भाद्र ३१, २०७३- कामका लागि विदेश जाँदै हुनुहुन्छ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ। गन्तव्य मुलुक पुगेर तपाइर्ं एयरपोर्टबाटै फोन गर्न सक्नु हुन्छ। त्यो पनि पीसीओबाट हैन, आफ्नै मोबाइलबाट।
श्रम स्वीकृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन्। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ। अरू कम्पनीले पनि चाँडै नै सुरु गर्दै छन्। उनीहरूले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन्।
'नेपालमा विदेशी सिमकार्ड ल्याएर बिक्री गर्न ७ कम्पनीले अनुमति पाएका छन्,' नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, 'तर सबैले सेवा सुरु गरिसकेका छैनन्।' यसरी अनुमति पाएकाहरूमा हाइल्यान्ड इन्टरनेसनल, सीएम ट्रेडिङ इन्टरप्राइजेज, ओरेन्ज इन्टरनेसनल, टेली कनेक्ट, सिद्धि विनायक इन्टरप्राइजेज, सीजी नेटक्लाउड र हाइलाइट्स नेपाल प्रालि छन्।
सातै कम्पनीले विदेशी कम्पनीका सिमकार्ड नेपालमा ल्याएर बिक्री गर्न पाउनेछन्। तर उनीहरूले नेपालमा 'एक्टिभ' हुने र 'रोमिङ' सुविधा भएका सिमकार्ड बेच्न पाउँदैनन्। प्राधिकरणले यी कम्पनीलाई ९ बुँदे सर्तसहितको अनुमतिपत्र दिएको छ। गृह मन्त्रालय र नेपाल प्रहरीसँगको छलफलपछि सुरक्षामा कुनै असर नपर्ने गरी अनुमति दिएको प्रवक्ता अर्यालले बताए। सिमकार्ड बिक्री गर्दा प्रयोगकर्ताको सम्पूर्ण विवरण सरकार र प्रहरीलाई समेत दिनुपर्ने व्यवस्था गरिएको छ।
विदेशी सिमकार्ड बिक्रेताले १ हजार नेपाली रुपैयाँभन्दा बढी ब्यालेन्स भएको सिमकार्ड पनि बिक्री गर्न पाउँदैनन्। कामदारले आफूले नेपालमा किनेको सिमकार्ड सम्बन्धित मुलुकमा पुगेपछि 'एक्टिभ' हुनेछ। नेपाली बिक्रेताले कामदारको सबै विवरण अनलाइनमार्फत सम्बन्धित कम्पनीलाई पठाइदिने भएकाले उनीहरूले विमानस्थलबाटै परिवारलाई फोन गर्न सक्छन्।
अनुमति पाएकामध्ये हाइल्यान्ड इन्टरनेसनलले सिमकार्ड वितरण सुरु गरिसकेको छ। उसले कतार जाने कामदारका लागि भोडाफोन कम्पनीको सिमकार्ड उपलब्ध गराउन थालेको हो। चाँडै अन्य कम्पनी र मुलुकका सिमकार्ड पनि वितरण गर्ने उसले जनाएको छ।
हाइल्यान्डले बोलपत्रमार्फत विमानस्थलमा एक वर्षका लागि बिक्रीस्थल लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जनाए। 'उहाँहरूले अहिले सित्तैमा सिमकार्ड दिइरहनुभएको छ,' उनले भने, 'बोलपत्रमा अरू कम्पनीले पनि भाग लिएका थिए, सबैभन्दा बढी रकम कबुल गर्नेले पाएको हो।' हाइल्यान्डले ७० लाख रुपैयाँमा एक वर्षका लागि अन्तर्राष्ट्रिय टर्मिनलभित्र बोर्डिङ पास लिने स्थान नजिकै तीन वर्गमिटर क्षेत्रफल भाडामा पाएको हो।
हाइल्यान्डको फेसबुक पेजमा दिइएको जानकारीअनुसार कतार जाने कामदारले श्रम स्वीकृति, सक्कल राहदानी र भिसा देखाएर सिमकार्ड लिन सक्नेछन्। यस्तो सिमकार्डमा ५ कतारी रियाल ब्यालेन्स हुन्छ। यसबाट ३ महिनासम्म १ सय मेगाबाइट प्रतिमहिनाका दरले सित्तैमा इन्टरनेट चलाउन मिल्छ भने ३ महिनासम्म हरेक महिना ५ मिनेटका दरले नेपालमा सित्तैमा फोन गर्न सकिन्छ।
सिमकार्ड बिक्रीको अनुमति पाएका अरू कम्पनीले पनि चाँडै सेवा सुरु गर्ने जानकारी गराएको प्राधिकरण प्रवक्ता अर्यालले बताए। नेपालबाट हरेक दिन करिब १५ सय कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन्।
Comments
Post a Comment