वीरगन्ज : वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले सडक संघर्षमा छ। संविधान संशोधन नगरी सरकारले जबर्जस्ती स्थानीय तहको निर्वाचन गराए त्यसको सशक्त प्रतिकार गर्ने मोर्चाले चेतावनी दिइसकेको छ। तर उसले चुनावकै लागि खोलिएको म्यादी प्रहरी भर्नामा जान नदिन मधेसका युवाहरूलाई रोक भने लगाएको छैन।
आसन्न निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा प्रदेश नं २ मा पर्ने जिल्लाका मधेसी युवाको विशेष आकर्षण देखिएको छ। नेपाल प्रहरीले चैत ११ देखि १८ गते सम्म खोलेको म्यादी प्रहरीको भर्नामा पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका मधेसी युवाले उत्साहित भएर आवेदन दिएका छन्।
म्यादी प्रहरीका लागि भर्ना खोलिएको चार दिनमै (चैत ११ देखि १४ गतेसम्म) मधेसका आठ जिल्लाबाट सात हजार आठ सय सात जनाले आवेदन दिइसकेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चैत १४ गतेसम्म पर्साबाट पाँच सय ७६, बाराबाट सात सय, रौतहटबाट तीन सय ८५, सर्लाहीबाट एक हजार सात सय आठ, महोत्तरीबाट एक हजार नौ सय २०, धनुषाबाट सात सय २०, सिरहाबाट सात सय २५ र सप्तरीबाट एक हजार ७३ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन्। बाँकी दिनमा पनि अहिलेकै संख्या हाराहारीमा थप आवेदन पर्ने प्रहरी प्रधान कार्यालयको अनुमान छ।
अहिले विरोधमा देखिएका मधेसी दलले पनि चुनावकै लागि भनेर ठाउँठाँउमा पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन्। भित्रभित्रै उनीहरूले उम्मेदवारबारे छलफल चलाइरहेका छन्। वीरेन्द्र यादव, अधिवक्ता
अपेक्षा गरिएभन्दै बढीको संख्यामा म्यादी प्रहरीका लागि आवेदन परिरहेको पर्साका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। आठ दिनमा करिब नौ सयको आवेदन पर्छ भन्ने हाम्रो अनुमान थियो’, उनले भने, ‘तर चार दिनमै झन्डै ६ सय आवेदन परिसकेको छ, बाँकी दिनमा ५÷६ सयको हाराहारीमा आवेदन पर्ने सम्भावना छ। म्यादी प्रहरी भर्नामा मधेसी युवामा देखिएको उत्साहले चुनावी माहोलको संकेत गरेको छ।’
जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलबार म्यादी प्रहरीका लागि आवेदन दिँदै गरेका वीरगन्ज छपकैयाका युवक विवेक कुमारले देश र समाजको सेवा गर्न म्यादीमा भर्ना हुन आएको बताए। ‘६ महिने मधेस आन्दोलनले कसैलाई केही फाइदा भएन’, उनले भने, ‘अब हुने आन्दोलनले पनि केही हुन्छजस्तो लाग्दैन। त्यसैले देश र समाजका लागि सेवा गर्न म्यादी प्रहरीमा भर्ना हुन लागेको हुँ।’ बाराबाट म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिनेमध्ये ५ प्रतिशत मात्रै पहाडी मूलका रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिए।
मधेसी मोर्चा मधेसमा चुनाव हुन नदिने अडानमा रहेको अवस्थामा चुनावकै लागि खोलिएको म्यादी प्रहरीको भर्नामा मधेसी युवाले देखाएको उत्साहले चुनावको वातावरण बन्दै गएको संकेत गरेको नागरिक समाजका अगुवाको विश्लेषण छ।
म्यादी प्रहरी भर्नामा युवामा देखिएको उत्साहले मधेसमा पनि चुनावका लागि वातावरण बन्दै गएको संकेत देखिएको छ’, मधेस मामिलाका जानकार एवं अधिवक्ता वीरेन्द्र यादवले भने, ‘अहिले चुनावको विरोधमा देखिएका मधेसी दल पनि चुनावकै लागि भनेर ठाउँठाँउमा पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन्, भित्रभित्रै उनीहरूले उम्मेदवारबारे छलफल चलाइरहेका छन्। मधेसमा व्याप्त बेरोजगारी एवं आर्थिक अभावका कारण म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण बढेको उनको भनाइ छ।
यता मधेसी दलका नेताले भने मधेसमा चरम बेरोजगारीको समस्या रहेकाले आर्थिक लाभका लागि मात्रै युवाले म्यादीमा भर्ना हुन आवेदन दिएको बताएका छन्। ‘मधेसमा रोजगारीको चरम समस्या छ। दुई–चार पैसा भइहाल्छ कि भनेर यहाँका युवा म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन्’, तमलोपाका महामन्त्री जितेन्द्र सोनलले भने, ‘मधेसका युवाले चुनावमा सघाउँदैछन्उ-त्साहित छन् भनेर सोच्नु गलत हो।’ एक–दुई दिनमै मोर्चाको बैठक बसेर म्यादी प्रहरीमा भर्ना नहुन मधेसका युवालाई आह्वान गरिने उनले बताए।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद लालबाबु राउत गद्दीले पनि चुनावलाई सहयोग गर्न नभई मधेसमा व्याप्त बेरोजगारीका कारण यहाँका युवाले म्यादीमा आवेदन दिएको दाबी गरे। ‘संविधान संशोधन नगरी चुनाव गरियो भने मधेसका हरेक युवाले त्यसको प्रतिकार गर्छन्’, उनले भने, ‘आन्दोलन सुरु हुनासाथ अहिले म्यादीमा भर्ना भएका युवा नै राज्यविरुद्ध सडकमा उत्रिन्छन्।’
Comments
Post a Comment