सुकेटार विमानस्थलः रूप फेरियो, व्यथा फेरिएन

सुकेटार विमानस्थलः रूप फेरियो, व्यथा फेरिएन


ताप्लेजुङः बाह्रै महिना सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गरिएको भनिएको ताप्लेजुङको सुकेटार विमानस्थल सदाझैं यो वर्ष पनि वर्षायाममा ठप्प बन्यो । दुई वर्षसम्म हवाई उडान पूरै ठप्प बनाएर स्तरोन्नति गरिएको विमानस्थल तीन महिनादेखि पूरै बन्द रहँदा ताप्लेजुङवासी समस्यामा छन् ।
यात्राको एकमात्र विकल्पका रूपमा रहेको मेची राजमार्गसमेत यो वर्ष पहिरोका कारण लगातार अवरुद्ध बनिरहेको छ । हप्ता दिन लगाएर पन्छाएको पहिरो पुनः झरेर सडक पुरिरहने समस्याले मेची राजमार्गको यात्रा ताप्लेजुङवासीका लागि समस्यामूलक बनिरहेको छ ।
दोहोरो धावनमार्ग बनाई कालोपत्रे गरेर तयार पारिएको विमानस्थल पनि यस बेला सञ्चालनमा नहुँदा आफूहरू दोहोरो मारमा परेको ताप्लेजुङ बजारका बालमणि बराल बताउँछन् ।
सुकेटारमा तीन वर्षअघिसम्म दक्षिणी मोहडाबाट मात्र जहाज अवतरण गराउन सकिन्थ्यो । तर, अहिले उत्तर दक्षिण दुवै मोहडाबाट जहाज अवतरण गराउन सकिन्छ । अझ त्यसपछि विमानस्थललाई कालोपत्रे पनि गरेर चिटिक्क बनाइएको छ ।
यति गर्दा पनि समस्या जस्ताको तस्तै रहेको र दुर्गमका बासिन्दाको दुःख नफेरिएको बराल बताउँछन् । सडक र हवाई यातायात दुवै भरपर्दो नहुँदा विशेषगरी अस्पतालले रेफर गरी बाहिर पठाएका बिरामीलाई सकस परेको उनले सुनाए ।
कालोपत्रेको काम सम्पन्न भएपछि पुसबाट सञ्चालनमा आएको विमानस्थलमा पाँच महिनापछि पुनः खराब मौसमको कारण देखाउँदै गत जेठ १९ गतेबाट उडान ठप्प पारिएको छ ।
पर्यटकीय सिजन सुरु भइसक्दा पनि विमानस्थल सुचारु नहुँदा आफूहरूको व्यवसाय चौपट भएको सुकेटारका ओमप्रकाश राईले बताए । विमानस्थलको रूप फेरिएसँगै आफ्नो व्यवसाय पनि फस्टाउने आसमा बसेका उनी वर्षायाममा उडान ठप्प हुने पुरानो समस्या नफेरिँदा आफूहरूमा यसअघि पलाएको खुसी निरासामा परिणत भएको बताउँछन् ।
खराब मौसमको कारण देखाउँदै स्थगित गरिएको हवाई उडान कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अहिलेसम्म अन्योल नै छ । कालोपत्रेको काम सम्पन्न भएपछि गत पुस महिनाबाट उडान सञ्चालनमा आएको विमानस्थलमा पाँच महिनापछि पुनः खराब मौसमको कारण देखाउँदै गत जेठ १९ गतेवाट हवाई उडान ठप्प पारिएको हो ।
ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज विकास राईले पछिल्लो दुई साताअघिदेखि उडान सञ्चालन गर्ने तयारी गरेको भए पनि मौसमले नै साथ नदिएको बताए ।
मौसमले साथ दिएमा असोज पहिलो हप्तादेखि नै नियमित उडान सञ्चालनमा ल्याउने तयारीमा रहेको उनी बताउँछन् । विमानस्थलको धावनमार्ग कालोपत्रे भएपछि ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालनमा आएकोले ताप्लेजुङ भित्रिने पर्यटक तथा यात्रुले राहत महसुस गरेका थिए ।
विमानस्थल कालोपत्रे भएपछि नेपाल वायुसेवा निगमबाहेक निजी कम्पनी गोमा र तारा एयरले पनि उडान सञ्चालनमा ल्याएका थिए । साताको मंगलबार र शुक्रबार गोमा एयर तथा शुक्रबार तारा एयरले उडान भर्दै आएकोमा हाल ती उडान पनि बन्द छन् । नियमित उडान भएमा सिजनमा विदेशी पर्यटक पनि पहिलेभन्दा बढी भित्रिन सक्नेमा यहाँका पर्यटन व्यवसायी विश्वस्त छन् ।
सुकेटार विमानस्थलको धावनमार्ग कच्ची हुँदा वर्षाको समयमा हिलोका कारण प्रायः जेठ दोस्रो सातादेखि असोजसम्म उडान स्थगित गर्ने गरिएको थियो । यस वर्ष भने विमानस्थलका कारण नभई झरी बादलसहितको खराब मौसमले गर्दा उडान अवरुद्ध हुँदै आएको निगम कार्यालयले जनाएको छ ।
२०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थललाई निर्माण भएको चार दशकपछि झन्डै नौ करोडको लागतमा कालोपत्रे गरिएको हो । नागरिक उड्डयन प्राधिकरणबाट स्तरोन्नतिको काम भएको सुकेटार विमानस्थललाई तीन वर्षअघि ६ सय मिटरबाट बढाएर नौ सय ३० मिटर बनाइएको थियो । कञ्चनजंघा र पाथीभराको मुख्य प्रवेशद्वारका रूपमा सुकेटार विमानस्थल समुद्र सतहबाट दुई हजार चार सय ८० मिटर उचाइमा छ ।

Comments