'सबै चिच्याएपछि फनफनी घुमेर डुंगा डुब्यो

 'सबै चिच्याएपछि फनफनी घुमेर डुंगा डुब्यो'


चन्द्र तामाङ, प्रत्यक्षदर्शी, महमाई ७ इलाम
म र मेरी श्रीमती धान काट्दै थियौं । डुंगा चल्ने ठाउँ तीन सय मिटरजति टाढा थियो । बिहानैदेखि खोलामा मान्छेको दोहोरीलत्त थियो । करिब दुई सयभन्दा बढी मानिस आवतजावत गरिसकेका थिए । अन्तिमपटक होला, पारिपट्टि पचासजनाभन्दा बढी यात्रु थिए । उनीहरू डुंगा चढे ।
दहबाट डुंगा पार भएर महमाईतर्फ आउँदै थियो, बाटोमै ढल्पलायो । सबै चिच्याए । डुंगा पल्टियो । म पाँच मिनेटमै पुगें । पौडन जान्नेहरू उद्धार गर्दै थिए । खोलाकिनारमा रहेका विष्णु तामाङ, हेमन्त दनुवारलगायत स्थानीयले महमाईतिरका केहीलाई उद्धार गरिसकेका थिए । केही बगेर तल पुगेका थिए ।
दानाबारीको पाटोमा निक्कै मानिस थिए । एक महिलाले आफ्ना नानीहरू गुमाएपछि दुईपटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । अर्की एक महिला आफन्त गुमाएपछि बेहोस भएकी थिइन् । सबैको होस उडेको थियो । कोही केही भन्नसक्ने अवस्थामा थिएनन् ।
डुंगा पल्टिँदा पाँचको  मृत्यु
इलामको दानाबारी र महमाईबीच पर्ने माईखोलाको लोदिया दोभानमा शुक्रबार दिउँसो डुंगा पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा केही बेपत्ता भएको आशंका प्रहरी र स्थानीयले गरेका छन् । ५० भन्दा बढी यात्रुलाई माईखोला तार्दै गरेको बेला डुंगा पल्टिएको थियो ।
घटनास्थल पुगेका इलामका एसपी सुशीलकुमार यादवले अन्नपूर्णलाई टेलिफोनमा बेलुका अबेर दिएको जानकारीअनुसार अझै कतिजना बेपत्ता छन् भन्ने यकिन भएको छैन । ‘अहिले उद्धार र खोजीकार्य स्थगित गरेका छौं । शनिबार बिहान सबेरैदेखि फेरि खोजी सुरु गर्छौं', उनले भने ।
प्रहरीका अनुसार मृत्यु हुनेमा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीय हर्कबहादुर रानामगर र महमाई २ की ३९ वर्षीया पवित्रा पौड्याल छन् । करिब चार वर्षका एक बालकको भने सनाखत हुनसकेको छैन ।
स्थानीयले भने सातजनाको शव भेटिएको दाबी गरेका छन् । स्थानीय मोहन घिमिरेले भने, ‘माईखोलाको चेप्टीमा ६ जना र बिस्नेटारमा एकजनाको शव फेलापरेको छ ।' दिउँसो करिब एक बजेतिर डुंगा दुर्घटनामा परेपछि दानाबारी र महमाईका बासिन्दा बेपत्ताको खोजीमा जुटेका थिए ।
दानाबारीका महेन्द्र राईले उद्धार गरिएकामध्ये धेरै बेहोस अवस्थामा रहेकाले सबै कुरा नखुलेको बताए । घाइते अवस्थामा फेलापरेका १५ जनालाई उपचारका लागि झापा पठाइएको जानकारी उनले दिए । प्रहरी निरीक्षक रुद्र चुडालले साँझसम्ममा २० महिला र १४ पुरुषको उद्धार गरिएको जानकारी दिए । डुंगामा दसैंको टीका लगाएर फर्किएका र टीका लगाउन हिँडेका यात्रु थिए ।
उक्त खोलामा तीनवटा डुंगा सञ्चालन हुँदै आए पनि एउटा डुंगा केही महिनादेखि बन्द थियो । हाल दुईवटा सञ्चालनमा छन् । डुंगा कतै दर्ता नभई सञ्चालनमा आउने गरेका छन् । राजा महेन्द्र सोक्तिम चिया बगानको अवलोकनमा आउँदा माईखोलामा पुल हाल्ने घोषणा गरे पनि सर्वसाधारणले अझसम्म जोखिमपूर्ण यात्रा गर्नुपर्दा अकल्पनीय दुर्घटना भएको स्थानीय शिक्षक गोपाल घिमिरेले बताए ।
‘हाम्रा बाहरूलाई भेला पारेर महेन्द्रले दिएको आश्वासन अहिलेसम्म पूरा नहुँदा अकल्पनीय दुर्घटना बेहोर्नुपर्‍यो', उनले भने । दुर्घटनास्थल नजिकै तीन वर्षदेखि सुरु भएको पुलको निर्माणकार्य अझै सकिएको छैन ।

Comments