लमजुङमा बाढीको बितण्डा







भाद्र २३, २०७३- बुधबार रातिको भीषण वर्षासँगै आएको बाढी र पहिरोले जिल्लामा ठूलोमात्रामा भौतिक क्षति भएको छ ।
मानवीय साथै सम्पूर्ण क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । भीषण वर्षासँगै बाढी र पहिरोले बेसीसहर–चामे सडक अवरुद्ध बनेको छ । बेसीसहर नजिकै पुमाखोला उर्लिंदा सडक बगाएको छ । मनाङेचौतारा र सातबिसेबाट जाने दुवै सडक बगाएपछि मनाङ साथै उत्तरी लमजुङतर्फ जाने सवारी साधन रोकिएका छन् ।
बाढीले कटान गरेपछि तीर्थलाल श्रेष्ठले पैदलयात्रीका लागि व्यक्तिगत करीब ३ लाख रुपैयाँको लागतमा निर्माण गरेको पूलको जग बगाएको छ । बाढीले पूल कटान गरेर क्षति पुर्‍याएपछि स्थानीयले बिहान भरी श्रमदान गरेर तत्काललाई हिँड्न मिल्ने बताएका छन् । स्थानीयको अनुभवमा १२ वर्षपछि यति ठूलोमात्रामा उक्त खोला उर्लिएको हो ।
बाढीले धान खेत बगाएको छ । होमकुमार श्रेष्ठको उद्योगका २ हजार ब्लक बगाएको छ । स्थानीय कर्म तामाङको २ वटा भैंसी पुरिएको छ । चण्डिस्थान अक्करखोलाको उत्तीसघारीमा पनि पहिरो गएको स्थानीय टीकराम राउतले बताए । ताघ्रिङका बलबहादुर गुरुङका अनुसार स्याँगे र घोप्टेभीरमा पहिरो खसेकाले मनाङतर्फ जाने बाटो अवरुद्ध छ । मनाङतर्फ बाटोमा स–साना पहिरो गएको स्थानीयले बताएका छन् । तिमाङ खोला बढेपछि बाटो अवरुद्ध बनेको छ ।
जिल्लाका ग्रामीण भेगका प्राय: सबै सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बेसीसहर–भुजुङ सडक अवरुद्ध भएको टिकट काउन्टरका मिलन गुरुङले बताए ।
बेसीसहर–गाउँसहर, सुन्दरबजार–दुराडाँडा लगायत ग्रामीण भेग चल्ने प्राय: ग्रामीण सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । रातिदेखि अवरुद्ध बेसीसहर–डुम्रे सडक भने आंशिक खुलेको छ । बेसीसहर नजिकै मजुवा खोलामा गएको पहिरोलाई प्रहरी र स्थानीयले पन्छाएर एकतर्फी सवारी साधन सञ्चालनमा ल्याएका छन् ।
भकुण्डेको खहरेखोलाको बाढीले ल्याएको ढुंगामाटोलाई डोजरले पन्छाएपछि ठूला सवारी आवागमन भएको र माइक्रोबस, मोटरसाइकल भने सहज रुपमा सञ्चालन हुन नसकेको स्थानीयले बताए । बेसीसहरको सहजीस्थित बसपार्क र खेलमैदानमा पनि बाढी पसेपछि समस्या पारेको छ । धुसेनीको कोइरालाफाँटमा पाउँदी नदीले कटान गर्दा करीब २ सय थान ग्याविनमा क्षति पुग्नुका साथै ८० रोपनी बढी खेत पुरेको स्थानीयले बताए ।
बाढी र पहिरोले खानेपानी र पाइपहरु बगाएको छ । बेसीसहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानका अनुसार सुयेलथोकको खानेपानी ट्यांकीबाटै पहिरो खसेको र पाइपहरु भाँचिदिएपछि बेसीसहरको मनाङेचौतारा क्षेत्रमा खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानीको मुख्य मुहानमा समेत पहिरोले पुरेपछि तत्काल खानेपानी आपूर्ति हुन नसकेको उनले बताए ।
बाढीपहिरोले जिल्लाका केही घरहरुमा क्षति पुर्‍याएको र विस्थापित भएको स्थानीयले बताएपनि औपचारिक जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । बाढी र पहिरोले विद्युतको पोल ढलेपछि बुधबार साँझदेखि सदरमुकाम बेसीसहर साथै जिल्लाको उत्तरी क्षेत्रमा विद्युत अवरुद्ध छ ।
लमजुङ विद्युत उपभोक्ता संस्थाका अनुसार बेसीसहर नजिकै विद्युतको पोल ढल्दा उदिपुरदेखि गाउँसहर भकुण्डे, बेसीसहर हुँदै उत्तरी लमजुङका ८/९ गाविसमा विद्युत आपूर्ति हुन सकेको छैन ।


Comments