भाद्र २८, २०७३- तातोपानी नाकाबाट चिनियाँ सामान आयात गरिरहेका व्यवसायीलाई केरुङ नाकाबाट ल्याउन सास्ती भएको छ। केरुङ नाकामा तातोपानीका व्यापारीलाई ‘वान डेको पास’ उपलब्ध नभएको र सामान हाल्ने स्थानसम्म जान निषेध गरेपछि आयात गर्न कठिनाइ भएको हो।
उद्योग वाणिज्य संघका अनुसार व्यापारीलाई ‘वान डे’ पासको सुविधा दिएको छैन। केरुङ नाकाका स्थानीयले मात्रै उक्त पास पाउने र त्यहाँका स्थानीयलाई चर्को खर्च दिएर सामान ल्याउने ठाउँमा पठाउनुपर्ने कारणले व्यापारीहरू मर्कामा परेका हुन्।
‘हामी सामान लोड गर्ने ठाउँमा जान पाउँदैनौं,’ व्यवसायी हरिबहादुर तामाङले कान्तिपुरसँग भने, ‘आफ्नो सामानको रसुवाका स्थानीयले मात्रै लोड गर्न पाउँछन्।’ उनले आफ्नो सामान रसुवाका स्थानीयले लोड गरिदिने भएकाले असुरक्षित र कठिन भइरहेको बताए। उनले २ हजार रुपैयाँमा पास हुनेमा यताबाट गएका सवारीहरूले रसुवा पासका लागि झन्डै २० हजार रुपैयाँ तिर्नुपरेको बाध्यता पोखे।
व्यापारीहरूले असुरक्षितसँगै सामान कस्तो अवस्थामा रहेको थाहासमेत नपाई ल्याउन बाध्य भएको बताए। ‘बीचमा जथाभावी सामान फुटाइएको हुन्छ।’ बाह्रबिसेका व्यवसायी श्याम शेर्पाले दु:खेसो पोखे, ‘पूराको मुल्य तिरेर आधाजस्तो सामान मात्रै हातमा आइपुग्छ।’ उनले ल्याइएका सामान पूरा नभएको र सास्ती पाएको बताए।
गत वैशाख १२ को भूकम्पदेखि ठप्प अवस्थामा रहेको तातोपानी नाका नखुलेपछि सामान आयात गर्न समस्या खेप्नुपरेको व्यवसायीले बताए। विगतका तातोपानी नाका भएर सामान आयात गर्दा सस्तो हुने गरेको उनीहरू बताउँछन्। ‘आयात सहज बनाउन वान डे पासको बैठक बसिरहेका छौं,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अच्युत पौडेलले भने, ‘रसुवाको मात्र एकलौटी नाकाजस्तो पारिएको छ।’
उनले केरुङ सीमाबाट व्यापारीलाई सामान आयात गर्न समस्या भएको स्वीकारे। चाडपर्व नजिकिंदै गर्दा चीनबाट तातोपानी नाकाबाट लत्ताकपडा, जुत्ता, चप्पल, स्याउ, भेडाच्यांग्रा, इलेक्ट्रिक जस्ता सामानहरू सबैभन्दा बढी आयात हुने गरेका थिए। अहिले केरुङ नाकाबाट पर्याप्त सामग्री ल्याउन नसकिएको र बाटो पनि लामो भएकाले मूल्य महँगो पर्ने व्यापारीको भनाइ छ। ‘तातोपानी नाकाको तुलनामा केरुङ धेरै असहज बनेको छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले भने, ‘नाकामा नै यस्तो असहयोग भएपछि व्यापारीहरू निरुत्साहित भएका छन्।’ सामान आयात गर्न धेरै सास्ती खेप्नुपर्ने भएकाले नाकामा सामान लिन कम मात्रामा व्यापारीहरू गएका छन्।
भूकम्प र बाढीले सडक क्षतिग्रस्त बनाएर तातोपानी नाका बन्द भएपछि केरुङ नाका खुलाइएको हो। २०७१ साउन १६ मा जुरेमा गएको पहिरोले सडक अवरुद्ध भएपछि बन्द रहेको नाका व्यापारी, दल आदिको प्रयासमा सञ्चालनमा आए पनि २०७२ वैशाख १२ को भूकम्पपछि सन्चालनमा आउन सकेको छैन।
भूकम्पपछि बाह्रबिसे तातोपानी सडकखण्ड क्षतिग्रस्त भए पनि महिना दिनका लागि सुचारु भएको थियो। असार २१ मा आएको भोटेकोसी बाढीले सडकखण्ड क्षतिग्रस्त बनाएको छ। नेपाल चीनको सिमानामा रहेको तातोपानी नाका १६ महिनादेखि ठप्प रहेको छ। तातोपानी नाका सञ्चालन नहुँदा सामान आयात गर्ने व्यापारीहरूलाई समस्या हुनाका साथै सामानहरू महँगो पर्ने भएको छ।
Comments
Post a Comment