सत्य हो, उमेर पाँच दशक नाघिसक्दा पनि राजेश हमालको भाउ घटेको छैन । विदेशका सांस्कृतिक कार्यक्रमदेखि स्वदेशका मेला–महोत्सवमा उनलाई भ्याइनभ्याइ छ । सत्य यो पनि हो कि, अब फिल्ममा चाहिँ राजेशको क्रेज करिब शून्यमा झरेको छ । एकातिर फिल्मै नपाउनु, अर्कातिर पाएका एकाध फिल्मको दयनीय व्यापारले यस्तै देखाउँछ । उनको कमब्याक भनेर ढोल पिटिएको वाग्मतीको बक्स अफिसमा प्रदर्शन लज्जास्पद रह्यो ।
कतिसम्म भने उनलाई पहिलो पटक महिला लुक्समा देखाइएको फिल्म शकुन्तलाले पनि दर्शकलाई रिझाउन सकेन । उनले सारीचोलो, लिपिस्टिक र चुरा लगाएर दर्जनौँ गुन्डालाई भकाभक ढालेको दृश्य दर्शकलाई पचेन सायद । त्यसैले त १२ भदौमा प्रदर्शित यस फिल्मले निर्माताको गोजी रित्याउनेबाहेक दोस्रो काम गरेन । जबकि, यसले बिग ब्यानरका अरु फिल्मसँग जुध्नुपरेको थिएन । फिल्म यसरी फ्लप भयो, निर्माता महेश्वर खत्री पुर्पुरोमा हात राखेर बसेका छन् । तर, राजेशलाई वाल मतलब ! प्रदर्शनको मुखैमा अमेरिका हानिएका उनी अझ स्वदेश फर्केका छैनन् ।
Comments
Post a Comment