काठमाडौं : प्रहरी महानिरीक्षकमा उपेन्द्रकान्त अर्यालको नियुक्तिपछि योग्यता र ज्येष्ठताको प्रश्न उब्जाउँदै तत्कालीन एआईजी पार्वती थापाले दायर गरेको रिटमा तीन वर्ष पाँच महिना बित्दा पनि अहिलेसम्म फैसला भएको छैन ।
यता अर्याल भने आईजीपी भइवरी गत फागुन १ गते नै अवकाश भइसकेका छन् । एआईजीमा सबैभन्दा ज्येष्ठ रहेकी थापाले अर्यालको निर्णय रोकेर आफूलाई आईजीपी बनाइनुपर्ने मागसहित २०७० साल कात्तिक २१ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।
उक्त रिटमा सुनुवाइका लागि सोमबारै प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलास तोकिएको थियो । प्रधानन्यायाधीश कार्की र न्यायाधीश कार्की नयाँ आईजीपीको सुनुवाइका लागि बृहत् इजलासमा बस्नुपरेकाले पार्वतीले फेरि पनि पालो पाइनन् ।
उनको रिट संयुक्त इजलासको २२ औं नम्बरमा परेको थियो । अर्यालविरुद्ध दायर साढे तीन वर्ष पुरानो रिटमा बल्ल सुनुवाइ हुँदैछ भने एक महिनाअघि आईजीपीमा निर्णय गरिएका चन्दविरुद्ध दायर रिटमा भने मंगलबारै फैसला हुँदै छ ।
Comments
Post a Comment