धरानः रूपन्देही ११ धरानमा जारी १९ औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिवार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई टाईब्रेकरमा ३-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । हालै सम्पन्न उदयपुर गोल्ड कपको उपाधि जितेको रूपन्देही दोस्रो उपाधि नजिक पुगेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा रोकिएपछि सिधै टाईब्रेकर प्रहार गरिएको थियो । निर्धारित समयको खेलमा अग्रता काँकडभिट्टाले लिएको थियो । खेलको ६१औं मिनेटमा गिल्शन लिम्बुले टोलीलाई १-० ले अघि बढाएका थिए । तर, खेलको अन्तिम चार मिनेट सम्मालिन नसक्दा काँकडभिट्टा क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य बन्यो । रूपन्देहीका लागि खेलको ७६ औं मिनेटमा उत्तम गुरुङले बराबरी गोल फर्काएका थिए ।
टाईब्रेकरमा रूपन्देहीलाई विजयी बनाउन निराज बस्नेत, सौरभ मगर र उत्तम गुरुङले गोल गरे । काँकडभिट्टाका लागि भने पुजन उपरकोटीले मात्रै गोल गरे । टाईब्रेकरमा काँकडभिट्टाका दिलेन लिम्बुको प्रहारलाई विफल तुल्याएका रूपन्देहीका गोलरक्षक दिलीप क्षेत्री म्यान अफ दि म्याच चुनिए ।
खेलपछि काँकडभिट्टाका प्रशिक्षक दीपक कार्कीले अन्तिम केही समय सम्हालिन नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । ‘हामी जित नजिक पुगेका थियौं तर अन्तिम केही समय मात्रै सम्हालिन नसक्दा पराजित हुनुपर्रयो’, प्रशिक्षक कार्कीले भने, ‘टाईब्रेकरमा पनि हामीलाई भाग्यले साथ दिएन ।’
रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडीको आत्मविश्वासले अन्तिम समयमा पनि खेलमा फर्कन सम्भव भएको बताए ।‘उदयपुर गोल्ड कप जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ । त्यसैले अन्तिम समयमा पनि खेलमा फर्कन सफल भयौं’, प्रशिक्षक सापकोटाले भने, ‘आगामी खेलमा पनि यस्तै प्रदर्शनको अपेक्षा गरेको छु ।’
Comments
Post a Comment