बेइजिङः चीनले अमेरिकासँग व्यापार युद्ध गर्न नचाहेको चिनियाँ प्रधानमन्त्री ली कछियाङले बुधबार बताएका छन् । विश्वका ठूला दुई अर्थव्यवस्थाबीच कसैले पनि व्यापार युद्ध नचाहेको उनले स्पष्ट पारेका छन् । चिनियाँ कंग्रेसको वार्षिक अधिवेशनको समापनका अवसरमा सञ्चारमाध्यमसँग लीले उक्त खुलासा गरेका हुन् ।
उनले भने, ‘यस्तो युद्ध हाम्रो व्यापारका लागि राम्रो हुनेछैन । जेसुकै भए पनि चीन र अमेरिकाबीच असल सम्बन्ध भइरहनुपर्छ । हामी आशा गर्छौं, यो सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहनेछ ।’
चीन र अमेरिकाबीच देखिएका आपसी मतभेद सुल्झाउन आफूहरू सक्षम भएको चिनियाँ प्रधानमन्त्री लीले बताए । दुवै देशका नागरिकको पक्षमा हित हुने काम गर्न सकिने चीनको विश्वास भएको उनको भनाइ थियो । आपसमा दुवै देशका सामान्य हितका विषयमा ध्यान दिन आवश्यक भएको उनले स्पष्ट पारे ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा सिमाना शुल्क बढाउने अनुमान गरिएको छ । उनले अमेरिकाबाहिर उत्पादित सबै वस्तुमा सीमाकर बढाएर स्वदेशी उत्पादनमा जोड दिने बताउँदै आएका छन् । विदेशमा सामग्री उत्पादन गर्दै आएका कम्पनीलाई अमेरिकी भूमिमा आएर कम्पनी खोल्न र अमेरिकी नागरिकलाई रोजगार दिन आह्वान गर्दै आएका छन् ।
उनले निर्वाचनका बेला चिनियाँ सामग्रीको विरोध गरेका थिए । चीनले आफ्नो मुद्राको वास्तविक मूल्य घटाएर संसारभर व्यापार गरेको र त्यो तत्काल रोक्नुपर्ने विषय उठाउँदै आएका छन् । ताइबानसँगको तनावका बेला पनि चीनले व्यापारिक राहत नदिए किन ‘एक चीन’ नीति पालना गर्ने भनेर चीनलाई चिढ्याएका थिए । चीनले अमेरिकी नागरिकको रोजगार खोसेको पनि ट्रम्पको आरोप छ ।
चीनले व्यापार युद्ध अमेरिका र चीन दुवैका लागि प्रत्युत्पादक हुने स्पष्ट पारेको छ । यसबाट क्षतिबाहेक केही उपलब्धि पनि नमिल्ने लीले स्पष्ट पारे । यसैगरी प्रधानमन्त्री लीले चिनियाँ मुद्रा युआनको मूल्य पनि नघटाइएको स्पष्ट पार्दै भविष्यमा पनि यो स्थिर रहने दाबी गरे । व्यापार वृद्धि गर्न आरोप लगाएजस्तो गरी मुद्राको मूल्य घटाउन आवश्यक नभएको भन्दै उनले यसलाई अस्वीकार गरेका थिए । युआनको विनिमय दर स्थिर भएको पनि उनले बताए ।
ट्रम्पले चीनले खुला बजार नीतिअन्तर्गत हुने विनिमय दरलाई नियन्त्रण गरेर आर्थिक कु गर्न खोजेको आरोप लगाउँदै आएका छन् । चिनियाँ अधिकारीले केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनालाई हस्तक्षेप गरेर मुद्राको दर घटाउन दबाब दिएको तर्कमा कुनै तुक नभएको लीले स्पष्ट पारे । उनले बजारकेन्द्रित विनिमय दरलाई ख्याल गरेर युआनको दर निर्धारण हुने बताए ।
Comments
Post a Comment