व्यवसायी आन्दोलनले इन्धन ठप्प

व्यवसायी आन्दोलनले इन्धन ठप्प

काठमाडौंः नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियमावली २०७३ आफूहरूको हितमा नभएको भन्दै ट्यांकर व्यवसायीले अनिश्चितकालीन आन्दोलनको चेतावनी दिएका छन्। ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिको अनुवाइमा व्यवसायी आन्दोलित भएका छन्।
निगमले गत पुसदेखि कार्यान्वयनमा ल्याएको विनियमावलीमा मजदुरलाई वेरोजगार बनाउने खालको व्यवस्था गरिएको भन्दै समितिले रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने प्रावधान हटाउनुपर्ने माग गरेको छ । वार्ता र सम्वादको माध्यमबाट निगमले फागुन १४ गतेभित्रमा मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए यही फागुन १५ गतेदेखि भारत र नेपालका डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने समितिले चेतावनी दिएको छ ।
समितिले गत शुक्रबार नै नेपालका सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन गरिसकेका छन् । ट्यांकर चालक र मजदुर आन्दोलनका कारण निगमले गत बिहीबार र शुक्रबार भारतबाट भित्र्याएको इन्धन शुक्रबार कुनै पनि पेट्रोल पम्पमा पुग्न सकेन । यसका कारण उपत्यकासहित देशभरका पेट्रोल पम्पमा आइतबार साँझसम्म इन्धनको हाहाकार भएको थियो ।
समितिका संयोजक अर्जुन अर्यालका अनुसार निगमले हालै कार्यान्वयनमा ल्याएको विनियमावलीमा एक जनाले पाँच वटाभन्दा कम संख्यामा इन्धन ट्यांकर राख्न नपाउने व्यवस्था गरिएको छ । पुरानो विनियमावलीमा एक जनाले एउटा ट्यांकर राख्न पाउने व्यवस्था छ ।
नयाँ विनियमावलीमार्फत निगमले एउटा ट्यांकरको सञ्चालन अवधि १५ वर्ष मात्रै तोकेको छ । चालक र मजदुरले सरकारले एउटा सवारीसाधन २० वर्षसम्म सञ्चालन गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेकाले सोहीअनुरुप आफूहरूले पनि सञ्चालन गर्न पाउनुपर्ने माग अघि सारेको अर्यालले जानकारी दिए ।
समितिका अनुसार ट्यांकरमा इन्धन लोड गरी डिपोमा अनलोड गर्दा विभिन्न प्राविधिक कारणले कमी हुने इन्धनको परिमाण बापतको क्षतिपूर्ति मात्रै ट्यांकर चालकले निगमलाई बुझाउँदै आएका छन् । तर, नयाँ विनियाावलीमार्फत निगमले कमी हुने इन्धनको परिमाणको (अर्थात ०.२५ प्रतिशतभन्दा बढी कमी भयो भने) दोब्बर क्षतिपूर्ति दाबी गर्ने व्यवस्था गरेको छ ।
निगमका प्रवक्ता भानु खनालले सोमबार ट्यांकर सञ्चालक र चालकसँग वार्ता हुने बताए । खनालका अनुसार शुक्रबारको आन्दोलनका कारण डिपोबाट देशभरका कुनै पनि पेट्रोल पम्पमा इन्धन आपूर्ति हुन नसकेको जानकारी दिए । निगमले आइतबार उपत्यका भरका पम्पमा आठ सय केएल पेट्रोल उपलब्ध गराएको छ । सामान्य दिनमा चार सय केएल मात्रै वितरण हुन्थ्यो ।

Comments