अलैंचीको मूल्य घट्दो

भाद्र २९, २०७३- अलैंचीको मूल्य लगातार घटेपछि यो वर्षको दसैं पहाडी जिल्लाका किसानका लागि खल्लो हुने भएको छ। अलैंची बेचेर दसैं मान्नेहरूका लागि समस्या देखिएको हो। कतिपयले दसैं अगावै बिक्री गर्ने र कतिले पछि दिने सर्तमा व्यापारीबाट पैसा र सामान लिएर चाड मान्दै आएका थिए।
मूल्य ओरालो लाग्दा गत वर्ष प्रतिमन (४० किलो) ९० हजार रुपैयाँले किनेका व्यापारीले घटेर बिक्री गर्नुपरेको छ। अहिले अलैंचीको मूल्य झापाको बिर्तामोडमा प्रतिमन ६३ हजार रुपैयाँमा झरेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई बताउँछन्। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभाजस्ता पहाडी जिल्लाका किसानले यसमा ढुवानी भाडा घटाएर कारोबार गर्छन्।
गत वर्ष घाटामा परेका व्यापारीहरू यो वर्ष लगानी गर्ने सोचमा नदेखिएका हुन्। अलैंची व्यवसायी संघका अध्यक्ष बालमणि बराल यो वर्ष व्यवसायीसँग पैसा नभएकाले लगानी गर्न नसक्ने बताउँछन्। ‘गत वर्षको घाटाले हामीसँग लगानी गर्ने पैसा छैन। कतिपयको अलैंची अहिलेसम्म पनि गोदाममै छ,’ बरालले भने, उल्टै किसानलाई पहिला बिक्री गर्न देऊ अनि पैसा दिन्छौं भन्नुपर्ने अवस्था छ।’
गत वर्षसम्म व्यापारीले किसानलाई दसैंमा पहिल्यै सामान, पैसा दिने र पछि अलैंची ल्याउने गरेका थिए। अलैंची साउनदेखि मंसिरसम्ममा उत्पादन भइसक्छ। कात्तिक–मंसिरमा उत्पादन हुनेले अलैंचीको उत्पादन देखाएर सामान लान्थे। किसानबाट खरिद गर्ने प्रतिस्पर्धाका कारण कतिपयले घरमै पनि सामान पुर्‍याइदिन्थे र अलैंची उठाउन घरैमा पुग्थे। यसले किसानलाई ढुवानीमा सहुलियत हुन्थ्यो भने दसैं, तिहार, छठजस्ता चाड मान्न पनि सहज भएको थियो।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपाल अघिल्लो वर्षको स्टक धेरै भएको र तेश्रो मुलुक कम गएकाले मूल्य घटेको बताउँछन्। नेपालको अलैंची मिसावटयुक्त भनेर भारतीय व्यापारीले कम खरिद गर्नु जस्ता कारण मूल्य घटेको उनले बताए। धूवाँ गन्हाउने, ढुसी पर्ने, राम्ररी प्रशोधन नहुने जस्ता कारण बिक्रीमा समस्या भएको व्यवसायीहरूको दाबी छ। यसलाई सुधारका लागि जिल्लाका व्यवसायी संघमार्फत स्थानिय सञ्चार माध्यमको प्रयोग गर्दै किसानसम्म पुगेर सुधारको काम भएको छ।
नेपालमा उत्पादन हुने सबै अलैंची भारतको सिलगुडी, जोगमुनी हुँदै नयाँदिल्लीमा पुग्छ। नयाँदिल्लीबाट पाकिस्तानमा समेत गरेर दैनिक एकदेखि डेढ सय मनसम्म बिक्री हुन्छ। जसलाई आन्तरिक बजार भनिन्छ। त्यो बाहेकको सबै खाडी राष्ट्रमा निर्यात हुन्छ। साउदी र दुबईका व्यापारीले धेरै लान्छन्। नेपाली व्यापारीको त्यहाँसम्म पहुँच नभएकाले भारतीय व्यापारीको भर पर्नुपर्छ।


http://kantipur.ekantipur.com/news/2016-09-14/20160914084735.html

Comments