एमालेले रोक्यो संसद्


एमालेले रोक्यो संसद्
काठमाडौः संविधान संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाती भएको आरोप लगाउँदै प्रमुख विपक्षी एमालेले बिहीबार संसद् बैठक अवरुद्ध गरेको छ । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने सरकारी प्रस्ताव देश टुक्र्याउने षड्यन्त्र भएको भन्दै एमालेको अवरोधलाई नेकपा माले, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका थिए ।
संसद् बैठकमा विशेष समयमा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले सरकार आफंैले संविधान उल्लंघन गरी संशोधन प्रस्ताव ल्याएको आरोप लगाए । ‘पहाड र तराई अलग हुन् भन्ने बहुराष्ट्रिय सिद्धान्तको वकालत गर्नेलाई बल पुग्ने गरी संशोधन आएको छ', गौतमले भने, ‘अन्त्यमा तराई अलग राष्ट्र बनाउने षड्यन्त्र यसभित्र लुकेको छ ।'
संविधानको धारा २९६ र २७४ को दुरुपयोग गरी सरकारले सीमांकन परिवर्तनसम्बन्धी संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै गौतमले भने, ‘प्रदेशको सीमांकन परिवर्तन गर्ने अधिकार रूपान्तरित संसद्लाई छैन । यो संविधानको ठाडो उल्लंघन हो ।'
रूपान्तरित संसद्लाई प्रदेश अधिकारको सूचीमा हेरफेर गर्ने मात्र अधिकार भएको गौतमले दाबी गरे । संविधानको पालना गराउनुपर्ने सरकार आफैंले संविधान उल्लंघन गरेको आरोप लगाउँदै गौतमले भने, ‘संविधान उल्लंघन गर्ने सरकारलाई कुर्सीमा बस्ने अधिकार छैन ।'
भविष्यमा बन्ने प्रदेशको अधिकार कुण्ठित गर्न नमिल्ने तर्क गर्दै गौतमले रूपान्तरित संसद्ले मात्र सीमांकन परिवर्तनसम्बन्धी संशोधन गर्न नसक्ने दाबी गरे ।
संविधान कार्यान्वयन गर्न गाह्रो भएको भन्ने प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति पनि गौतमले आपत्ति जनाए । ‘संविधान कार्यान्वयन गाह्रो छ भन्नुको अर्थ यसको पालना गर्न गाह्रो छ भनिएको हो । या त प्रधानमन्त्रीले संविधान बुझ्नु भएन, या त बुझेर पनि त्यसको उल्लंघन गरिराख्नुभएको छ ।'
५ नम्बर प्रदेशको सीमांकन, भाषा, नागरिकता र राष्ट्रियसभा गठनसम्बन्धी संशोधन प्रस्ताव मुलुकको रष्ट्रियता, सार्वभौमसत्ता, अखण्डतासँग सम्बन्धित रहेको गौतमले बताए । ‘पहाड, हिमाल र तराईलाई एकआपसमा भिडाउन खोजेर के गर्न खोजिएको हो ? ' गौतमले प्रश्न गरे ।
सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधनको एजेन्डा कार्यसूचीमा नरहेको भन्दै एमालेलाई अवरोध नगर्न पटकपटक आग्रह गरेकी थिइन् । तर एमाले सांसदहरू आआफ्नो स्थानमा उभिएर अवरोध गरेपछि सभामुख घर्तीले संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गरेकी थिइन् ।

Comments