भाद्र २२, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उपाध्यक्ष जितेन्द्रनारायण देवलगायत केही आकांक्षीले मन्त्री बन्न अध्यक्ष विजयकुमार गच्छदारले नसघाए पार्टी फुटाउने धम्की दिएसँगै विवाद सतहमा आएको हो ।
गच्छदारले पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरूले कृत्रिम विवाद खडा गरेको जिकिर गरे । ‘यो सरकारमा हाम्रो पार्टी जाने भन्ने निर्णय कार्यसम्पादन समिति र संसदीय दल बैठकमा भइसकेको छ, प्रधानमन्त्रीले पनि भारतबाट फर्केपछि मधेसवादी दल र हाम्रो दललाई सरकारमा लैजाने भन्नुभएको छ,’ गच्छदारले बुधबार तीनकुनेस्थित मुख्यालयमा भने, ‘तर कसैले प्रायोजित रूपले कृत्रिम विवाद खडा गर्दैछ, मन्त्री बन्ने तीव्र इच्छा राखेरमात्रै हुन्छ ? पहिले कुन–कुन मन्त्रालय पाउने टुंगो लाग्नुपर्यो नि ।’
मन्त्री बन्ने लोभमा पार्टीलाई कसैले हानि/नोक्सानी पुर्याउन नपाउने गच्छदारले बताए । ‘सम्मानजनक स्थिति’ बने आफू पनि सरकारमा जान सक्ने उनले संकेत गरे । ‘हाम्रो पार्टी राप्रपाभन्दा ठूलो हो, त्यसअनुसारको सम्मानजनक स्थिति नभए पन्छी उडाउनमात्रै जाने सरकारमा ?’ उनले थपे, ‘पार्टी फुटाउनेसम्मका कुरा आएका छन्, यो के हो भन्नेबारे अविलम्ब पार्टी बैठक बोलाएर म स्पष्ट हुन्छु ।’
गच्छदारजीले उपप्रधानमन्त्रीको पुरानो माला धेरै पटक लगाउँदा बिग्रिने खतरा भयो, अब फेरि लगाउनुको साटो प्रधानमन्त्री वा राष्ट्रपति बन्न लाग्नुपर्छ : जितेन्द्र देव
मलाई प्रधानमन्त्री वा राष्ट्रपति बन्न जितेन्द्र देवको सहयोग आवश्यक छैन । उहाँलाई मन्त्री चाहिएको हुनाले यो सबै गरिराख्नुभएको छ : विजय गच्छदार
उपाध्यक्ष जितेन्द्र देवले मंगलबार कान्तिपुर टीभीमा बोल्दै तीन पटक उपप्रधानमन्त्री भइसकेका गच्छदारलाई ‘पुरानो माला धेरै पटक लगाउँदा बिग्रिने भएकाले अब फेरि नलगाउन’ सल्लाह दिँदै आफ्नो पालो आएको संकेत गरेका थिए ।
देवले गच्छदार अब ‘प्रधानमन्त्री वा राष्ट्रपति बन्नुपर्ने हैसियतमा पुगिसकेको भन्दै बरु त्यसका लागि आफूले आवश्यक खुन पसिना बगाउने’ समेत बताएका थिए । देवको यो टिप्पणीप्रति क्रुद्ध गच्छदारले बुधबार जवाफ फर्काए, ‘मलाई प्रधानमन्त्री वा राष्ट्रपति बन्न जितेन्द्र देवको सहयोग आवश्यक छैन । उहाँलाई मन्त्री चाहिएको हुनाले यो सबै गरिराख्नुभएको छ ।’
प्रधानमन्त्री दाहालसँग दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने समझदारी बने पनि मन्त्रालय टुंगो नलाग्दा ढिला हुन पुगेको गच्छदारले बताए । उनले ओली सरकारमा सम्हालेकै मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् । ओली मन्त्रिपरिषद्मा उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासचिव रामजनम चौधरीले स्वास्थ्य मन्त्रालय पाएका थिए । यसपटक ती मन्त्रालयमा कांग्रेस नेता रमेश लेखक र गगन थापाले पाइसकेकाले दाहालले बाँकी मन्त्रालय रोज्न भन्दै आएका छन् । गच्छदार भने कम भूमिका भएका मन्त्रालय लिएर चुनावमा जान नसकिने भन्दै बार्गेनिङ गरिरहेका छन् ।
संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ । यसअघिको केपी ओली सरकारलाई ‘अन्तिम घडीसम्म सघाउने’ निर्णय गरेको यो दलले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आउने पक्का भएपछि अन्तिम समयमा दाहाललाई नै समर्थन दिएको थियो । गच्छदारले संविधान कार्यान्वयन र चुनावका लागि सहमतिको वातावरण बनाउन प्रधानमन्त्रीलाई सघाउन तयार रहेको दोहोर्याएका छन् । संविधान संशोधनका लागि एमालेको समेत सहमति चाहिने भएकाले आफूले केही दिनभित्रै अध्यक्ष केपी ओलीलाई भेट्नेसमेत उनले बताए ।
Comments
Post a Comment