राजधानीमा एसईई परीक्षाको पहिलो दिन जे देखियो (फोटोफिचर)

काठमाण्डु, ३ चैत – आज(बिहीबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् )सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सम्पन्न भएको छ ।


देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सातसय ३२ छात्र र दुई लाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार भोलि चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकधारतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।

विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरेपनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गरेको हो ।

यस्तै समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ ।
कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् ।

इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालले जानकारी दिए।



Comments