पुस १, २०७१'भाइ यसलाई त्रिशूलीमै फ्याँकिदिनुहोस्, फर्काएर फेरि नल्याउनुहोला । म यसको अनुहारै हेर्न चाहन्न ...' भक्कानो छोडेर मलाई अंगालो हालेर उहाँ ग्वाँग्वाँ रुन थाल्नुभयो । म उहाँलाई सान्त्वना दिन थालंे । त्यो साँझ १५ वर्षको आफ्नै छोरो नशामा लठ्ठ भएर घर तोडफोड गर्न थालेछ । घरको बचाउ गर्न खोज्दा आफ्नी आमालाई नै कुटेछ उसले । उसको त्यस्तो व्यवहार पहिलो भने थिएन । हामीले त्यही साँझ उसलाई चितवनको एक सुधार केन्द्रमा लाने निधो गर्यौं । रातको झन्डै ९ बजेतिर हामीले उसलाई जबरजस्ती भ्यानभित्र हालेर हुइँक्यायौं । आमा अझै पनि डाँको छाडेर त्यही वाक्य दोहोर्याउँदै रोइरहेकी थिइन् ।
यो पहिलो वा एक मात्र घटना होइन । १५ वर्षको उमेरमा घटेको उक्त घटना भने उसको १० वर्षअघिदेखिकै हेरचाह र हुर्काइले निर्धारण गरेको थियो । दोष न छोराको हो न आमा (बाबुको पनि) तर ऊ कसरी हुर्कियो भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । हाम्रो अभिभावकत्व प्रक्रियामा एउटा भनाइ छ ... पछि गरिहाल्छ नि ... ठूलो भएपछि बुझिहाल्छ नि ...अहिले त सानै छ नि ...भनेको मान्दैन आदि र यो माथिको घटना घट्ने दिन आएको हामी पत्तै पाउँदैनौं ।
भनिन्छ, ईश्वरलाई देख्नु छ भने बालबालिकालाई हेर्नु, साँच्चै प्रत्येक बालबालिकाले विशेष व्यक्तित्व बोकेका हुन्छन् र हामी अभिभावक आफ्नै चस्माले उनीहरूलाई हेर्छौं । वास्तवमा बालबालिका बालबालिका नै हुन् र उनीहरूलाई बालबालिकाकै रूपमा हेर्नुपर्छ । बालबालिका बालबालिकाजस्ता भएनन् भने उनीहरू बालबालिका नै रहँदैनन् तसर्थ बालबालिकालाई हुर्काउन विशेष सीपको आवश्यकता पर्छ । कति पटक आफ्नो इच्छामा ढाल्न खोज्दा प्रेम पनि दुव्र्यवहार बनेको हामी पत्तै पाउँदैनौं र त्यसले उनीहरूको जीवनमै आघात पुग्छ । म बाल सुधार केन्द्रको एक परियोजनामा कार्यरत छँदा हामीले यौन दुव्र्यवहारमा परेकी लगभग ११ वर्षकी एक बालिकाको उद्धार गरेका थियौं । उनी पुरुष देख्नेबित्तिकै डराउँथिन् र आत्तिन्थिन् । ती बालिकाको उक्त समस्या अझै पनि ठीक भैसकेको छैन ।
बालबालिकालाई हुर्काउने विभिन्न सीप हुन्छन् । यसलाई सामाजिक, आर्थिक, अभिभावकको चेतना एवं स्तरजस्ता पक्षले प्रभाव पारेको हुन्छ । बालअधिकारले सुसज्जित पश्चिमेली राष्ट्रहरूमा बालबालिकाले आफ्नो जिम्मेवारी थाहा नपाउँदा पारिवारिक समस्या झेलेका छन् भने बालअधिकारको व्यवहार थाहा नपाएको हाम्रो जस्तो मुलुकमा अनुशासनको नाममा प्रशस्तै दुव्र्यवहार भोग्नुपरेको छ । परिवारमा बाल सुरक्षाको प्रत्याभूति कसरी गर्ने र विभिन्न आचरणका बालबालिकालाई कसरी हुर्काउने भन्ने विषयमा धेरै विधि एवं सिद्धान्त पनि प्रतिपादन भएको छ । बालमनोविज्ञानले बालबालिका (सामान्यतया सबै मानिसहरू पनि) रिसाहा, निष्क्रिय, आत्मविश्वासी र उदासीन हुन्छन् भन्छ । स्वभाव बुझेर बालबालिकासँग व्यवहार गर्नु राम्रो हो तर यी सैद्धान्तिक स्वभावलाई व्यवहारमा उतार्न त्यति सजिलो भने छैन । बालबालिकाको स्वभाव र आचरण दुवै कुरा ध्यानमा राखी बालविकासका निम्ति प्रयोग गरिने विभिन्न सीपमध्ये एउटा हो प्रेमको भाषा चिन्नु । बालमनोवैज्ञानिक ग्यारी च्याप्म्यान तथा रस क्याम्पबेल प्रेमका भाषाहरू बालबालिकाले सजिलै बुझ्छन् भन्ने कुरामा विश्वस्त छन् र बालबालिकाले बुझ्ने भाषा प्रयोग गर्नाले उनीहरूमा सकारात्मक प्रभाव पर्छ भन्छन् । प्रेम यस्तो वस्तु हो जुन सबैलाई चाहिन्छ । अझ बालबालिका त यसका भोका हुन्छन् । प्रेमको भाषा अपनाए बालबालिकाहरूलाई हुर्काउन र अनुसाशित तुल्याउन सजिलो हुने बताउँछन् यसका ज्ञाता एवं प्रवर्द्धकहरू । के-के हुन् त प्रेमका भाषा ? प्रेमको भाषालाई सरल तरिकाले बुझ्दा निम्न पाँच पक्षलाई हेर्न सकिन्छ :
गुणस्तरीय समय : समय गतिशील वस्तु हो, न यसलाई फर्काउन सकिन्छ न रोक्न नै । बालबालिकाले आफ्ना अभिभावकबाट चाहने महत्वपूर्ण कुरा हो-समय । विशेषत: छोरीले आमा र छोराले बुबाबाट । यद्यपि अहिलेको व्यस्त युगमा बालबालिकासँग बिताउने समय क्रमश: घट्दै गएको छ । बालबालिकासँग खेलेर, घुमेर, सँगै खाएर र अन्य मनोरञ्जक क्रियाकलापमा समय बिताउनुपर्छ । त्यसबाट बालबालिकाहरूले खुलेर आफूसँग कुरा गर्ने, आफ्नो समस्या व्यक्त गर्ने अनि आमाबुबालाई आदर्शका रूपमा हेर्ने मौका पाउँछन् । आजको व्यस्त युगमा छोराछोरीलाई पर्याप्त समय नदिँदा आमाबुबा मित्र होइन शत्रु र बाधकका रूपमा चित्रित हुन थालेका छन् । आमाबुबाले डोर्याउनुपर्ने छोराछोरीलाई खराब कुराले डोर्याइसकेको चेत समय बितेपछि मात्र खुल्छ । त्यतिबेला धेरै ढिलो भैसकेको हुन्छ । आज अभिभावकले समय नदिनाले छोराछोरीहरू फेसबुक, ट्वीटर, युट्युबजस्ता विभिन्न भर्चुअल वल्र्डको दास पनि भएका छन् ।
प्रशंसा (समर्थनका बचनहरू) : म एक समय शिक्षण पेसामा संलग्न थिएँ । सात विषयको परीक्षा दिएकी एक छात्रालाई दुई विषयमा गोल हुँदा उनका बुबाले वेस्सरी पिटेछन् र भोलिपल्ट तुरुन्त विद्यालय आएर गोल भएको विषय देखाउँदै मसँग कराउन थाले । मैले भनें-'दुई विषयमा गोल भएकाले सजाय दिनुभयो अनि पाँच विषयमा त राम्रो अंक ल्याएकी छिन् नि, त्यसका निम्ति के दिनुभयो ?' उनी नि:शब्द भए । हामी नकारात्मक कुरामा बढी जोड दिन्छौं जसले अधिकांश सकारात्मक पक्षलाई ओझेल पारिदिन्छ र त्यो नै दुव्र्यवहारको कारण बन्छ । प्रशंसा बालबालिकाको कमजोरी सुधार्ने एउटा राम्रो उपाय हो । कमजोरी देखाएर सजाय दिँदा बालबालिकामा हीनताबोध हुन्छ र त्यसले उनीहरूलाई अझ कमजोर बनाउँछ अझ कतिलाई त आघात नै पर्छ । प्रशंसा सफलताको उत्कर्षमा मात्र होइन प्रयासमा पनि गर्नुपर्छ । बालमनोविज्ञान सफलताको उत्कर्षभन्दा पनि प्रयासको संगालो हो ।
सहायता : बालबालिकाले आमाबुबालाई आदर्शका रूपमा हेर्छन् । बालबालिकाको प्रयासमा सहायता गर्दा उनीहरूले कुनै विशेष (जसलाई उनीहरूले जीवनको प्रतीकका रूपमा हेरेका हुन्छन्) व्यक्तिले सहायता गरेको मान्छन् र त्यसले उनीहरूलाई थप उत्साह मिल्छ । बालबालिकाहरू स-साना खेल जस्तै घर बनाउने, गाडी बनाउने, चित्र कोर्ने आदिका माध्यमबाट संसारलाई बुझ्न खोजिरहेका हुन्छन् । यस्ता स-साना खेल उनीहरूका निम्ति संसारलाई हेर्ने आँखिझ्याल हुन्छन् । यो वास्तवमै संवेदनशील अवस्था हो । यस्ता स-साना प्रयासलाई सहायता गरिदिँदा उनीहरूले हेर्न खोजेको संसारको सकारात्मक निर्माण भैरहेको हुन्छ । त्यति मात्र होइन सहायता मानवताको अभिन्न नैतिकता भएकाले बालबालिकाले ठीक समयमा नैतिकताको पाठ पनि सिकिरहेका हुन्छन् ।
उपहार : मानिसलाई खुसी पार्ने एउटा प्रभावशाली माध्यम उपहार पनि हो । उपहार प्रेमको प्रकटीकरण पनि हो । उपहार दुई व्यक्तिको सम्बन्धलाई प्रगाढ तुल्याउने उपाय पनि हो । बालबालिकाले बुबा कार्यालयबाट आउँदा केही कुराको आशा गरेका हुन्छन् र ढोकाबाट छिर्नासाथ खुसीले उफ्रन थाल्छन् । दिनभरि नदेखेको बुबालाई देख्न पाउँदा उनीहरू खुसी त हुन्छन् नै तर त्यो खुसीभित्र आशा पनि लुकेको हुन्छ । उपहारले उनीहरूको खुसीलाई वास्तविक र सार्थक बनाउँछ ।
धेरै चकचके बालबालिकालाई अनुशासनमा राख्न उपहार प्रदान गर्न सकिन्छ । जब बालबालिकाले केही काम (लेख्ने, पढ्ने, सफा गर्ने आदि) गर्छन् त्यो काम आमाबुबाले हेरिदिऊन् भन्ने आशा गर्छन् (माथि भनेको जस्तै यस्ता कामहरू बालविकासको आँखिझ्याल हुन्छ) । उनीहरूको कामलाई स्यावास भनिदिनाले थप उत्साहित हुन्छन् । अझ केही भौतिक उपहार दिँदा त उनीहरू ज्यादै खुसी हुन्छन् । यसले बालबालिकामा सकारात्मक विचारको पनि विकास गर्छ । सबै परिस्थितिमा उपहार दिनु राम्रो हो तर उपहार पाउन योग्य भएको कुरा बालबालिकाले पनि बुझ्नु आवश्यक छ ।
स्पर्श : स्पर्श भन्नाले शारीरिक स्पर्श हो । स्पर्शले मानिसलाई प्रेम र सान्त्वनाको आभाष दिन्छ । स्पर्शले सम्बन्ध र निकटता पनि जनाउँछ । त्यसैले मानव संवेदनामा स्पर्श एउटा वाञ्छनीय तत्व हो । महिलाहरू मानसिक वा शारीरिक तनावमा रहँदा केश सुम्सुम्याइदिँदा तनाव कम भएको महसुस गर्छन् । भनिन्छ, दिनमा कम्तीमा एकपटक छोराछोरीलाई अंगालो हाली 'तिमी कस्तो छौ' भनेर सोध्दा वा 'तिमीले गरेको कामका निम्ति बधाई' भन्दा सम्बन्धको सकारात्मक विकास हुन्छ । स्पर्श गर्दा बालबालिकाले मलाई मेरा आमाबुबाले प्रेम गर्छन् भन्ने निश्चितता हुन्छ । त्यति मात्र होइन, स्पर्शद्वारा बालबालिकाले आफ्नो संरक्षण भएको अनुभूति गर्छन् । केही अध्ययनले देखाएअनुसार धेरै लामो समयसम्म शारीरिक स्पर्श नपाएका बालबालिकाभन्दा बोकिएका, अंगालोमा बाँधिएका र म्वाइ खाइएका बालबालिकाको भावनात्मक जीवन स्वस्थकर हुन्छ ।
स्पर्श जति महत्वपूर्ण देखिन्छ, त्यति नै दुव्र्यवहारको कारण पनि हुनसक्छ । बालबालिकालाई अस्वाभाविक स्पर्श गर्दा दुव्र्यवहार हुन्छ । स्पर्श बालबालिकाको उमेर र शरीरको विकास एवं बनावटअनुसार होसियारीपूर्वक गर्नुपर्छ । एउटी पाँच वर्र्षीया बालिकासँग गरिने स्पर्श र १२ वर्र्षीया बालिकासँग गरिने स्पर्श भिन्न खालको हुन्छ । बालबालिकाले अप्ठ्यारो महसुस गर्ने खालको स्पर्श कदापि गर्नुहुँदैन । बढ्दो उमेरका बालिकाले सबै खालका स्पर्शबाट सुरक्षित महसुस गर्दैनन् ।
Comments
Post a Comment