आपूर्ति मन्त्रालयको निर्देशन- मूल्य घटाउन सक्ने वस्तुको विवरण देऊ




भाद्र २२, २०७३- आपूर्ति मन्त्रालयले व्यावसायीहरूसँग चाडपर्वमा घटाउन सक्ने खाद्यलगायत अत्यावश्यक वस्तुको मूल्यको विवरण मागेको छ। चाडपर्वमा सर्वसाधारणलाई राहत दिन घटाउन सक्ने मूल्यको विवरण मागेको मन्त्रालयले जनाएको छ।
आपूर्तिमन्त्री दीपक बोहराले ‘यसपालिको दसैं बिनामहँगीको दसैं’ नाराका साथ मनाउन खोजेको बताए। उनले भने, ‘चाडपर्वमा खाद्यान्नलगायत सबै अत्यावश्यक वस्तुको मूल्य घट्नुपर्छ। सोहीअनुसार सम्बन्धित निकायलाई घटाउन सक्ने मूल्यको विवरण एक/दुई दिनभित्रै पठाउन आग्रह गरेका हौं।’
उनका अनुसार सोमबार उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, खुद्रा व्यापार संघ र डिमार्टमेन्टल स्टोर सहितका अधिकारीसँग भएको छलफल चाडपर्वमा केही मात्रामा मूल्य घटाउने निर्णय भएको हो। ‘व्यवसायीहरूले एक/दुई दिनभित्रै सस्तोमा बिक्री गर्ने प्रतिबद्धता जनाएका छन्,’ उनले भने, ‘यसपालिको दसैंमा सर्वसाधारणले महँगीबाट केही राहत पाउने छन्।’
खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्रचार्यले अत्यावयक वस्तु चामल, दाल, लगायतका खाद्यान्नमा मूल्य घटाउने तयारी भइरहेको बताए। ‘छलफलका क्रममा मन्त्रालयले मूल्य घटाउन अनुरोध गरेको थियो,’ उनले भने, ‘हामीले पनि सोहीअनुसार तयारी गरिरहेका छौं।’ असोज १ देखि चामल र दालमा प्रतिकिलो ५ देखि १० रुपैयाँ घटाउने तयारी भएको उनले बताए। यस्तै खानेतेलको मूल्य घटाउन मिल सञ्चालकलाई अनुरोध गरेको बज्राचार्यले बताए। ‘तेल मिलसँग पनि अनुरोध गरेका छौं,’ उनले भने, ‘मिलबाट मूल्य घटेर आए हामीले पनि घटाउँछौं।’ सरकारी स्वामित्वका खाद्य संस्थान, नेसनल र साल्ट टेड्रिङले सबै सामानमा छुट नदिए पनि खुद्रा व्यापारीहरूले दिने तयारी गरेको उनले बताए। ‘चाडपर्वमा उपभोक्ता प्रतिको दायित्व पूरा गर्न छुट दिने तयारी गरेको हो,’ उनले भने।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्य घटाउनु राम्रो प्रयास भएको बताए। ‘दसैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउनु स्वागतयोग्य छ,’ उनले भने, ‘तर, सरकारले गरेको निर्णय प्रभावकारी रूपमा कार्यन्वयन गर्नुपर्छ।’ अन्तर्राष्ट्रय बजारमा इन्धनको मूल्य घटदै गएकाले ग्यासमा मात्रै नभई पेट्रोल/डिजेलमा पनि मूल्य घटाउनुपर्ने बताए।
मन्त्रालयले इन्धनको मूल्य पनि नबढाउन आयल निगमलाई निर्देशन दिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य पनि घट्ने क्रममा रहेकाले करिब ५५ दिन (दसैं,
तिहार र छठ) सम्म मूल्य नबढाउन निगमलाई निर्देशन दिएको हो। ‘हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्ने क्रममा छ। कुनै बहानामा पनि इन्धनको मूल्य बढाउन पाइँदैन,’ उनले भने, ‘चाडपर्व नजिकिएकाले कम्तीमा ५५ दिनसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका छौं।’
दसैंका लागि केही दिनअघि निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ। हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ पर्छ। निगमका प्रवक्ता भानु खनालले मन्त्रालयबाट ५५ दिनसम्म मूल्य नबढाउने मौखिक निर्देशन आएकाले चाडपर्वसम्म मूल्य नबढ्ने उनले बताए। उनले भने, ‘दसैंतिहारसम्म मूल्य वृद्धि नहोला।’ यस अवधिमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर निगम घाटामा गए सरकारसँग ऋण लिएर व्यवस्थापन गरिने उनले बताए। पेट्रोल, डिजेल र मटितेलको मूल्य भने सामायोजन गरिएको छैन। भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसूचीमा मूल्य बढेर आएकाले पेट्रोल/डिजेलको मूल्य नघटाएको निगमको दाबी छ।
ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले दसैंमा ग्यासको अभाव नहुने बताए। ‘सबै क्षेत्रमा पर्याप्त ग्यास छ। अभाव हुँदैन,’ उनले भने। चाडपर्वसँगै ग्यासको मागमा वृद्धि हुने भएकाले सरकारले आपूर्तिमा ध्यान दिनुपर्ने उनले बताए। ‘दसैंसँगै जाडो सिजन सुरु हुन्छ। चिसो मौसममा ग्यासको खपत हवात्तै बढ्छ,’ उनले भने, ‘यसका लागि आपूर्तिमा पनि ध्यान दिनु जरुरी छ।’


Comments