गोरखाः १५ वर्षसम्म सिर्दिबास-६ न्याकको बुद्ध हिमाली प्राविमा पाँच कक्षासम्म पढाइ हुन्थ्यो । छिमेकी गाउँका विद्यालयमा भन्दा राम्रो पढाइ हुने भएकाले आसपासका अभिभावकले आफ्ना बालबच्चा न्याक लैजान्थे । तर, अहिले त्यो अवस्था छैन । यस विद्यालयमा शिशु र एक कक्षासम्म मात्र पढाइ हुन्छ । सरकारी नियममा शिशु कक्षामा कम्तीमा १० जना हुनुपर्छ । तर, यहाँ दुई जना मात्र बालबालिका छन् । एक कक्षाको हाजिरकापीमा ६ जनाको नाम छ ।
न्याक सिर्दिबास गाविसको सबैभन्दा दुर्गम गाउँ हो । यहाँ ४५ घरधुरीको बसोबास छ । शिक्षाको अवस्था गिर्दै गएपछि यहाँका बालबालिका कोही अन्यत्र विद्यालयमा सिफ्ट भए । कोही पढाइ छाडेर मेलापात, घाँस-दाउरा गर्न थाले ।
‘यहाँका बालबालिका पहिले तीन दिनको टाढाको बाटो साम्दो प्राविमा जान्थे अहिले एकदिनको बाटो नुब्री प्राविमा जान्छन्', स्थानीय रिदम गुरुङ भन्छन्, ‘हाजिरकापीमा जति जनाको नाम लेखे पनि हाम्रो गाउँको स्कुलमा अहिले विद्यार्थी छैनन् । राम्ररी पढाइ नभएपछि युनाइटेड भिजन नामक एक क्रिस्चियन संस्थाले स्कुल रहेको ठाउँमा सामुदायिक भवन बनाएको छ ।'
यहाँका कोही बालबालिका बुद्ध आवासीय मावि, नुब्री आवासीय प्रावि र कोही ल्हो आवासीय प्रावि गएको उनले बताए । यहाँ कार्यरत एक शिक्षकलाई पनि साम्दो प्रावि पठाउने सिफारिस भएको स्रोत व्यक्ति (आरपी) को प्रतिवेदनमा उल्लेख छ ।
छेकम्पार गाविसस्थित छेकम प्राविमा पनि विद्यार्थीसंख्या घट्दै गएको छ । कक्षा २ र ४ मा विद्यार्थी संख्या शून्य छ । कक्षा पाँचमा एक जना मात्र विद्यार्थी पढ्छन् । ‘त्यो स्कुलमा बच्चै छैनन्', सदरमुकाममा पढ्न झरेका त्यहाँका पूर्वविद्यार्थी भन्छन्, ‘एकफेर एउटा बच्चा हाजिर भयो भने उसले विद्यालय छाडे पनि उसको नाम कहिल्यै काटिँदैन । हामी पनि पहिले त्यहाँ पढेका हौं । अहिलेसम्म नाम काटिएको छैन ।'
विद्यार्थीको संख्या धेरै देखाएर छात्रवृत्ति, पाठ्यपुस्तक, पिसिएफ, विदेशीको स्पोन्सरसिपलगायत शीर्षकमा सुविधा भने लिइरहेको उनले बताए । विद्यालय पुगेर फर्केका आरपी रोहिणी खनालको प्रतिवेदनअनुसार विद्यालय सुचारु भएको छैन ।
गोरखा र तिब्बतको सिमानामा पर्ने अन्तिम विद्यालय हो छुलेनिले प्रावि । यहाँ कक्षा २ सम्म पढाइ हुन्छ । शिक्षक संख्या ३ र विद्यार्थी १४ जना देखिए पनि आरपीको प्रतिवेदनमा यो विद्यालय सुचारु नभएको उल्लेख छ । शिक्षक, विद्यार्थी अति न्यून भएकाले एक दरबन्दी मात्र त्यहाँ राखी दुई दरबन्दी अन्यत्र सार्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
पर्यटकीय क्षेत्र भएकाले शिक्षक होटल व्यवसायमा व्यस्त रहने स्थानीयको भनाइ छ । ‘शिक्षक होटलमा ब्यस्त हुन्छन्,' स्थानीय सोनाम लामा भन्छन्, ‘वैशाखमा स्कुल खोलेजस्तो गर्छन् । जेठ, असारमा यार्सागुम्बा टिप्न जान्छन् । साउन, भदौ, असोज, कात्तिक र मंसिरसम्म पर्यटकको भीड लाग्छ । होटलमा भ्याइनभ्याइ हुन्छ । पुस लागेपछि स्कुल बन्द गरेर एकैचोटि वैशाखमा खोल्छन् ।'
उनका अनुसार विद्यार्थीको त्रैमासिक तथा वार्षिक परीक्षा हुन्छ कि हुँदैन त्यो अन्योल नै छ । तल्लो भेगका शिक्षकलाई खटाइयो भने विद्यालय नजाने समस्या हुन्छ भनेर केही समयअघि स्थानीयलाई मात्र शिक्षक राख्ने छेकम्पारका सबै विद्यालयमा अभ्यास भएको थियो । तर, स्थानीय शिक्षकले नै विद्यालय बिगारेको स्थानीय बताउँछन् ।
पर्यटकीय क्षेत्र भएकाले शिक्षक होटल व्यवसायमा व्यस्त रहने स्थानीयको आरोप ।
केही समयअघिसम्म खेताला शिक्षक राख्ने चलन थियो । ‘१२ पढेर गाउँ गएका सोनाम तान्जेनले १० हजार रुपैयाँमा एक शिक्षकको सट्टा पढाएका थिए', छिरिङ लामाले भने, ‘वास्तविक शिक्षकचाहिँ होटल चलाउने, जडीबुटी व्यापार गर्ने, धेरैजसो काठमाडौंतिर बस्ने गर्छन् ।'
शिक्षक नै नभएपछि अभिभावकले बाध्य भएर बालबच्चा सहरतिर पठाउने गरेको उनको भनाइ छ । ‘स्कुलै खुल्दैन । पढाइ हँुदैन । सट्टा राखेको शिक्षकले पनि महिनामा एक साताजति स्कुल खोलेर हाजिर गर्छन् । त्यही भएर गाउँ छाड्न बाध्य भएका हौं,' उनले भने ।
सक्नेले सहरमा पढाए पनि नसक्नेले याक-चौंरी चराउन र मेलापात गर्न पठाउने गरेको उनले बताए ।
चुम्चेत गाविसको सिम्चेत प्राविमा कक्षा पाँचसम्म पढाइ हुन्थ्यो । तर, केही वर्षदेखि शिक्षक-विद्यार्थी नभएपछि बन्द छ । ३८ घरधुरी रहेको यहाँका बालबालिका पनि कोही गाउँका गुम्बा र कोही काठमाडौंका गुम्बामा पढ्दै छन् । कोही घरायसी काममा भुलेको स्थानीय गोपाल लामा बताउँछन् ।
चुम्चेत गाविसको सिम्चेत प्राविमा कक्षा पाँचसम्म पढाइ हुन्थ्यो । तर, केही वर्षदेखि शिक्षक-विद्यार्थी नभएपछि बन्द छ । ३८ घरधुरी रहेको यहाँका बालबालिका पनि कोही गाउँका गुम्बा र कोही काठमाडौंका गुम्बामा पढ्दै छन् । कोही घरायसी काममा भुलेको स्थानीय गोपाल लामा बताउँछन् ।
चुम्चेतकै पेमाथाङ प्रावि लोक्पा कक्षा ३ सम्म सञ्चालन अनुमति पाएको विद्यालय हो । यहाँको कक्षा २ र ३ मा १÷१ जना, कक्षा १ मा ४ गरी ६ जना विद्यार्थीको नाम लेखिएको छ । यो विद्यालय पनि नचलेको शिक्षा कार्यालयका प्रतिनिधि खनालको अनुगमन प्रतिवेदनमा उल्लेख छ । उक्त विद्यालयमा दरबन्दी भएका एक जना शिक्षक पनि अन्यत्र सार्नुपर्ने सुझाव दिइएको छ ।
विद्यालयमा विद्यार्थी शून्य हुनुको कारण शिक्षककै कमजोरी किटान गर्छन्, गोपाल लामा । ‘स्कुलमा बच्चा भए पनि शिक्षक नै आउँदैनन्', उनी भन्छन्, ‘सरकारले उनीहरूको खोजी गर्ने, विद्यालयमा नभए कारबाही गर्ने गर्यो भने समस्या समाधान भइहाल्छ नि !'
दुर्गमका शिक्षकलाई बढी राजनीति लाग्ने गरेको स्थानीय धावा ग्याल्जेनको तर्क छ । विद्यालय व्यवस्थापन समितिलाई आफ्नो काम, कर्तव्य र अधिकारबारे राम्रो ज्ञान भयो, त्यहीअनुसार काम गर्यो भने पनि समस्या कम हुने उनको सुझाव छ ।
१ सय ९७ घरधुरी रहेको सामागाउँ गाविसमा दुई विद्यालय सञ्चालित छन् । धेरै वर्ष पहिलेदेखि नै आवासीय सुविधासहित पठनपाठन गरिएकाले गौरीशंकर प्राविमा केही शिक्षक-विद्यार्थी छन् । सरकारी दरबन्दी ५, सिड नेपालको ५ र मिड नेपालको ७ गरी १७ जना शिक्षक कार्यरत छन् भने विद्यार्थी संख्या ८८ छ ।
१ सय ९७ घरधुरी रहेको सामागाउँ गाविसमा दुई विद्यालय सञ्चालित छन् । धेरै वर्ष पहिलेदेखि नै आवासीय सुविधासहित पठनपाठन गरिएकाले गौरीशंकर प्राविमा केही शिक्षक-विद्यार्थी छन् । सरकारी दरबन्दी ५, सिड नेपालको ५ र मिड नेपालको ७ गरी १७ जना शिक्षक कार्यरत छन् भने विद्यार्थी संख्या ८८ छ ।
सरकारले ८० जनाका लागि हिमाली छात्रवृत्तिको व्यवस्था गरेको छ । यति धेरै सरकारी÷गैरसरकारी संस्थाले लगानी गरे पनि यहाँबाट राजधानीसहित नजिकका सहरमा पढ्न जाने बालबालिकाको संख्या कम छैन ।
सामागाउँबाट तीन घन्टाको बाटो पर साम्दो प्राविमा भने इसिडी मात्र सञ्चालित छ । साम्दो गोरखा र तिब्बतको सिमानामा रहेको अन्तिम गाउँ हो । करिब ४५ घरधुरीको बसोबास रहेको साम्दोका दुई कक्षाभन्दा माथिका बालबालिका काठमाडौंका विभिन्न गुम्बामा जाने गर्छन् ।
‘६-७ वर्ष लागेपछि सबै काठमाडौं जान्छन्', स्थानीय निमा दोर्जे भन्छन्, ‘काठमाडौंमा कोही गुम्बामा पढ्छन्, कोही अभिभावकले स्पोन्सर खोजेर लामाले चलाएको बोर्डिङमा पढाउँछन् ।'
आठ वर्षभन्दा माथिका बालबालिका गाउँमा नहुनुको पछाडि सरकार नै बढी दोषी रहेको उनको भनाइ छ । ‘हाम्रोतिर त सरकारै छैन', उनी भन्छन्, ‘आरपी÷विनिले बेलाबेला अनुगमन गर्ने, शिक्षक नभेटिए कारबाही गर्ने गर्यो भने उनीहरू स्वतः नियमित आइहाल्छन् ।'
शिक्षक नियमित हुने गरे गाउँ छाडेका बालबालिका फर्कने उनको विश्वास छ । गाउँ आउने आरपी÷विनिलाई शिक्षकले बाटोमा वा सदरमुकाममा भेटेर रक्सी र मासु खुवाई मख्खै पार्ने गरेको उनको दाबी छ ।
‘भनूँ आफैंलाई पढाएको गुरु, नभनूँ भने त्यस्ता गुरुले गाउँ बिगारेका छन्', उनले भने, ‘सरकारको पैसा त्यत्तिकै बगेको छ । स्कुल चलेकै छैन ।'
अर्को विकट ल्हो गाविसमा तीन विद्यालय छन् । तीमध्ये स्यो गाउँको जनज्योति प्रावि पूर्णरूपमा बन्द छ । ल्हीको जुङ प्रावि पनि नियमित नचलेको आरपीको प्रतिवेदनमा उल्लेख छ । तीन कक्षासम्म चलेको उक्त विद्यालयको कक्षा एकमा दुई जना, दुईमा दुई र कक्षा तीनमा एक जना विद्यार्थी पढ्छन् । दुई शिक्षक कार्यरत छन् ।
स्यालाको ल्हो प्रावि भने नमुनाको रूपमा चलेको छ । पाँच कक्षासम्म सञ्चालन भएको यो विद्यालयले भने गाउँका बालबालिका गाउँमै थेगेको छ । एक लामा गुरुको सहयोगमा सञ्चालित यो विद्यालयमा हिमाली छात्रवृत्ति पाएर एक सय २२ जना बालबालिका छात्रवासमा बसेर पढ्छन् । यो विद्यालयलाई हिउँदमा तल्लो भेगमा र बर्खामा स्यालामा सुविधासम्पन्न रूपमा चलाइएको छ ।
हिमाली भेगको अर्को दुर्गम गाविस हो प्रोक । यहाँका ५ विद्यालयमध्ये अहिले एउटा बन्द भइसकेको शिक्षा कार्यालयले जनाएको छ । विद्यार्थीविहीन भएपछि क्वाक प्रावि शिक्षा कार्यालयले नै बन्द गराएको छ । स्रोत व्यक्तिको अध्ययन प्रतिवेदनअनुसार कुनै समय पाँच कक्षासम्म चलेको मनास्लु इन्द्रेणी प्राविमा अहिले विद्यार्थी छैनन् । शिक्षक दरबन्दी पनि कटाएर एउटा मात्र बाँकी छ । विधिवत् बन्द नभए पनि यो विद्यालय सञ्चालनमा नआएको आरपी खनाल बताउँछन् । उनले त्यहाँ कार्यरत एक शिक्षकलाई अन्यत्रै सार्नुपर्ने सुझाव दिएका छन् ।
‘शिक्षकले त्यसै जागिर खाएका छन्', नाम्रुङका स्थानीय छिरिङ याङ्गुङ लामा भन्छन्, ‘विद्यार्थी छैनन् । स्कुल पनि चलेको छैन ।' यहाँका बालबालिका काठमाडौं चोभार-फर्पिङका गुम्बामा पुर्याइएको छ । ‘लामा गुरुहरूले दातृ निकाय खोजेर फर्पिङ-चोभारमा गुम्बा खोलेका छन् । त्यहाँ बोर्डिङ पनि चलाएका छन्', छिरिङ भन्छन्, ‘घर छाड्न सक्नेजति सबै त्यतै गएका छन् । बच्चा जन्मिनेबित्तिकै गुरुहरू नाम लेख्न आउँछन् । यहाँ बच्चा नभएपछि तल्लो भेग आरुघाटतिर पनि सम्पर्क गराइदिनू । हामी लगिदिन्छौं भनेर खोज्छन् ।'
बालबालिकाको अभाव भएपछि कुनै समय पाँच कक्षासम्म चलेको प्रोक प्राविमा पनि अहिले एक कक्षासम्म मात्र सञ्चालित छ । विद्यार्थी-शिक्षकको अभावले यो विद्यालय पनि बन्दप्रायः छ । छाक गाउँको हिमचुली प्राविमा पनि अहिले विद्यार्थी नभएपछि इसिडी मात्र सञ्चालन गरिएको छ । ‘कागजमा खै कति विद्यार्थी देखाएका होलान्', छिरिङ भन्छन्, ‘मास्टर छैन, केटाकेटी पनि छैनन् । स्कुल नियमित चलेकै छैन ।'
गपको नुब्री प्राविलाई भने आवासीय बनाइएको छ । यहाँ ६ शिक्षक, ४२ विद्यार्थी छन् । सबै विद्यार्थीले हिमाली छात्रवृत्ति पाएर छात्रवासमा बसेका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा पछाडि परेको अर्को हिमाली गाविस बिही विद्यालयविहीन गाविस भनेर चिनिन्छ । शिक्षक, विद्यार्थी नभएका कारण यहाँका दुई विद्यालय बन्द भएपछि गाविस नै विद्यालयविहीन बनेको हो ।
तर, यो वर्षदेखि श्रृङ्गी गुम्बामा स्थानीयको पहलमा एक मिश्रित पाठ्यक्रम पढाइ हुने विद्यालय खुलाइएको छ । शिशु कक्षा सञ्चालन गरिएको यो गुम्बामा ३८ जना बालबालिका राखेर पढाउन थालिएको सञ्चालक नवीन गुरुङ बताउँछन् । विद्यालय खारेज भएपछि गुम्बा हिमाली प्राविको भवन भत्काएर त्यहाँ भूकम्पपीडितको राहत सामान ओसार्न हेलिप्याड बनाइएको थियो ।
बन्द यो प्राविमा पनि यो वर्ष इसिडी कक्षा चलाउने प्रयास गरिएको छ । तर, शिक्षक-विद्यार्थी नरहेको विद्यालय भवन निर्माणमा जुटेको सोनाम लामा बताउँछन् । ‘म विद्यालय पुग्दा त्यहाँ शिक्षक-विद्यार्थी नै देख्दिनँ', उनी भन्छन्, ‘एक जना शिक्षक छन् भन्ने सुनेको छु । कागजमा देखाएर सरकारी रकम खर्च भइरहेको छ ।'
अर्को विद्यालय क्राक प्रावि पनि विधिवत् रूपमा बन्द गरिएको छ । शिक्षक, विद्यार्थी नभएपछि विद्यालय मर्ज गरिएको स्रोतव्यक्ति खनाल बताउँछन् । विद्यालय बन्द भए पनि क्रिस्चियन संस्था युनाइटेड भिजन नामक एनजीओले यो ठाउँमा भूकम्प प्रतिरोधी पक्की भवन बनाएको छ ।
शिक्षक-विद्यार्थी नै नभएपछि गुम्बा हिमाली प्रावि गोठजस्तै बनेको छ । ‘हाम्रोतिर न स्कुलमा शिक्षक हुन्छन्, न त हेल्थपोस्टमा स्टाफ नै', बिहीकी लाक्मा लामा भनिछन्, ‘त्यसै जागिर खान्छन् । सिड नेपाल, क्यान नेपाल, फेड नेपाल, मिड नेपालका मान्छेचाहिँ अलिअलि देख्न पाइन्छ ।'
शिक्षक नबसेपछि अभिभावकले सकेसम्म राजधानी पठाउने तथा नसक्नेले आफूसँगै मेलापात, वनजंगल लैजाने गरेको उनी बताउँछिन् ।
विद्यार्थी शून्य हुनुको कारण
जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक जिशिअ ठाकुरजी तिवारी हिमाली भेगका विद्यालयको अवस्थाबारे जानकार छन् । कम विद्यार्थी भएका विद्यालयलाई एकीकृत गरी अर्को विद्यालयलाई समृद्ध बनाउने अहिलेको नीतिले त्यस भेगको समस्या सुधार नहुने उनको ठम्याइ छ ।
‘शिक्षाको एउटा विशेषता भनेको सामाजिकीकरण हुनु हो', उनी भन्छन्, ‘तर हिमाली भेगका विद्यालयमा एउटा कक्षामा एक÷दुई जना मात्र हुन्छन् । कसरी सामाजिकीकरण हुने ? यस्ता विद्यालयलाई नजिकको विद्यालयमा गाभ्नुपर्छ भन्ने अहिले नीति आएको छ । तर, धेरै दुःख गरेर बनाएको विद्यालय मर्ज गरेर मात्र पुरुषार्थ हुँदैन । गाउँका बालबालिका गाउँमै अट्नुपर्छ ।' हिमालपारिका लागि सरकारले अलग्गै नीति बनाउनुपर्नेमा उनको जोड छ ।
‘हिमाली भेगका लागि तल्लो भेगमा लागू भएको नियमले काम गर्दैन', तिवारी भन्छन्, ‘यो क्षेत्रका लागि एक जिल्ला दुई नीति बनाउनुपर्छ ।'
सरकारी बेवास्ताका कारण हिमाली भेग पछाडि परेको छेकम्पारका निमा लामा बताउँछन् । ‘गाउँका विद्यालय विद्यार्थीविहीन हुनुको पछाडि एउटा पक्ष मात्र दोषी छैन', पूर्वजिविस सदस्यसमेत रहेका उनी भन्छन्, ‘सबैभन्दा ठूलो गल्ती शिक्षकको हो । उनीहरू गाउँमा बस्दै बस्दैनन् । दोस्रो गल्ती सरकारको हो । सरकारले निरन्तर अनुगमन गरी आफ्नो विद्यालय, शिक्षकलाई ठीक ठाउँमा राख्नुपर्छ । अभिभावकको पनि दोष छ यसमा ।'
राजनीतिक दलले शिक्षकलाई पार्टी चलाउन लगाएर शिक्षा क्षेत्र बिगारेको उनको निष्कर्ष छ । परिवार नियोजनका कारण पनि गाउँमा बालबालिका न्यून रहेको उनको बुझाइ छ । निर्वाचित प्रतिनिधि भए पनि केही सुधार आउने उनको विश्वास छ ।
यो भेगका अर्का युवा सोनाम लामा गाउँमा बालबालिका शून्य हुँदै गएकोतर्फ चिन्तित छन् । ‘सिँगान पुछ्न नसक्ने, दिसा-पिसाब सफा गर्न नसक्ने बालबालिका पनि गाउँमा छैनन्', उनी भन्छन्, ‘गाउँमा शिक्षक छन्, पढाउँछन् भन्ने भयो भने सामान्यस्तरका गाउँलेले पनि आफ्ना स-साना बालबच्चा बाहिर पठाउँदैनन् । आज बाहिर गएका बालबालिका फेरि फर्केर गाउँ आउन मान्दैनन् ।'
यो अवस्था अन्त्य गर्न सबै पक्षले सोचेर लाग्नुपर्ने उनको धारणा छ । ‘यो समस्या समाधान गर्न हामी केही युवा जिल्ला शिक्षा, प्रशासन, जिविसमा डेलिगेसन आएका थियौं । तर, हल्ला मात्र भयो, समस्याको कुनै निकास पाउन सकिएन,' उनले भने ।
Comments
Post a Comment