बार्सिलोनाको नयाँ प्रशिक्षक को ? यस्ता छन् ५ दाबेदार


सिजनको अन्त्यमा लुइस एनरिकेले बार्सिलोना छाड्नेछन् । स्पोर्टिङ गिजोनबिरुद्ध ६-१ को जित हासिल गरेलगत्तै एनरिकेले बार्सिलोनाका लागि आफ्नो आबद्धता यसै सिजनसम्म रहने घोषणा गरेका हुन् ।
Advertismentसन् २०१४ मा टिटो भिलानोभालाई प्रतिस्थापन गरेयता बार्सिलोनालाई लगभग सबै उपाधि दिलाएका एनरिकेको यो सिजन भने अपेक्षाकृत राम्रो हुन सकिरहेको छैन । च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजीसँगको ४-० को अनपेक्षित पराजयले समर्थकहरुपनि उनीसँग चिढिएका थिए ।
ला लिगामा दोस्रो स्थानको रियलभन्दा १ खेल बढी खेलेको बार्सिलोना शीर्ष स्थानमै छ । कोपा डेल रे मा पनि बार्सिलोना फाइनलमा पुगिसकेको छ । तर मुख्यतः बार्सिलोनाको खेलस्तर पहिलेजस्तो नरहेको महशुस समर्थक र आलोचकहरुले गर्न थालेका छन् । एनरिकेले बार्सिलोना छाड्ने निर्णय गर्नुको मूख्य कारण यही हो ।
यस्तो अवस्थामा आगामी सिजन स्पेनिस महारथी क्लबको प्रशिक्षकमा को आउलान् त ? अन्तर्राष्ट्रिय मिडियाहरुले अहिल्यैदेखि चासो दिन थालिसकेका छन् । बार्सिलोनाको यो ‘हट सिट’ मा आउनसक्ने सम्भावित उम्मेदवारहरुबारे बिभिन्न अड्कलबाजी सुरु भएको छ ।
१.
जर्ज साम्पाओली

अहिलेको अवस्थामा बार्सिलोनाका समर्थकहरुको सबैभन्दा रोजाइका प्रशिक्षक हुन्, जर्ज साम्पाओली । समर्थकहरु के मान्छन् भने टिमको अहिलेको मूख्य समस्या भनेको खेलको तीव्रता र आधुनिक फुटबल दर्शनप्रतिको विश्वासधात हो । साम्पाओलीले यो सबै परिपूर्ति गर्न सक्नेछन् ।
साम्पाओलीप्रति लियोनल मेस्सी पनि सकारात्मक छन्, मेस्सीसँग नयाँ अनुबन्धका लागि बार्सिलोनासँग सकारात्मक छलफल भइरहेको छ ।
साम्पाओलीले सेभियाका आफ्ना असिस्टेन्ट जुआन्मा लिल्लोलाई पनि सँगै ल्याउनेछन्, जो पेप ग्वार्डिओलाका नजिकका विश्वासपात्र मानिन्छन् र फुटबल ‘फिलोसोफी’ उनकै हातमा रहेको मानिन्छ ।
मात्र एक सिजनपछि नै प्रशिक्षक गुमाउनुपर्दा सेभियाले अपसोच त मान्नेछ नै । यद्यपि सेभिया ‘व्यापारिक’ क्लब हो र उसले साम्पाओलीलाई त्यो मौका गुमाउन दिनेछैन ।
उनी सिजनको सुरुमा सेभियाप्रति बफादार देखिएका थिए, जतिबेला अर्जेन्टिनाले उनलाई प्रशिक्षक बन्ने प्रस्ताव गरेको थियो ।
२.
रोनाल्ड कोएम्यान

एभर्टनका प्रशिक्षक रोनाल्ड कोएम्यान पनि बार्सिलोनाको प्रशिक्षकमा सम्भावित उम्मेदवारहरुको अग्रस्थानमै छन् ।
बार्सिलोनाकै पूर्व खेलाडीको साथसाथै क्याटलानसँग डचको सम्बन्ध सधैं उच्चकोटीमा छ । योहान क्रुफ, फ्यांक रिजकार्ड र लुईस भान गालजस्ता उत्कृष्ट डच स्टारहरुले बार्सिलोनाको प्रशिक्षण गरिसकेका छन् ।
सामान्यतः कोएम्यान एक बर्षभित्रै प्रशिक्षक पद छाड्ने कुराको बिरोध गर्छन् । तर, गडिसन पार्कमा गत समरदेखि नै जिम्मेबारी सम्हालेपनि यो अफरले उनको मन बदलिन सक्नेछ ।
३.
एर्नेस्टो भाल्भर्डे

शायद बाहिरी मानिसहरुको आँखामा उनी सबैभन्दा उत्तम बिकल्प नहुन सक्छन् । तर बार्सिलोनाका समर्थकहरु भने उनलाई निक्कै रुचाउँछन् ।
समर्थकहरुले उनलाई सम्झिरहनुका मुख्य कारण के हो भने उनी टिम गेममा विश्वास गर्छन् । त्यसमध्ये केहीले तीन बर्षअघि बार्साको प्रशिक्षकमा उनलाई चाहेका थिए तर, एनरिकेलाई नियुक्त गरियो ।
अर्कोतर्फ स्पेनिस सुपर कपमा एथ्लेटिको विल्वाओले बार्सिलोनालाई पराजित गरेपछि सिजनको सुरुवातमै उनको चर्चा चुलिएको थियो । उनले एथ्लेटिकोलाई यस सिजन उल्लेख्य उपलब्धी दिन सकेका छैनन्, किनभने सीमित खेलाडीहरुमा टिम तयार गरिएको छ । एक से एक खेलाडीहरु र उत्कृष्ट सुविधासम्पन्न नाउ क्याम्पमा उनले आफ्नो क्षमतालाई प्रस्तुत गर्न सक्नेमा धेरैले आशा गरेका छन् ।
४.
माउरिसिओ पोचेट्टीनो

पोचेट्टीनोकै दाबीलाई आधार मान्ने हो भने उनी टोटनहृयाममा ‘निक्कै सन्तुष्ट’ छन् । तर, हामी सबैलाई थाहा छ कि फुटबलमा सबैकुरा कति छिट्टै परिवर्तन हुन्छ ।
यी अर्जेन्टिनीसँग बार्सिलोनाको पुरानै नाता छ । खेलाडी छँदा उनी सन् २००४ मा बार्सिलोनाबाट स्पोनियोल गए र पछि त्यसैको प्रशिक्षक पनि भए ।
पोचेट्टीनोको टोटनहृयाम बसाई अहिलेसम्म निक्कै सन्तोषजनक छ । जारी सिजन लिगको दुई तिहाइ खेल सकिँदा टोटनहृयाम शीर्ष तीनभित्रै छ । आक्रामक फुटबलका लागि बार्सिलोनाका समर्थकहरुले साम्पाओलीपछि उनलाई मन पराएका छन् । अहिलेको अवस्थामा बार्सिलोनाको सबैभन्दा कमजोरी नै आक्रामकताको अभाव हो ।
५.
आर्सेन वेंगर

एनरिकलाई प्रतिस्थापन गर्न सक्के उम्मेदवारमध्ये वेंगरको चर्चा यसै महिनाको सुरुवातदेखि भएको हो ।
यद्यपी यसको सम्भावना भने लगभग छैन भन्दा हुन्छ । आर्सनलका प्रशिक्षकले नाउ क्याम्पको यात्रा गर्लान भनेर स्पेनका केहि मानिसहरुले लगाएको हल्ला हो यो ।
२०७३ फागुन १९ गते १४:२६ मा प्रकाशित

Comments