काठमाडौंः नेपाल प्रहरी अस्पतालका प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. दिनेशचन्द्र पोखरेल केही दिनयता ‘अनिच्छाइएको बिरामी' उपचार गरिरहेका छन् । उनी स्वयंलाई थाहा छैन, बिरामीलाई कतिबेला छाड्नुपर्ने हो । तर, उनलाई विश्वास छ, बिरामी निको हुनेछ, चाँडै । ‘म त बिरामीको उपचार गरिरहेको मान्छे, बिरामीलाई निको पार्नु मेरो जिम्मेवारी हो', पोखरेलले भने, ‘प्रहरी संगठन अप्ठ्यारोमा परेका बेला यसलाई सम्हाल्ने जिम्मेवारी पाएको छु ।
यतिबेला मेरो प्रयास भनेकै स्थिति थप बिग्रन नदिनु र यसलाई अधिकतम राम्रो बनाउनु हो ।' सरकारको महानिरीक्षक बढुवा निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि फिजिसियन (पेट, आन्द्रा, लिभर, पाचन एवं मधुमेह रोग विशेषज्ञ) पोखरेलले मंगलबारदेखि नेपाल प्रहरीको निमित्त प्रमुख चलाइरहेका छन् । दैनिक १६ घन्टा बिरामी उपचारमा खटिने यी चिकित्सक यतिबेला अपराध नियन्त्रण र शान्ति-सुरक्षा कायम गर्ने कामको नेतृत्व गरिरहेका छन् भने अर्र्काेतर्फ प्राविधिकले प्रहरी संगठनको नेतृत्व गर्नुपरेको अवस्थाप्रति सर्वत्र आलोचना भइरहेको छ । डा.पोखरेललाई लाग्छ, उनको यो जिम्मेवारी ‘एक्सिडेन्टल' हो ।
उनी भन्छन्, ‘संगठनलाई धरापमा पारौं भनेर कसैले पनि यो स्थिति निम्त्याएको होइन । प्राविधिकको हातमा नेतृत्व जाला भनेर कसैले पनि सोचेको थिएन, अन्तिम समयसम्म । केही हदसम्म ओभरकन्फिडेन्सको नतिजा हो जस्तो लाग्छ ।' नयाँ जिम्मेवारी पाउने निर्णयले उनी आत्तिएनन् । महानिरीक्षक बन्न अनेक चलखेल भइरहेका बेला विनाप्रयास प्राप्त यो अवसरलाई उनले नकार्नुपर्ने कारण पनि थिएन । ‘प्रहरी संगठनको नेतृत्व गर्ने जिम्मा पाउनु हामी प्राविधिकका लागि कल्पना बाहिरको विषय हो । यो जिम्मेवारीलाई लिएर नेगेटिभ सोच राख्नुपर्ने कारण पनि छैन । बरु प्रहरीको जागिरे भएकाले आँट बटुल्नु राम्रो कुरा हो ।
संगठनका लागि ८/१० रात नसुत्दा के हुन्छ ? ' पोखरेलले भने । निमित्त आईजीपी बनेपछि उनलाई बधाई दिनेमा धेरै चिकित्सक नै छन् । धेरैले चिकित्सक प्रहरी संगठनको नेतृत्वमा पुगेकोमा खुसी व्यक्त गरेको उनले बताए । उनलाई बधाई दिनेक्रम शुक्रबार पनि जारी नै थियो । प्रहरी संगठनमा प्रवेश गरेको २६ वर्षपछि डा.पोखरेलको दैनिकी बेग्लै छ । उनी नयाँ जिम्मेवारीले ‘स्ट्रेस' बढेको बताउँछन् । ‘बिरामीको उपचार गर्दा पनि स्टे«स हुन्थ्यो । तर, नयाँ काम सिक्नु र गर्नुपर्ने भएकाले त्यसले स्ट्रेस बढाएको छ । त्यसमा पनि यो त प्रहरी संगठनको नेतृत्व गर्ने कुरा हो । एउटा निर्णय गर्न १० पटक सोच्नुपर्छ, धेरैसँग सल्लाह गर्नुपर्छ', पोखरेल भन्छन् । उनी जतिसक्दो समस्याको निकास चाहन्छन् ।
Comments
Post a Comment