फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो


भाद्र ३०, २०७३- नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार जारी गरिएको फिफा वरीयतामा दुई स्थान उक्लिदै १ सय ८६ औं स्थानमा पुगेको छ ।
सिनियर टिमले चार वर्षयता खेलेका अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले यसपाली ७४ अंक जोडेको छ । बंगबन्धु गोल्डकप च्याम्पियन नेपाल अफगानिस्तानसहित दक्षिण एसियाली आठ देशमध्ये पाँचौं स्थानमा छ । यस क्षेत्रामा अफगानिस्तानलाई उछिन्दै साफ च्याम्पियन भारत शीर्षस्थानमा उक्लियो ।
चार स्थान फड्को मारेको भारत १ सय ४८ औं स्थानमा छ भने ठीक एक स्थानमुनि अफगानिस्तान । अफगानिस्तान पनि एक स्थान उक्लिएको हो । यी दुई टिमले केरलामा गत बर्ष भएको साफ च्याम्पियनसिपको फाइनल खेलेका थिए ।
माल्दिभ्स नौ स्थानमाथि १ सय ६५ औंमा पुगेको छ । दुई स्थान झरेको बंगलादेश १ सय ८५ औंमा छ । नेपालभन्दा पछाडि भुटान (१८९), श्रीलंका (१९३) र पाकिस्तान (१९४) छन् । नोभेम्बर, २०१६ मा मलेसियामा हुने सोलिडारिटी कपमा नेपाल, श्रीलंका, पाकिस्तानसहित आठ वा नौ देशले प्रतिस्पर्धा गर्दैछन् ।

Comments