मनीषा कोइराला, अभिनेत्री हाम्रो पुख्र्यौली घर विराटनगरस्थित कोइराला निवास भए पनि मेरो जन्म बनारसमा भएको हो । बनारसमै मेरो बाल्यकाल बित्यो । बनारसमा म हुर्किएको त्यो घरमा १५–२० वटा कोठा थिए । हजुरबुबाको सुरक्षाका लागि त्यहाँ १०–१२ जना सुरक्षाकर्मी तैनाथ थिए । मेरो झझल्कोमा विराटनगरको कोइराला निवासभन्दा बढी बनारसकै त्यही घर आउँछ । त्यसो त मैले आफ्नो जीवनमा थुप्रै पटक घर तथा फ्ल्याट परिवर्तन गरिसकेकी छु । तैपनि बनारसको उक्त घरलाई मैले अझै बिर्सन सकेकी छैन । मेरा हजुरबुबा बीपी कोइराला राजनैतिक कारणले बनारसमा निर्वासित हुनुभएको थियो । त्यहाँ हाम्रो संयुक्त परिवार थियो । त्यो घरमा मेरा हजुरबुबा–हजुरआमासँगै मेरा बुबा–आमालगायत काका–काकी तथा उहाँका छोराछोरी सबै संयुक्त रूपमा बस्थ्यौं । त्यही परिवेशमा मेरो स्कुले जीवन बितेको हो । मैले बनारसकै बसन्त कन्या विद्यालयबाट स्कुले शिक्षा पूरा गरेकी हुँ । त्यतिबेला मलाई स्कुल लान–ल्याउन हजुरबुबाले एउटा रिक्साको व्यवस्था गरिदिनु भएको थियो । त्यो घरमा नियमितजसो राजनैतिक, साहित्यिक जमघट भैरहन्थ्यो । त्यहाँ हुर्किएका हामी कोइरालाहरूमध्ये कोही चिकित्सक, कोही राजनैतिक नेता, कोही के, कोही के बन्न पुग्यौं । ममात्र चलचित्र क्षेत्रमा होमिएँ । हजुरबुबाले ममा साहित्यप्रति रुचि जगाउन बाल्यकाल देखिनै प्रेमचन्द, शिवानी, अमृता प्रितम जस्ता लब्ध प्रतिष्ठित लेखकहरूको पुस्तक पढ्न प्रेरित गर्नुहुन्थ्यो । म ती लेखक–लेखिकाका पुस्तक त्यही घरको बार्दलीमा बसेर पढ्थें । त्यही घरमा मलाई कत्थक नृत्य सिकाउन एक जना गुरु आउनुहुन्थ्यो । वास्तवमा भन्ने हो भने ती दिन मेरा लागि निकै रमाइला थिए । त्यही घरमा मैले आफ्नो समृद्ध इतिहास, संस्कृति एवं वैचारिक मूल्यसँग परिचित हुने अवसर प्राप्त गरेँ । अहिले त्यो घरमा म वा हाम्रो परिवारका कुनै सदस्य नभए पनि त्यो घरप्रति म आजीवन कृतज्ञ रहनेछु ।
Comments
Post a Comment