निगमको दुबै जहाज घटना छानविन हुने



भाद्र २८, २०७३- नेपाल वायु सेवा निगमको विमान अवतरण सकेर धावनमार्गबाट पार्किङ–वेमा छिर्ने बेलामा पांग्रा ब्रस्ट हुदाँ मंगलबार एक घण्टा विमानस्थल बन्द भयो । 
दिल्लीबाट परराष्ट्रमन्त्री प्रकाशशरण महतसहित १ सय ५२ यात्रु बोकेर आएको एयरबस नाइन एन–एके एक्स कल साइनको विमानको पांग्रा ब्रस्ट हुँदा दिउँसो १२ बजेर ४५ मिनेटदेखि १ बजेर ४८ मिनेटसम्म धावनमार्ग बन्द गरिएको थियो । 
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उत्तरतर्फको पहिलो ट्याक्सी–वे (अल्फा) बाट छिर्नै लाग्दा बायाँ तर्फको पछाडिको एउटा पांग्रा ब्रस्ट भएपछि विमानस्थल एक घण्टाका लागि बन्द गरिएको थियो । ‘निगमको जहाजको केही भागले धावनमार्गलाई समेत असर पारेकाले विमानस्थल बन्द गर्‍यौं,’ प्रवक्ता ठाकुरले भने। 
निगमस्रोतका अनुसार जहाज ट्याक्सी–वेबाट अगाडि बढ्न नसक्ने भएपछि त्यहीँ ठाउँबाट यात्रुहरूलाई ओरालेर र्‍यामबसमार्फत टर्मिनल भवनमा ल्याइएको थिया। यात्रु सबै ओरालेपछि जहाजलाई ट्याक्टरले तानेर निगमको ह्यांगरमा पुर्‍याइएपछि विमानस्थल खोलिएको थियो। 
धावनमार्ग नजिकै एयरबस अडिएपछि मंगलबार ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेश ढाका र साराजाहबाट आएको एयर अरबिया लखनउ डाइभर्ट भएका थिए। त्यसैगरी आन्तरिकतर्फ तारा एयरका दुइटा विमान सिमरा, बुद्ध एयर भैरहवा र यतीको अर्को विमान विराटनगर डाइभर्ट भएका थिए। भुटानबाट आएको ड्रयुक एयर र भारतबाट आएको इन्डिगो भने आकाशमै होल्डमा राखिएका थिए। 
क्याप्टेन विजय लामाले उडाएको यस यस घटनामा यात्रु र चालकदलका कसैलाई पनि केही भएन। निगमका प्रवक्ता रामहरि शर्माका अनुसार पांग्रा ब्रस्टका कारण मंगलबार निगमले आफ्नो हककङ उडान स्थगित गर्‍यो। ‘एउटा सेक्टर मात्रै रद्द गर्‍यौं, राति नै पांग्रा फेरेर जहाज दुबई उडानका लागि तयार भइसकेको छ,’ प्रवक्ता शर्माले भने। लुम्बिनी नाम गरिएको यो जहाजको यात्रु क्षमता १ सय ५८ हो। 
यसैबीच आइतबार साँझ दिल्लीमा आकस्मिक अवतरण गरेको विमान उतै मर्मत भइरहेको छ। सगरमाथा नामको उक्त एयरबसको फ्ल्यापमा समस्या देखिएपछि काठमाडौंतर्फ आउँदै गरेको उक्त विमान २५ मिनेटमै पुन: दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गर्न पुगेको थियो। उक्त विमानलाई एयर इन्डियाका प्राविधिकहरूले मर्मत गरिरहेका छन्। काठमाडौंबाट निगमले एक विदेशी इन्जिनियर, पाइलटसहित तीनजना कर्मचारीलाई सोमबार दिल्ली पठाएको थियो। उक्त टोली सोमबार साँझै काठमाडौं फर्किसकेको छ । 
१५ दिनअघि यही विमानको पनि हङकङबाट काठमाडौं आउने क्रममा पछाडिको पांग्रा ब्रस्ट भएको थियो। यात्रु ओर्लेर गइसकेपछि राति प्राविधिकहरूले जहाजलाई चेक गर्दा मात्रै पांग्रा ब्रस्ट भएको थाहा भएका थियो ।  हिमालय एयरको पांग्रा राखेर यो विमान उडाइएको थियो।
यसैबीच दिल्लीमा ग्राउन्डेड विमान र काठमाडौंमा अवतरणका क्रममा टायर ब्रस्ट भएको घटनाबारे छानबीन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ६ सदस्यीय छानबीन समिति गठन गरेको छ। मन्त्रिस्तरीय निर्णय अनुसार गठन गरिएको समितिले निगमका जहाजमा देखिएको लापरवाहीमा संलग्न उपर कारवाहीका लागि सिफारिस गर्नुपर्नेछ।


http://bit.ly/2cjbNKf

Comments