रुकुमको सिस्नेमा न औषधि, न खाद्यान्‍न

रुकुमको सिस्नेमा न औषधि, न खाद्यान्‍न

मुसीकोट (रुकुम): मनकली विकले गर्भवती भएपछि पनि गह्रो काम गर्न छोडिनन्। गत मंसिर २१ गते रातभरि सुत्केरी बेथा च्याप्यो। अस्पताल लैजाने कुरा कसैले गरेनन्।
२२ गते बिहानपख घरमै बच्चा जसोतसो जन्मियो तर बच्चा जन्मिएको केही क्षणमा नै मनकलीको पाठेघरबाट अत्यधिक रक्तस्राब भएर उनको ज्यान गयो। गाउँका मान्छेले 'भूत लागेको' भन्दै पछिसम्मै पनि छोइछिटो गरे। धामीझक्री बसाले। 
यो घटना हो, रुकुमको उच्च पहाडी दुर्गम गाउँ सिस्नेको। यहाँ यसैगरी उपचार अभावमा बर्सिेनि धेरै आमा र बच्चाको ज्यान जान्छ। कति भीरबाट लडेर मर्छन् त कति त कुपोषणको सिकार बन्छन्।
सडक पुगेको छैन, बिजुली बलेको छैन, मोबाइल फोन कस्तो हुन्छ यहाँका सर्वसाधारणलाई थाहा छैन। जिल्लाको मात्रै होइन मध्यपश्चिम क्षेत्रकै चर्चित सिस्ने हिमालको फेदीमा पर्ने सिस्ने गाविसका बासिन्दा अहिले पनि आधारभूत विकासको पर्खाइमा छन्। यहाँ अन्धविश्वास यति छ कि मान्छेहरू अस्पताल होइन पहिलो भर देवतामा पर्छन्।
मनकलीका श्रीमान् बमबहादुर विक भन्छन्, 'गाउँमा एउटा अस्पताल त छ तर भनेको बेला चाहिएको औषधि कहिल्यै पाइँदैन। बरू देवता नै खुसी पारे निको हुन्छ जस्तो लाग्छ।' जिल्लामा सिस्ने हिमालको नामबाट धेरै संघसंस्था पनि खुलेका छन् तर ती संस्थले सिस्ने गाविस दुर्गम र टाढा छ भन्दै कुनै गतिविधि गरेको पाइँदैन। 

Comments