१९ फागुन, काठमाडौं । भारत भ्रमणको अन्तिम अभ्यास खेलमा नेपालले नोयडा वन्डर्सलाई ४० रनले पराजित गरेको छ ।
Advertismentटस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४८ रन बनायो । प्रशिक्षक जगत टमाटाले ओपनिङमा ज्ञानेन्द्र मल्ललाई आराम दिएर सुनिल धमला र ओशिफ शेखलाई खेलाएका थिए ।
उनीहरुले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । आशिफ २२ रनमा आउट भए । तेस्रो नम्बरमा आएका शरद भेषावकर पनि २२ रन जोडेर पभेलियन फर्किए ।
तेस्रो विकेटका रुपमा आउट भएका सुनिलले ७४ रन बनाए । १२८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । आरिफ शेखले २८ रन जोडे भने विनोद भण्डारीले अविनित ४१ रनको योगदान दिए ।
राजेश पुलामी मगरले ३० रन बनाउँदा दिपेन्द्रसिंह ऐरी ३ रनमा अविजित रहे ।
२४९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नोयडा वन्डर्सले ४७.२ ओभरमा २०८ रन बनाउँदा सबै विकेट गुमायो । उसका पि्रयम ग्रमले ४४ रन बनाए भने शिवम शर्माले ३८ रनको योगदान दिए ।
उसलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ३ विकेट लिए भने शक्ति गौचन र सन्दिप लामिछानेले २-२ विकेट लिए । करण केसी र बसन्त रेग्मीले समान १-१ विकेट हात पारे ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलको तयारीका क्रममा दिल्ली गएको नेपालले पहिलो खेल हारेको थियो भने दोस्रो खेल जितेको थियो ।
Comments
Post a Comment