सिके राउत : अतिवादी अंहकार

                                                                                           
01




   सीके राउत जनकपुरको माछा बजार बस्ने कुरा स्थानीयवासीलाई समेत थाहा थिएन । १९ माघमा जब एक दर्जन प्रहरीले डेराबाटै उनलाई पक्राउ गरे त्यसपछि माछाबजारका स्थानीयले राउत आफ्नै टोलमा बसेको थाहा पाए । ‘मधेश बेग्लै राज्य’ हुनुपर्ने माग सार्वजनिक कार्यक्रममार्फत राख्दै आएका उनलाई राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको हो । ‘एक दर्जन प्रहरीले गेटको ताला तोडेर पक्रिए,’ सामाजिक सञ्जालहरूमा पोस्ट गरिएको एउटा भिडियोमा उनले दाबी गरेका छन् । रातो गलबन्दी र गाढा निलो कोट लगाएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर गेटबाट बाहिर ल्याउँदै गर्दा उनका सहयोगीले उक्त भिडियो खिचेका थिए । त्यसपछि प्रहरीले उनलाई भ्यानमा राखेर सिराहा लगेको थियो । राउतलाई प्रहरीले यसअघि पनि विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण पक्राउ गरेको थियो । पहिलोचोटी २८ भदौ ०७१ मा उनलाई मोरङको रंगेलीबाट पक्रेर ‘राज्य विप्लव’को मुद्दा चलाइएको थियो । त्यसबेला मोरङ जिल्ला प्रहरी कार्यालयमा बयान गराई उनलाई काठमाडौं विशेष अदालत लगिएको थियो । गृह प्रशासनले राज्य विप्लवको मुद्दा दायर गर्दै कम्तीमा जन्मकैदको माग गरे पनि विशेष अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । तर, उनले धरौटीमा छुट्न अस्वीकार गरे । गृह प्रशासनले पुनः त्यही मुद्दा सर्वोच्चमा दर्ता गरायो । धरौटीमा छुट्न नमानेपछि राउतलाई डिल्लीबजार जेल चलान गरियो । जेलमा मानसिक/शारीरिक यातना गरिएको, अभिव्यक्ति स्वतन्त्रता हनन् गरिएको आदि मुद्दा उठाएर आमरण अनसन शुरु गरे । सर्वोच्चले पनि विशेष अदालतकै आदेशलाई सदर गर्दै धरौटीमा छोड्न भन्यो । राउतका समर्थकले धरौटीका लागि मधेशमा ‘एक रुपैयाँ संकलन’ अभियान चलाए । उक्त अभियानबाट उठेको रकम जम्मा गर्दै उनी धरौटीमा रिहा भए । १० मंसिर ०७१ मा उनी पुनः पक्राउ परे ।

Comments