेल भन्छन्, ‘किनभने त्यसपछि हामी अलि फरक ढंगले अगाडि बढ्नेछौं ।’
जब मरनी सदा मुस्कुराउँछिन्
उमेरको उकालोमा १ सय ५ वर्ष काटेकी मरनी सदाका पाइला नयाँ घरभित्र प्रवेश गर्नेछ, उनको ओठमा दुर्लभ खुसी छचल्किनेछ । त्यही खुसी हो, धुर्मुस-सुन्तलीले देख्न चाहेको ।
स्टेजमा उभिएर अरुको नक्कल गर्दा, मुखाकृत बंग्याउँदा, थरीथरीका आवाज निकाल्दा पनि त दर्शक खुसी हुन्थे । उनीहरुमा हाँसोको फोहोरा छुट्थ्यो । घत मानेर ताली पिट्थे । तर, मरनी सदाको हाँसो र खुसी त्योभन्दा कता हो कता भिन्न हुनेछ ।
‘हामीले जुन दिन मुसहर बस्ती टेक्यौं, त्यसबेलाको अवस्था दुःखलाग्दो थियो’ सीताराम सम्झन्छन्, ‘उमेर नपुग्दै बच्चा जन्माएकाहरु, खान नपाएर कुपोषणले ग्रस्त भएकाहरु, बेरोजगारहरु, अशिक्षितहरु, रोगीहरु थिए ।’
एक परियोजना अन्र्तगत टेलिफिल्म दृश्यांकन गर्न पुग्दा धुर्मुस-सुन्तलीले मुसहरहरुको वास्तविकता देखेका थिए । ‘उनीहरुको जीवनशैली साह्रै विरक्तलाग्दो थियो’ सीताराम भन्छन्, ‘उकुसमुकुस हुने ।’ अहिले त्यसको स्वरुप फेरिँदो छ ।
धुर्मुस-सुन्तली पुगेपछि नै हो, मुसहरको आँगनमा धारा बनेको । आफ्नै घर अघिल्तिर यसरी पानी र्झछ भनेर उनीहरुले सायदै कल्पना गरेका थिए । जुन दिन बस्तीमा पानीको धारो बन्यो उनीहरुमा खुसीको सीमा रहेन ।
यस्तै खुसी काभ्रेका पहरी बस्तीमा छचल्किएको थियो, सिन्धुपाल्चोकको गिरान्चौरमा पोखिएको थियो । ‘उनीहरुको अनुहारमा देखिएको खुसीले हृदयमा स्पर्श गर्छ’ सीताराम भन्छन्, ‘नेताको फुस्रो आश्वासनले थेत्तर भएको समाजमा त्यस्तो खुसी सायदै मिल्छ ।’
अब कथाले के माग्छ ?
रजनीकान्त स्टारर फिल्म ‘शिवाजीः द बोस’को कहानी जस्तै लाग्छ, धुर्मु-सुन्तलीको यो सत्कर्म । अमेरिकाबाट सफ्टवेयर आर्किटेक गरेर फर्किएका एक जुझारु युवा आफ्नो गाउँलाई कायपलट गर्न तम्सिन्छ । खासगरी रोग र अशिक्षाले थलिएको समाजलाई उठाउन उनी ‘शिवाजी फाउन्डेसन’ स्थापना गर्छन् ।
गैरनाफामुखी ‘शिवाजी फाउन्डेसन’का लागि भ्रष्टहरुलाई तह लगाएर पैसा बटुल्छन्, रजनीकान्त । यता ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ का लागि मनकारीलाई पगालेर पैसा जुटाउँछन्, सीताराम-कुञ्जना । यसरी देश-विदेश चहार्दैर्, प्रहसन गर्दै संकलन गरेको पैसा र उत्साही युवाहरुको श्रमदानबाट धुर्मुस-सुन्तलीले आफ्नो अभियानलाई गतिशील तुल्याएका छन् ।
यसैगरी ठडिएको हो, काभ्रे डाँडाको पहरी बस्ती । यसैगरी तयार भएको हो, सिन्धुपाल्चोकस्थित गिरान्चौरको बस्ती । यसैगरी बन्दै छ, महोत्तरीको बर्दिबासमा नमुना बस्ती ।
यतिबेला यो बस्ती बनाउन दैनिक लगभग तीन सय जना खटिएका छन् । ‘अहिले हामी जुन रफ्तारमा काम गरिरहेका छौं’ सीताराम भन्छन्, ‘त्यही अनुसार काम भयो भने नयाँ वर्षमा मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण गरिनेछ ।’ उनी ढुक्क छन्, तोकिएको समयमै बस्ती निर्माण हुनेछ ।
पुग्दो श्रम शक्ति जुटेकै छ । आवश्यक सामग्री पुगेकै छ । अभाव छ, पैसाको । ‘पैसा जुटाउने स्रोत पनि खोजिरहेका छौं’ सीताराम भन्छन्, ‘सबै काम ठीकठाकसँग भइरहेको छ ।’
मुसहर बस्ती निर्माणका लागि अब दुई करोड रुपैयाँ भए पुग्छ ।
‘हामी जसरी पनि पैसा जुटाएर काम फत्ते गरिछाड्छौ’ कुञ्जना भन्छिन्, ‘यसमा कुनै शंका छैन ।’ मुसहरका लागि एकीकृत नमुना बस्ती हस्तान्तरण गरिसकेपछि उनीहरुको तेस्रो चरणको अभियान पूरा हुनेछ ।
त्यसपछि पनि यस्तै अर्को बस्ती निर्माण गर्न थाल्नेछन् ?
किनभने विनाश्कारी भूकम्पले थिलथिलो भएको थुप्रै बस्ती अझै तंग्रिएको छैन । त्रिपाल र जस्तापाताको भरमा वृद्धवृद्धा, रोगी, सुत्केरी, बालबालिकाले रात गुजारिरहेका छन् ।
‘अहिले हामीले बस्ती निर्माणबारे सोचिहालेका छैनौं’ कुञ्जना भन्छिन्, ‘तर, सामाजिक दायित्व भने यसैगरी निर्वाह गरिरहनेछौ ।’ खासगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा ‘धुर्मुस-सुन्तली फाउन्डेसन’ जुट्ने उनले संकेत गरिन् ।
‘कथाले जे माग्छ, त्यही दिने हो’ सीताराम ठट्यौली शैलीमा भन्छन्, ‘भौतिक कुरासँगै चेतनाहरु पनि बदलिनुपर्छ । अब पूर्ण संस्कारयुक्त समाज निर्माणका लागि लागिपर्नेछौं ।’
धुर्मुस-सुन्तली फाउन्डेसनले अब देशव्यापी सरसफाइ अभियान थाल्नेछ । यससँगै उनीहरुले यस्तो समाजको रचना गर्दै छन्, जसले बालबालिकाको जीवनमा नयाँ रङ पोत्नेछ ।
‘हामी बालमैत्री समाज बनाउन अग्रसर हुनेछौं’, कुञ्जना भन्छिन् ।
२०७३ फागुन १९ गते ११:०६ मा प्रकाशित
Comments
Post a Comment