काठमाडौं: भारतको ग्रेटर नोयडामा रहेको शारदा युनिभर्सिटीले नेपाली विद्यार्थीलाई लक्षित गरेर विभिन्न छात्रवृत्ति योजना ल्याएको छ । विश्वविद्यालयले गत साता राजधानीमा आयोजना गरेको अभिभावक तथा पूर्वविद्यार्थीसँगको भेटघाट कार्यक्रममा यसबारे जानकारी दिएको हो ।
विश्वका ५६ मुलुकका विद्यार्थीले अध्ययन गरिएको यस विश्वविद्यालयमा चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीलगायतका संकायको पठनपाठन सञ्चालन गरिरहेको छ । २००९ मा स्थापना भएको यस विश्वविद्यालयले नेपाल आफ्नो विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीको मुख्य स्रोत भएको जनाएको छ ।
विद्यार्थीले अध्ययन गर्न चाहेको तहभन्दा तल्लो तहमा प्राप्त गरेको नतिजा, अध्ययनरत तहमा विभिन्न सेमेस्टरमा प्राप्त गरेको नतिजालगायतका आधारमा छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयका सहकुलपति वाई के गुप्ताले बताए । उनले नेपाली विद्यार्थी आफ्नो विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीमध्ये मिलनसार तथा इमानदार भएको बताउँदै भने,
‘यहाँका विद्यार्थी र अभिभावकबाट पाएको प्रतिक्रियाको आधारमा हामीले विश्वविद्यालयको सुधारको अवसर पाएका छौं । यसका लागि नेपालीहरू धन्यवादको पात्र हुनुहुन्छ ।’ कार्यक्रममा शारदा युनिभर्सिटीमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई परामर्श तथा अन्य सहयोग गर्दै आएको अल्फाबिटा इन्स्टिच्युटका अध्यक्ष तथा प्रबन्ध निर्देशक द्विराज शर्माले नेपाली विद्यार्थी र शारदा विश्वविद्यालयको सम्बन्धका कारण नेपाल र भारतको सम्बन्धसमेत प्रगाढ बनिरहेको बताए ।
नेपाल र भारतबीच हावापानी, संस्कृति, रीतिरवाजलगायतका हिसाबले पनि समानता रहेकोले नेपाली विद्यार्थीका लागि भारत उच्च शिक्षा अध्ययनका लागि उपयुक्त गन्तव्य भएको शर्माको भनाइ छ ।
Comments
Post a Comment