९ फागुन, सिन्धुली। राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली-बर्दिबास सडक आइतबार रातिदेखि अवरुद्ध भएको छ । करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि यो बाटो बन्द भएको हो । भीरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने स्थानीय प्रहरीले जानकारी दिएको छ ।
Advertisment
इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायव निरीक्षक रामेश्वर राउतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिन्धुलीको शीतलपाटी गाविस वडा नं ९ को त्रिवेणी भन्ने ठाउँमा सडक भत्किएको हो । आइतबार राति ११ बजेतिर पीच सडक भत्किएर सुनकोशी नदीमा झरेको थियो । त्यहाँ गाडी गुडिरहेको अवस्था नभएका कारण कुनै मानवीय क्षती हुन नपाएको सई राउतले बताए ।
तत्कालै सडक नखुल्ने, खुर्कोटबाट वैकल्पिक बाटो प्रयोग गर्न सकिने
यसैवीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै जिप्रका स्रोतले भन्यो- ‘बर्दिबासतर्फबाट आएका गाडीहरु खुर्कोट छेउबाट रामेछापको मन्थली निस्केर दोलखा हुँदै बाठमाडौं पुग्न सक्छन् । त्यसै गरी काठमाडौंबाट सिन्धुलीतर्फ हिँडिसकेका सवारी साधन पनि दोलखाबाट मन्थली हुँदै खुर्कोट नजिकबाट पास हुन सक्छन् ।’
जिल्ला प्रहरी कार्यालय भन्छ- हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह गर्यौं । तर, ठूला सवारी साधन चल्ने गरेकाले सडकले थामेनकाठमाडौं र तराई जोड्ने छोटो बाटोका रुपमा यो सडकको प्रयोग हुँदै आएको छ । जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै उक्त सडक निर्माण सम्पन्न भएको होे ।
बाटो निर्माणका बेला दुई लेनको बन्न नदिने भारतले दबाव दिएको र साँघुरो बाटो बनेको बताइँदै आएको छ ।
सरकारले यो बाटोमा ठूला गाडीहरु नचलाउन र लाइट गाडीमात्रै सञ्चालन गर्न आग्रह गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ- ‘हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह गर्यौं । तर, दशैंका बेलामा ठूला बसहरु चले । अरु बेलामा पनि ठूला सवारी साधन चल्ने गरेकाले सडकले थामेन ।’
तस्वीर साैजन्य- इप्रका खुर्कोट
२०७३ फागुन ९ गते ८:३८ मा प्रकाशित
Comments
Post a Comment