हस्टन: संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्ससको डाल्लास महानगरमा करिब एक हजार सात सयजले विरोध जुलुस प्रदर्शन गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरूः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीलाई आगामी चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने गरी गत २७ जनवरीका दिन जारी गरेको कार्यकारी आदेशको विरोधमा फेरि एकपटक जुलुस प्रदर्शन भएको जनाइएको छ ।
जुलुसका सहभागीहरूले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको चर्को विरोध गर्दै आप्रवासी तथा शरणार्थीको समर्थनमा नाराबाजीसमेत गरे। जुलुसले डल्लासको मुख्य केन्द्र र बजार क्षेत्रको परिक्रमा गरेको थियो । यसपटकको जुलुस र भीड उग्र र हिंसात्मक नदेखिई शान्त रहेको डल्लास प्रहरीले जनाएको छ ।
जुलुसका कतिपय सहभागीले अमेरिकी झण्डा बोकी ‘से इट लाउड, से इट क्लियर, रेफ्युजिज आर वेलकम हियर’ भनी चर्को नारा लगाएका थिए। जुलुसमा सामेल भएका केही धर्मगुरु तथा नागरिक अगुवाहरूले आप्रवासी तथा शरणार्थीसम्बन्धी राष्ट्रपति ट्रम्पको उक्त नीतिको विरोध जनाए।
यसैबीच, दक्षिणी टेक्ससको सान एन्टोनियो नगरमा पनि यस्तै प्रकारको विरोध प्रदर्शन भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले जारी गरेको आप्रवासी तथा शरणार्थी र मुस्लिम बहुल राष्ट्रका नागरिकलाई प्रवेश निषेधसम्बन्धी उक्त कार्यकारी आदेशविरुद्ध स्थानीय अदालतमा मुद्दा पर्दा उक्त कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउने फैसला भएको थियो ।
स्थानीय अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन गरेकोमा उच्च अदालतले पनि स्थानीय अदालतकै फैसला सदर गरेको थियो।त्यसैगरी अदालतका फैसलालाई सम्मान गर्दै आगामी साता अर्को नयाँ परिमार्जित कार्यकारी आदेश जारी गरी उक्त विवादास्पद पुरानो आदेशलाई प्रतिस्थापन गराउने भनी ट्रम्प प्रशासनले गत बिहीबार घोषणा गरेको छ ।
Comments
Post a Comment