भाद्र २४, २०७३- कर्णालीबासीलाई जन्म र मृत्युमा २० किलो नि:शुल्क चामल उपलब्ध गराउने सरकारको निर्णयको कर्णालीमा विरोध हुन थालेको छ । एमाले निकट अनेरास्ववियू जुम्लाले शुक्रवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० केजी चामल पठाएका छन् ।
अनेरास्ववियू जिल्ला अध्यक्ष लोकेन्द्रराज गिरीसहितको टोलीले निमित्त प्रजिअ विष्णुप्रसाद न्यौपानेमार्फत २० किलो चामल प्रधानमन्त्रीलाई पठाएका हुन् । प्रधानमन्त्रीको घोषणाको विरोधमा चालम पठाएपछि गिरीले भने,‘कर्णालीलाई चामल होइन, विकास चाहिएको हो ।’
प्रधानमन्त्री दाहालले बिहीबार संसदमा सम्बोधन गर्दै कर्णालीमा जन्म र मृत्यु संस्कार गर्न प्रति परिवार २० किलो चामल अनुदान दिने घोषणा गरेका थिए ।
विद्यार्थीले चामलसहित बुझाएको ज्ञापनपत्रमा कर्णालीको विकासको लागि यहाँको स्रोत साधनको परिचालन हुनुपर्ने र शिक्षा, स्वास्थ्य, रोजगारी र यातायातमा ध्यान दिनुपर्ने माग गरिएको छ ।
विद्यार्थीहरुले प्रधानमन्त्रीलाई कर्णालीमा फल्ने कालीमासी धानको चामल पठाएका हुन् । कालीमाली विश्वकै अग्लो स्थानमा फल्ने धान हो ।
Comments
Post a Comment