मंसिर १३, २०७३- अरुणको बिजुली बंगलादेशमा व्यापार । काठमाडौं–चिटगाउँ सीधा यातायात सम्पर्क । थिम्पुदेखि कोलाम्बोसम्म बिनारोकतोक सडक, रेल र जलयात्रा अनि नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका भन्सार प्रणालीको एकीकरण । कार्यान्वयनमा व्यवधान उत्पन्न नभए आगामी १० वर्षभित्र दक्षिण एसियाका ६ छिमेकी मुलुकहरू यसरी नै विभिन्न पूर्वाधार सञ्जालमा बाँधिनेछन् । त्यसका लागि ६ वटै मुलुकले आआफ्ना क्षेत्रमा आवश्यक कामसमेत अघि बढाइसकेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रभावकारी रूपमा अघि बढ्न नसके पनि सार्कभित्रकै यी मुलुकलाई जोड्ने विभिन्न परियोजना भने सुरु भइसकेका छन् । कतिपय परियोजना पूरा भइसकेका छन् भने केही पूरा हुने क्रममा छन् । क्षेत्रीय सञ्जाल विकास गर्न अघि बढाइएका कतिपय परियोजना भने सुरु भइसकेका छैनन् ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतका यी परियोजना तोकिएकै समयमा पूरा भए आगामी १० वर्षभित्र यस क्षेत्रको व्यापार सहजीकरण मात्र हुने छैन, क्षेत्रीय व्यापारको आयतनसमेत बढ्नेछ । दक्षिण एसिया विश्वमै सबैभन्दा न्यून क्षेत्रीय व्यापार हुनेमा पर्छ ।
हाल दक्षिण एसियामा ५ प्रतिशतभन्दा कम क्षेत्रीय व्यापार भइरहेको छ । तर, दक्षिण एसियाको छिमेकी दक्षिण पूर्वी एसियामा भने २५ प्रतिशत क्षेत्रीय व्यापार हुने गर्छ । यसलाई न्यूनीकरण गर्न यी परियोजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ‘जुलाई २०१६ सम्ममा सासेकअन्तर्गतका ४० परियोजनामा ७ अर्ब ७० करोड अमेरिकी डलर (करिब ८ खर्ब ४० अर्ब रुपैयाँ) खर्च भइसकेको छ,’ गत कात्तिक २२ गते सार्वजनिक गरिएको परियोजना परिचालनसम्बन्धी योजनामा उल्लेख छ, ‘जसमध्ये कतिपय परियोजना पूरा भइसकेका छन्, कतिपय भने प्रक्रियामा रहेका छन् ।’
Comments
Post a Comment