काठमाडौंः भारतले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सम्झौता भएकै भारतीय रुपैयाँ आयातमासमेत रोक लागेको छ । नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँग यस वर्ष ६ अर्ब भारु ल्याउने सम्झौता गरेको थियो ।
गत मार्चमा भारतीय रिजर्भ बैंकसँग गरिएको सम्झौतामध्ये हालसम्म नेपालले एक अर्ब २० करोड भारु मात्र ल्याएको छ । बाँकी रकम ल्याउने तयारी गर्दागर्दै भारत सरकारले ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय बजारमै साना दरका नोटको अभाव भएकाले भारतले नेपाललाई सम्झौता अनुसारको नोट अहिले दिन नसक्ने जवाफ पठाएको नेपाल राष्ट्र बैंक थापाथलीका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले जानकारी दिए ।
‘भारतीय रिजर्भ बैंकले जनवरी लागेपछि मात्र नेपाललाई भारु दिने÷नदिने विषयमा निर्णय दिने लिखत जवाफ पठाएको छ,' उनले भने, ‘डिसेम्बरसम्म यस विषयमा केही पनि निर्णय गर्न सक्ने अवस्था छैन ।' गत मार्चमा गरिएको उक्त सम्झौता अनुसार नेपालले दसैंको घटस्थापनाअघि करिब सवा अर्ब साना दरका भारु नेपाल भित्र्याएको थियो ।
बाँकी रकम ल्याउने पहल गर्दागर्दै ठूला दरका भारुमा प्रतिबन्ध लागेपछि भारतले साना दरका नोट पनि उपलब्ध गराउन नसक्ने जवाफ पठाएको हो । भारतको नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नेपालले सम्झौता अनुसारको रकम ल्याइसक्नुपर्ने व्यवस्था छ ।
सम्झौता गरिएको रकम एकै पटक ल्याउन राष्ट्र बैंक सक्षम छैन । भारु ल्याउने प्रक्रिया, बिमा सुरक्षा, पारवहनलगायतका व्यवस्था मिलाउँदै ठूला दरका नोटमा भारतले प्रतिबन्ध लगायो,' अधिकारीले भने, ‘यसपछि डिसेम्बरसम्म नेपाललाई भारु उपलब्ध गराउने÷नगराउने विषयमा कुनै निर्णय नगर्ने र सम्झौता अनुसार ल्याउन बाँकी रकम हाललाई नदिने भारतले बताएको हो ।'
नोट प्रतिबन्धपछि भारतमै भारु व्यवस्थापन गर्न अप्ठ्यारो परेको भारतीय पक्षबाट जवाफ आएको उनले जानकारी दिए । ‘अहिले साना दरका भारु व्यवस्थापन गर्न नसक्दा उनीहरूकै देशमा भारु सटही अस्तव्यस्त बनेको जवाफ आएको छ,' उनले भने, ‘पहिला आफ्नै देशको मुद्दा सल्ट्याएपछि नेपाल र भुटानका लागि के गर्न सकिन्छ त्यसपछि व्यवस्थापन गर्ने भारतले बताएको छ ।'
अबको एक÷डेढ महिनामा भारतले पनि केही निर्णय गर्ला र त्यसपछि भारु सहज हुने उनको भनाइ छ । नभए पनि ६ महिनासम्म पुग्ने भारु नेपालसँग छ, त्यसपछि भारतको स्थितिमा पनि केही सुधार आई सम्झौता अनुसारको नोट पनि उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
‘हामी भारतसँग बढी निर्भर छौं,' नुनदेखि औषधिसम्म भारतबाटै ल्याउँछौं र उपचार गर्न, पढ्न तथा तीर्थाटनका लागिसमेत भारत जाने ट्रेन्ड बढी छ,' उनले भने, ‘तालिम, तीर्थाटन तथा औषधोपचारका लागि जानेले वैकल्पिक उपाय खोज्नुपर्नेछ ।'
नेपालमा सम्भव हुने उपचार नेपालमै गर्ने, तीर्थाटनलाई पछाडि सार्ने, अहिलेलाई तालिममा सहभागी नहुने हो भने अहिलेको संटक टर्ने उनको भनाइ छ । नेपाली सेना तथा प्रहरीका धेरै मानिस नेपालबाट भारतमा तालिममा जाँदा एकमुष्ठ भारु साटेर लैजाने चलन छ । त्यस्ता तालिममा अहिले सहभागी नहुने र हुनै परे कार्डको प्रयोग गरी भारुको व्यवस्था गर्न अधिकारीले सुझाव दिएका छन् ।
Comments
Post a Comment