पोखरामा खानेपानी परियोजनाका लागि जाइकाको साढे ४ अर्ब सहयोग


फाल्गुन ४, २०७३- जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरामा खानेपानी वितरण सुधार परियोजनाका लागि करिब साढे ४ अर्ब अनुदान सहयोग गर्ने भएको छ ।
जाइकाले मुलुकको दोस्रो ठूलो सहरमा देखिएका खानेपानी समस्यालाई परिपूर्ति गर्न नेपाल सरकारलाई ४ अर्ब ५२ करोड (जापानी ऐन ४ अर्ब ८१ करोड ३ लाख) अनुदान सहयोग गर्ने भएको हो । नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदीले अनुदान सहयोगको 'लेटर अफ एक्सचेन्ज'मा बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे । साथै अनुदान सहयोगको लागि अर्थ मन्त्रालयका वैदेशिक शाखाका प्रमुख वैकुण्ठ अर्याल र जाइकाका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि जुन साकुमाबीच हस्ताक्षर भएको हो । ‘मुलुकको दोस्रो ठूलो सहर पोखरामा खानेपानीको समस्या देखेर हामीले यो परियोजना सञ्चालन गर्न लागेका हौं,’ साकुमाले भने ।
सन् २०२० को मेमा उक्त खानेपानी वितरण सुधार आयोजना सम्पन गर्ने लक्ष्य रहेको छ । यो परियोजना सम्पन्न भएसँगै पोखरामा हाल देखिएको खानेपानी संकटलाई धेरै हदसम्म निराकरण गर्ने छ । परियोजनाअन्तर्गत खानेपानी ट्रिटमेन्ट प्यान्टसहित व्यवस्थित रुपमा पाइप विछ्याउने काम पनि हुनेछ । ‘वास्तवमा यो आयोजनालाई लिएर जाइकासँग हामीले सन् २००४ देखि सहयोगका लागि आग्रह गर्दै आइरहेका थियौं । अहिले आएर मानेको छ । यसले पोखरामा देखिएको खानेपानी समस्यालाई धेरै हदसम्म समाधान गर्ने छ,’ नेपाल खानेपानी संस्थानका कार्यवहाक कार्यकारी निर्देशक भूपेन्द्र प्रसादले कान्तिपुरसँग भने । उक्त आयोजनाले गुणस्तरीय खानेपानी वितरण गर्ने जाइकाको निष्कर्ष छ ।
जाइकाले गरेको अध्ययनअनुसार उक्त आयोजनाबाट सन् २०२० सम्ममा पोखराका ३ लाख ५५ हजार ३ सय ५७ परिवारलाई खानेपानीको सेवा पुग्ने छ । यस्तै, सोही समयमा पोखरामा घुम्न आउने करिब ३ लाख पर्यटकलाई पनि स्वच्छ खानेपानीको सेवा मिल्ने छ । ‘यो आयोजनाले गर्दा पोखरा अझ राम्रो र आकर्षित सहरको रुपमा विकास हुनेछ,’ आयोनजाबारेमा जानकारी दिँदै साकुमाले भने ।
जाइकाले आयोजनाबारे सम्पूर्ण अध्ययन पूरा गरिसकेको छ । नेपाल सरकारसँग सम्झौता भएपछि अब काम अघि बढ्नेछ ।



प्रकाशित: फाल्गुन ४, २०७३


Comments