मध्यपश्चिम विश्वविद्यालयले मेडिकल कलेज स्थापना गर्ने

सुर्खेतः सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) राजधानीमा बसेको छ । स्थानीयले जिल्लामै सिनेट बस्नुपर्ने माग गरे पनि बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।
सिनेटले विश्वविद्यालयमातहत मेडिकल कलेज स्थापना प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण सिनेट राजधानीमै बसेको विश्वविद्यालयले जनाएको छ ।
सिनेटले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने र कलेज विश्वविद्यालयमातहत रहने प्रस्ताव अनुमोदन गरेको हो । कलेज स्थापना प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा कुलपतिको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय पनि सिनेटले गरेको छ । योसँगै अब सुर्खेतमा मेडिकल कलेज स्थापना प्रक्रिया सुरु भएको र यसले विश्वविद्यालयको गरिमा अझै बढाउने उपकुलपति प्राडा. उपेन्द्रकुमार कोइरालाले बताए ।
सिनेटको अध्यक्षता गर्दै प्रधानमन्त्री दाहालले मध्यपश्चिम विश्वविद्यालयको भौतिक तथा शैक्षिक विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘विश्वविद्यालय स्थापनाको छुट्टै इतिहास छ, यो विश्वविद्यालयले मध्यपश्चिम क्षेत्रको समृद्धिमा ध्यान दिनुपर्छ । गरिबी, पछौटेपन र अन्धविश्वास चिर्दै विश्वविद्यालय अघि बढोस्, सरकार आवश्यक सहयोग गर्न तयार छ ।'
मेडिकल शिक्षाका लागि सरकार गम्भीर रहेको भन्दै उनले सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि आफूले सघाउने बताए । दक्ष चिकित्सक उत्पादन गर्न विश्वविद्यालयले निकै मेहनत गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव थियो । उनले प्राविधिक र व्यावसायिकसँगै विश्वविद्यालयले गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयको छैठौं सिनेटले रोल्पाको सामुदायिक जलजला बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसका रुपमा ग्रहण गर्ने निर्णय गरेको छ । निर्णयसँगै विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पसको संख्या १८ पुगेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लका अनुसार सिनेटले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह आयोजना गर्न पनि अनुमति दिएको छ । दीक्षान्त समारोहको मिति भने तोकिएको छैन । मल्लले भने, ‘अहिलेसम्म दीक्षान्त भएको छैन । सिनेटले सहमति दिएको छ, मिति कार्यकारी परिषदले टुंगो लगाउने छ । सम्भवतः असार पहिलो साता हुनेछ ।' मध्यपश्चिम विश्वविद्यालयले मेडिकल कलेज स्थापना गर्ने
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण सिनेट राजधानीमै बसेको विश्वविद्यालयले जनाएको छ ।
मल्लका अनुसार सिनेटले विश्वविद्यालयको अघिल्लो आवको खर्च र आगामी आवको प्रस्तावित बजेट पनि स्वीकृत गरेको छ । विश्वविद्यालयका नियमावलीमा पनि संशोधन गरिएको छ । नियमित सिनेट भएकाले धेरै निर्णय नभएको उनले जनाए । सिनेटमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री धनीराम पौडेलले अब सुर्खेतमा मेडिकल कलेज स्थापना प्रक्रिया सुरु हुने बताए । उनले भने, ‘विश्वविद्यालयले छोटो समयमा प्रगति गरेको छ । हामीले गरिबका सन्तानलाई सहज र सुलभ उच्च शिक्षा दिन सक्नपर्छ । दक्ष जनशक्ति उत्पादन मुख्य उद्देश्य बनाउनुस् ।'
कर्णालीको आर्थिक तथा सामाजिक अवस्थाअनुसार विश्वविद्यालयले शैक्षिक योजना बनाउनुपर्ने मन्त्री पौडेलको सुझाव थियो । प्राध्यापक संघ नेपालका सभापति प्राध्यापक रामेश्वर उपाध्याय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य भिउसिं बुढाले विश्वविद्यालयमा आंगिक क्याम्पस बनाउन गरिएको निर्णय तत्काल कार्यान्वयन गर्न र स्थापनाकालदेखि हालसम्म कार्यरत शिक्षक कर्मचारीको स्थायित्वमा ध्यान दिन आग्रह गरे ।
सांसद शक्तिबहादुर बस्नेत, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. भूषण श्रेष्ठ, शिक्षासचिव शान्तबहादुरश्रेष्ठ, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा. राधाकुमारी शाह, मध्यपश्चिमका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा, जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे, विश्वविद्यालयका डिन र निर्देशकले गुणस्तरीय शिक्षामा जोड दिएका थिए । उनीहरूले मध्यपश्चिममा विद्यमान गरिबी, अशिक्षा, पछौटेपन, सामाजिक कुसंस्कार तोड्ने पाठ्यक्रम र शिक्षा आवश्यक रहेको बताए ।

Comments