विस्फोटक अभावमा सडक निर्माण अवरुद्ध

विस्फोटक अभावमा सडक निर्माण अवरुद्ध

काठमाडौं: विस्फोटक पदार्थ अभावले दुर्गममा सडक निर्माण अवरुद्ध भएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ। संसद् विकास समिति बैठकमा आइतबार नेपाली सेनाद्वारा निर्माणाधीन सडकको कार्यप्रगतिबारे जानकारी गराउँदै रक्षामन्त्री बालकृष्ण खाँडले भने, ‘विकास आयोजनामा काम गर्दा जनशक्ति र निर्माण सामग्री व्यवस्थापन गर्न बजेटमै व्यवस्था भए सडक निर्माण सहज र छिटो हुने थियो ।’
सेनाले सडक तथा पुल निर्माण, नदी नियन्त्रण, एकीकृत विकास कार्यक्रम, लघु जलविद्युत् तथा ऊर्जा र प्राकृतिक प्रकोप रोकथाम, उद्धार तथा राहतका काम गर्दै आएको छ । अहिले पनि सेनाले दुर्गम भूभागमा करिब पाँच सय किलोमिटर सडक निर्माण गरिरहेको छ । बजेटमा सडकको नाम उल्लेख नगर्दा समयमै बजेट निकासा नहुने भएकाले पनि सडक निर्माण प्रभावित हुने गरेको रक्षामन्त्री खाँडले समितिलाई जानकारी गराए। सेनाले विकट पहाडी क्षेत्रमा सडक निर्माण गर्दै आएको भए पनि सरकारले बजेटमा सडक योजना र निर्माण बजेट समावेश गरे निर्माण अवरुद्ध नहुने बताए।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपाली सेनाले निश्चित समयभित्र गर्ने सडक निर्माण स्पष्ट किटान गरिदिन, त्यसका लागि आवश्यक बजेट समयमै उपलब्ध गराउन र चालु आर्थिक वर्षमा नेपाली सेनालाई निर्माण जिम्मा दिइएका सडकखण्डको बजेट १५ दिनभित्र उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन्।
सभापति अधिकारीले विस्फोटक पदार्थको अभाव यथाशीघ्र समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए । उनले भने, ‘सेनाले निर्माण गर्ने गोरखाको बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडकखण्ड निर्माण प्रक्रिया स्वीकृत गर्न तथा तुरुन्त बजेट निकासा गर्न समिति राष्ट्रिय योजना आयोगसहित सम्बन्धित मन्त्रालयलाई निर्देश गर्छ ।’

Comments