कुरा तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यको बिहे प्रसंगको हो। विवाहपूर्व नै ऐश्वर्यराज्यलक्ष्मी राणालाई युवराज्ञी पद्वीबाट
विभूषित गरसिकिएको थियो। राजा महेन्द्रले युवराज वीरेन्द्रको विवाह धूमधामसँग गर्ने भनेर सबै प्रबन्ध मिलाएका थिए। काठमाडौँमा भव्य तयारी थियो। मानिसहरू धेरै टाढाटाढाबाट आएका थिए। एक किसिमको कौतूहल पनि थियो, युवराजको बिहे प्रसंगलाई लिएर।
गृह पञ्चायत तथा सूचना प्रसार सचिव भएका नाताले विवाह प्रसंगमा मेरो काँधमाथि ठूलो बोझ थियो। खासगरी युवराज वीरेन्द्रको मनसाय विश्व सञ्चारमाध्यमले आफ्नो विवाह उत्सवको राम्रो 'कभरेज' गरून् भन्ने थियो। तर, निश्चित बजेटभित्र बसेर काम गर्नुपर्ने बाध्यताले मलाई मुस्किल पारेको थियो।
जुद्ध शालिकछेउ भर्खरै मात्र क्रिस्टल होटल बनेको थियो। तर, त्यसका मालिक फौजदारी अभियोगमा पक्राउ परे। त्यही होटलमा विदेशी पत्रकारहरूलाई निःशुल्क बस्ने व्यवस्था मिलाइएको थियो। युवराज वीरेन्द्रको बिहेको कार्यक्रम कभरेज गर्न भनेर विश्वका धेरै देशबाट पत्रकारहरू आएका थिए।
नेपालमा भने भर्खर मात्र सञ्चारमा नयाँ युगको सुरुवात भएको थियो। श्वामश्वेत तस्बिर सीधै पठाउन मिल्ने व्यवस्था पनि यसैबेलादेखि नेपालमा सुरु भएको मानिन्छ। साथसाथै, सञ्चारका क्षेत्रमा नयाँ जागरणको पनि थालनी भएको थियो। सूचना प्रसार सचिवका नाताले मैले र त्यसैका निम्ति गठन भएको समितिले पाएको जिम्मेवारी अनुसार विभिन्न देशका सञ्चार माध्यमसँग सम्पर्क गरेर युवराजको विवाह उत्सवमा सहभागी हुन धेरै सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको थियो। विश्वका धेरै देशबाट छापाका अतिरत्तिm टेलिभिजन पत्रकारहरूको पनि ओइरो लागेको थियो।
त्यसबेलाका टेलिभिजन क्यामरा एक जना मानिसले बडो धौधौले बोक्थे। अर्थात्, ज्यादै भद्दा र असहज थिए। त्यस्तै स्टिल क्यामरा पनि छरतिा थिएनन्। यस्तोमा उनीहरूका लागि सहज र सुविधाजनक बसोबासका अतिरत्तिm विवाह र स्वयंवरका अवसरमा सहज किसिमले पहुँच पुर्याउने प्रबन्ध मिलाउनु उत्तिकै असजिलो थियो।
यत्तिकैमा राजा महेन्द्र सिंहदरबारस्थित स्टेट हल, जो स्वयंवरका लागि निश्चित गरएिको थियो, को अनुगमनका लागि निस्किएका रहेछन्। उनले मलाई अह्राए, "स्वयंवरको कार्यक्रममा फोटो पत्रकारका रूपमा दुई जनालाई मात्र प्रवेश दिनू, रासस र दरबारका फोटोग्राफरलाई।" त्यसको केही क्षणपछि युवराजका अनुचरहरूले फोन गरेर 'विदेशका यत्रा पत्रकारहरूलाई निम्तो गरएिको छ, यत्राविधि टेलिभिजन पत्रकारहरू आएका छन्, उनीहरूलाई तस्बिर खिच्न नदिएर हुन्छ ? विदेशी पत्रकारहरूलाई पन्छाउन कहाँ मिल्छ ? जसरी हुन्छ, सबैलाई उत्सवको कभरेज गर्न दिनुपर्छ भन्ने युवराजबाट हुकुम भएको छ' भने।
म त जिल खाएँ, रनभुल्लमा परेँ। चिटचिट पसिना पनि आयो। अब के गर्ने, कसो गर्ने भन्ने द्विविधामा परेँ। राजाको आदेश त शिरोपर गर्नु नै थियो तर यसो भनेर युवराजको आदेश पनि टाल्न मलाई अप्ठ्यारो पर्यो। विदेशी मात्र होइन, नेपालकै पनि केही पत्रकारहरू त्यहाँ पुगेका थिए। उनीहरूलाई पनि कार्यक्रमस्थलबाट बाहिर राख्नु भएन। त्यसो गरयिो भने त भोलि झन् बबाल हुन्छ।
त्यसपछि म सरासर विवाह प्रबन्ध समितिका अध्यक्ष दरबारका बडाकाजी पुष्पराजकहाँ गएर एउटा उपाय सुझाएँ। मैले भनेँ, "मैले स्टेट हलको निरीक्षण गरेँ। अब युवराजको आदेश पनि टाल्नु भएन। हलको दक्षिणपट्ट िमाथिल्लो तलामा दुईवटा झ्याल छन्, त्यहाँ अमेरकिी, जर्मनी, बेलायत र जापानका टीभी पत्रकारलाई राखेर प्रत्यक्ष भिडियो खिच्न दिने हो भने समस्या नआउला। नेपालीलगायत अन्य पत्रकारहरूका लागि स्वयंवर स्थलमा जाने बाटोमा लहरै राखेर तस्बिर खिच्ने व्यवस्था मिलाऔँ। राजाको पनि मान हुने, युवराजको पनि चित्त नदुख्ने। यसो गर्दा कसो होला ?" बडाकाजीले उत्तर दिए, "तपाईंले भने अनुसार गरे ठीकै होला। म के भनूँ !" उनले एक किसिमले जवाफदेही नहुने किसिमको रकमी उत्तर फर्काएपछि मैले त आँट गर्नैपथ्र्यो। किनभने, तिनीहरूप्रति त म नै जवाफदेही हुनुपथ्र्यो।
स्वयंवरका लागि सिंहदरबारस्थित स्टेट हल तय भएको थियो। बेलायती कक्ष, राजपरविारका सदस्यहरूको बैठक कक्षपछि स्टेट हल आउँथ्यो। ढोकाबाट भित्र पस्नासाथ दायाँपट्ट िराजपरविार, बीचमा फोहरा र बायाँपट्ट िदुलही पक्षका मानिसहरूको बस्ने प्रबन्ध मिलाइएको थियो। स्वयंवरका दिन राजा महेन्द्र सरासर स्टेट हलमा पुगे र वरपिर िघुमेर हेरे। उनको नजर माथि झ्यालमा तेर्सिएका सानातिना हौजर तोपका मोहराजस्ता लाग्ने झ्यालबाट तेर्सिएका टीभी क्यामरामा पर्यो। म त लल्याकलुलुक भएँ। तर, महेन्द्रले त्यो देखेर पनि नदेखेजस्तो गरे। केही बोलेनन्।
यसरी ठूलो धनराशि खर्चका साथसाथै महत्त्व दिएर नेपाल आएका विदेशी पत्रकारको स्वयंवर एवं विवाह उत्सव कभरेज गर्ने मनसुवा पूरा गर्न सकेँ। साथसाथै, युवराज र राजाबीच पनि गलफत्ती हुन पाएन। राजा र युवराजबीचको यस असमझदारीलाई कुरा लगाएर चर्काउनु पनि भएन। बीचको बाटो अपनाएर समाधान गर्नु नै बुद्धिमानी ठहथ्र्यो। र, मैले गरेँपनि त्यही। यसरी आफ्नो ठूलो समस्या टार्न सकेकामा पछिसम्मै मलाई सन्तुष्टि मिलिरह्यो।
प्रस्तुति : ईश्वरी ज्ञवाली
Comments
Post a Comment