बैंकमा जागिर खान के गर्नुपर्छ ?

बैंकमा जागिर खान के गर्नुपर्छ ?

काठमाडौः  बैंकिङ क्षेत्रमा जागिरको आकर्षण बढ्दै गएको छ । अन्य क्षेत्रको तुलनामा बैंकमा आकर्षक पारिश्रमिक हुने भएकाले नयाँ पुस्ता बैंकिङ क्षेत्रमा आकर्षित भएको हो ।
 
बिबिएस, बिबिए, एमबिए पढेका युवाहरु बैंकमा जागिर खान उत्साहित भएर लागेका छन् । बैंकमा नयाँ जागिरका लागि सीमित कोटा कोटा माग गरिए पनि हजारौंको आवेदन पर्ने गरेको छ । 
 
रोजगार परामर्शदाताको रुपमा काम गर्दै आएका मेरो जब डटकम तथा रियल सोलुसन प्रालिका म्यानेजिङ डाइरेक्टर शैलेन्द्रराज गिरी नयाँ पुस्ता बैंकिङ जागिरमा आकर्षण बढ्दै गएको बताउँछन् । ‘बैंकमा जागिर खानका लागि आवेदन भर्नेहरुको  संख्या क्रमश बढ्दै गएको छ, यसले नयाँ पुस्ता बैंकिङ क्षेत्रमा काम गर्न आकर्षित भएको देखाउँछ' उनले भने । 
 
एक सय जना कर्मचारी माग गर्दा १० हजार भन्दा बढीको आवेदन पर्ने गरेको गिरीले बताए । मेरो जब डटकम प्रालिले अधिकांश बैंकको नयाँ कर्मचारी व्यावस्थापन गर्ने काम गर्दै आएको छ । ‘बैंकसँगको समझदारी अनुसार हामी नयाँ कर्मचारी व्यवस्थापनसम्बन्धी काम गर्छौ' उनले भने-‘लगभग सबै बैंकले नयाँ कर्मचारी चाहिए हामीमार्फत नै जनशक्ति माग गर्छन् ।'  
 
गिरीका अनुसार योग्यताका आधारमा पनि आवेदनको संख्या थपघट हुने गर्दछ । दशजोड दुई योग्यताको आवेदा माग्दा धेरै गुणा आवेदन पर्ने गरेको उनले सुनाए । ब्याच्लर तथा मास्टर्स अध्ययन गरेको आवेदन माग्दा तुलनात्मकरुपमा कमको मात्र आवेदन पर्ने गरेको उनले बताए ।  वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, सहकारी लगायतमा एक लाख भन्दा बढीले रोजगारी पाएका छन् । ‘क' वर्गको २८ वटा बैंकमा मात्रै २५ हजारले रोजगारी पाएकाछन् । 
 
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकिङ करियरमा नयाँ पुस्ता आकर्षित भएपनि सबैले अवसर पाउन नसकेको बताए । युवा पुस्ता बैंकमा काम गर्न उत्साहित भएपनि अवसर नपाउँदा नचाहेर पनि अन्य क्षेत्र रोज्नुपरेको उनले सुनाए ।  ‘केन्द्रीय बैंक तथा विभिन्न वित्तीय क्षेत्रमा नयाँ पुस्ता आकर्षित भएको देखिन्छ' उनले भने । 
 
राष्ट्र बैंकले बैंकमा प्रमुख कार्यकारी निर्देशक तथा महाप्रबन्धकको पारिश्रमिक तथा सेवासुविधाबारे मापदण्ड बनाएको छ । मापदण्ड कार्यान्वयन नगर्ने बैंकलाई निर्देशन दिने र निर्देशनसमेत अटेर गरे कारवाही गर्ने गरेको पवक्ता पौडेल बताउँछन् ।
 
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकिङ क्षेत्रमा मान्छे पसेपछि अन्यत्र जानेको संख्या एकदमै कम भएको बताए । ‘बैंकिङमा काम गर्ने मान्छे यो क्षेत्र छोडेर अन्यत्र गएको खासै पाइदैन' उनले भने-‘ आफ्नै काम गरिरहेको संस्थाको माथिल्लो पद या अर्को कुनै बैंकमा जम्प गर्नेको संख्या भने बढ्दै गएको छ ।'  नेपालभर २८ बैंकका १ हजार ८ सय ७१ वटा शाखा रहेका छन् । कम्तीमा पनि एउटा शाखामा १० भन्दा बढीले रोजगारी गर्छन् । 
 
वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, सहकारी लगायतमा एक लाख भन्दा बढीले रोजगारी पाएका छन् । ‘क' वर्गको २८ वटा बैंकमा मात्रै २५ हजारले रोजगारी पाएकाछन् । 
 
कुनै पनि संस्थामा जनशक्ति महत्वपूर्ण कुरा भएकाले बैंकले योग्य र अनुभवी मान्छे खोज्ने गर्छन् । बैंकमा जागिर खान कठिन भएकोले अध्ययनमा प्राथमिकता पहिलो शर्त भएको शाहको भनाई छ ।  
 
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह भन्छन्-बैंकमा जागिर खानका लागि प्रतिष्पर्धा अधिक हुने भएकाले व्यवस्थापन पढ्ने विद्यार्थीलाई राम्रो नम्बर लिनेगरी अध्ययन गर्न सुझाव दिन चाहन्छु' 
 
बैंकमा जागिर खानका लागि कम्तीमा सम्बन्धीत बैंकबारे राम्रो जानकारी राख्ने, प्रतिष्पर्धामा आफूलाई अब्बल राख्ने र इन्र्टनसीप गर्दा पनि उचित ध्यान दिन आवश्यक भएको बैंकरहरु बताउँछन् । ‘बैंकमा हाम्रो होइन, राम्रो मान्छेको खाँचो छ' उनले भने । 
 
पछिल्लो समयमा बैंकिङ क्षेत्रमा आइटी पढेकोले पनि प्राथिमकता पाउन थालेका छन् । बैंकिङ डाटा, सर्भर तथा सफ्टवेयर निर्माण गर्नका लागि आइटी क्षेत्रका ज्ञाता बैंकिङ क्षेत्रमा प्रवेश गर्दै छन् । प्रायः सबै बैंकमा छुट्टै आइटी डिपार्टमेन्ट राख्न थालिएको छ । कम्तिमा पनि एउटा बैंकमा आइटी क्षेत्र अध्ययन गरेका १० जनासम्म हुने गरेका छन् । 
 
बैंकिङ क्षेत्रमा काम गर्ने प्रमुख कार्यकारी अधिकृत तथा म्यानेजर लेभलका कर्मचारीको पारिश्रमिक आकर्षक हुने गरेको छ । प्रमुख कार्यकारी अधिकृतको १० लाखसम्म र महाप्रबन्धको पाँच लाखसम्म पारिश्रमिक तथा सेवासुविधा हुने गरेको बताइन्छ । तर राष्ट्र बैैंकले सेवासुविधासम्बन्धी मापदण्ड भन्दा  बढी सेवासुविधा लिने प्रमुख कार्यकारी अधिकृत तथा महाप्रबन्धक कारवाहीमा पर्ने गरेको राष्ट्र बैंकका प्रवक्ता पौडेल बताउँछन् । 
 
लक्ष्मी बैंकको लघुवित्तमा कार्यरत दुर्गा रिजाल अन्य क्षेत्रभन्दा बैंक तथा फाइनान्स क्षेत्र संवेदनशील हुने गरेको र समय पनि बढी दिनुपर्ने अनुभव सुनाउँछन् ।  भन्छन्,‘शुरुमा छिर्न गाह्रो, भिज्न सकेपछि काम गर्न सजिलो नै हुन्छ ।' 
 
सिदार्थ कलेजका प्रिन्सीपल श्रीराम शर्माले बिबिए, बिबिएस, बिडब्लु पढेकालाई पनि जागिर पाउन गाह्रो भएको बताए । ‘बैंक तथा वित्तीय क्षेत्रमा जान सक्नेको अनुपात थोरै छ, अवसर कम भएर नै हो' उनले भने । तर व्यवस्थापन विषय लिएर पढेका विद्यार्थी अन्य क्षेत्रमा भने राम्रो गरिरहेको, स्वरोजगार भएर पनि कमाई गरिरहेको उनले बताए । 
 
‘बैंकमा जागिर खान तीर्व प्रतिष्पर्धा गर्नुपर्छ,' उनले भने-‘जागिर पाएन भनेर निराश हुनुहुँदैन, स्वरोजगार भएर काम गर्दा अझ बढी कामाइन्छ ।' 

Comments