काठमाडौः सरकार र प्रमुख राजनीतिक दलले इलाकालाई स्थानीय तह निर्धारणको आधार बनाउने निर्णय गरे पनि त्यससम्बन्धी तथ्यांक उपलब्ध नगराइएको भन्दै स्थानीय तह पुनर्संरचना आयोगले असन्तुष्टि जनाएको छ । इलाका गठनको आधार, सिद्धान्त, जनसंख्या, भूगोल र पहुँचसम्बन्धी विषयको तथ्यांकगत अध्ययनबिना स्थानीय तहको पुनर्संरचनाको काम हुन नसक्ने आयोगले स्पष्ट गरेको छ ।
‘हामीलाई तथ्यांक उपलब्ध गराइदिएर काम अघि बढे पो निर्वाचनको आधार तय होला त', आयोग अध्यक्ष बालानन्द पौडेलले अन्नपूर्णसँग भने, ‘मुखले निर्वाचन भनेर मात्र भएन । बिनाआधार आयोगले पुनर्संरचनाको प्रतिवेदन तयार पार्न सक्दैन ।' सरकार र नेताहरूले चैतमा निर्वाचन गर्ने भने पनि आयोगले अझै इलाकालाई स्थानीय तहको आधार कसरी बनाउने भन्ने विषयमा अध्ययन नै सुरु गरेको छैन ।
‘स्थानीय विकास मन्त्रालयलाई तथ्यांक पठाइदिन भनेर हामीले तेस्रोपटक अनुरोध गरिसक्यौं', अध्यक्ष पौडेलले भने, ‘तर अझै प्राप्त गर्न सकेका छैनौं ।' आयोगले सुरुमा ५ सय ६५ को संख्यामा स्थानीय तहको संख्या निर्धारण गरी काम अन्तिम चरणमा पुर्याएपछि आयोगको उक्त तयारीप्रति सरकार र दलहरूले असहमति जनाएका थिए ।
उनीहरूले जिल्ला विकास समितिका इलाकालाई नै स्थानीय तहको आधार बनाउने सहमति गरेपछि आयोगले पुनः शून्यबाट कामको सुरुआत गर्नुपर्ने अवस्था छ । आयोग स्रोतका अनुसार पछिल्ला वर्षमा नयाँ नगरपालिका घोषणा गरेपछि केकति संख्यामा इलाका छन् भन्ने विषयमा सरकारसँग तथ्यांक नै छैन ।
स्थानीय विकास मन्त्रालय पनि तथ्यांक नभएका कारण पन्छिन खोजिरहेको स्रोतले बतायो । ‘जिल्लासँग हामीले नै विवरण मागिदिए हुन्थ्यो भन्ने मन्त्रालयको मनसाय देखिन्छ', आयोगका एक सदस्यले भने, ‘हामीले माग्दैमा जिल्लाहरूले विवरण दिन्छन् भन्ने पनि छैन । अर्कोतर्फ त्यसरी जाने हो भने विवरण संकलन गर्न नै हामीलाई बर्सौं लाग्छ ।'
आयोगका अध्यक्ष पौडेल चैतमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर आयोग काम गर्न तयार रहे पनि सरकार र दलहरूबाट सहयोग हुनुपर्ने बताउँछन् । ‘हामी इलाकाको तथ्यांक, गठन विधि, भूगोल, जनसंख्या, सेवा क्षेत्रका विषयमा तथ्यांक प्राप्त हुनासाथ रातदिन पनि काम गर्न तयार छौं', पौडेलले भने, ‘तर मुखले मात्र नभनी कामबाट आयोगलाई सहयोग हुनुपर्यो ।'
Comments
Post a Comment