क्यामरामा नग्न तस्बिर फेला

क्यामरामा नग्न तस्बिर फेला

भाद्र २८, २०७३- ठमेलबाट ५ बालबालिकासहित पक्राउ परेका अमेरिकी नागरिक केनिथ जोसेफ कोम्बस ‘वारेन्टेड’ बालयौन दुराचारी रहेको सूचनापछि प्रहरीले इन्टरपोलसँग विवरण मागेको छ।
बालयौन दुराचारसम्बन्धी अपराधको रेकर्डमा उनको नाम र विवरण फेला परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमा रहेको इन्टरपोल शाखामार्फत अमेरिकी इन्टरपोलसँग उनको आपराधिक विवरण मागेको हो। कोम्बस शुक्रबार ठमेलको याम्बु होटलको एक कोठामा ५ बालबालिकासहित फेला परेपछि ब्युरोले बालयौन दुराचारीको अभियोगमा उनका नेपाली सहयोगी बुद्ध पुतवारलाई पनि पक्राउ गरेको छ। पक्राउपछि उनको आपराधिक विवरण खोजी गर्दा ब्युरोले एसओआरअर्काइभडटकममा यौन अपराधबारे उनीमाथि उजुरी परेको विवरण फेला पारेको छ। ‘उनी अमेरिकामा समेत यौन दुराचार अपराधमा वारेन्टेड छन् भन्ने जानकारी आएकाले इन्टरपोलमार्फत थप जानकारी संकलनको प्रयास भइरहेको छ,’ ब्युरोका डीआईजी नवराज सिलावलले कान्तिपुरसँग भने।
२ वर्षदेखि लगातार नेपालमा
टेरोट कार्डसम्बन्धी २ पुस्तकसमेत लेखेका र एप्स डिजाइनरका रूपमा कार्यरत कोम्बस २ वर्षदेखि लगातार नेपाल आइरहेको खुलेको छ। ब्युरोको अनुसन्धानमा उनी पर्यटन भिसामा सन् २०१४ देखि निरन्तर नेपाल आइरहेको खुलेको हो। ‘अध्यागमन विभागको रेकर्डमा उनी सन् २०१४ बाट लगातार ६ पटक नेपाल आएर ५ सय ४० दिन नेपाल बसेको देखियो,’ अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले भने, ‘उनी पर्यटन भिसामा ९० दिनको म्याद लिएर नेपाल आउने र फर्केर पुन: आउने गरेको देखिन्छ।’
उनीसँगै पक्राउ परेका पुतवारले ठमेलमा २ वर्षअघि घुम्ने क्रममा कोम्बससँग भेट भएको बयान दिएको र उनले सामाजिक सञ्जालमा राखेको नेपालमा खिचेको तस्बिरले समेत उनी लगातार नेपाल आउने गरेको देखियो। उनी पछिल्लो समय भदौ ७ मा पर्यटन भिसामा नेपाल आएका थिए।
केनिथसँग फेला परेको मोबाइल, डिजिटल क्यामरा र ल्यापटपमा प्रारम्भमा प्रहरीले कुनै तस्बिर फेला परेन। बालबालिकाले प्रहरीसितको बयानमा उसले डिजिटल क्यामराबाट आफ्ना तस्बिर खिचेको जानकारी गराएका थिए। त्यसपछि क्यामराका डिलिट गरिएका सामग्री रिकभर गर्दा बालबालिकाको तस्बिर फेला परेको हो।
अनुसन्धानमा संलग्न ब्युरो अधिकारीका अनुसार रिकभर भएका अधिकांश तस्बिरमा बालबालिका नग्न अवस्थामा छन्। उनले आफू र बालबालिकाको अनुहार नआउने गरी अधिकांश तस्बिर खिचेका छन्। केही सामूहिक र केही व्यक्तिगत तस्बिर रिकभर भएका हुन्।
‘बालबालिको बयानमा उसले भिडियोसमेत खिचेको भन्ने खुलेको छ तर फेला परेको छैन,’ अनुसन्धानमा संलग्न ब्युरोका डीएसपी ज्ञानेन्द्र फुँयालले भने, ‘अधिकांश सामग्री मेटाएकाले रिकभरको प्रयास भइरहेको छ।’
पीडितको संख्या बढदै
होटलको कोठामा ५ बालबालिकासँगै फेला परेका कोम्बसले ८ बालबालिकालाई यौन दुराचार गरेको खुलिसकेको ब्युरोको दाबी छ। ब्युरोले पीडित आठै बालबालिकाको बयान अदालतमा प्रमाणित गरिसकेको छ।प्रारम्भिक अनुसन्धान र उनको सहयोगीको अभियोगमा पक्राउ परेका पुतवारले खुलाएअनुसार पीडित बालबालिकाको संख्या ५० बढी देखिने ब्युरोको अनुमान छ। कोम्बस पक्राउ परेको सार्वजनिक भएपछि उनीबारे थप जानकारी आउने क्रम बढेको ब्युरोले जानकारी दिएको छ। कोम्बसले बालबालिकालाई ठमेलको होटलसँगै थानकोटका केही रिसोर्ट, पोखरा र नगरकोटमा समेत लैजाने गरेको खुलेकाले ती क्षेत्रमा समेत अनुसन्धान केन्द्रित गरिएको ब्युरोका डीआईजी सिलवालले जानकारी दिए।
‘कोम्बससँगै बालयौन दुराचारमा
संलग्न सञ्जाल सक्रिय देखिएकाले अनुसन्धानमा अन्तर्राष्ट्रिय सहयोग खोजिरहेका छौं,’ डीआईजी सिलवालले भने, ‘नेपालमै पनि पीडित बालबालिकाको संख्या बढ्ने देखिन्छ।’
होटल अनुसन्धानमा
होटलका ग्राहकको गतिविधिबारे प्रहरीलाई जानकारी नदिएको आरोपमा ब्युरोले याम्बु होटलका सञ्चालकलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ। कोम्बसले आफ्नो कोठामा बालबालिकाको समूह लैजाँदासमेत होटलका कर्मचारीले चासो नराखेको र शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी नदिएको भन्दै ब्युरोले होटलका कर्मचारीलाई बयानका लागि बोलाएको छ। ‘ग्राहकको गतिविधि शंका लागे प्रहरीलाई जानकारी गराउने होटलको समेत दायित्व हो,’ सिलवालले भने, ‘बालबालिकाको हुल कोठामा लैजाँदासमेत चासो नराखेको देखिएपछि होटलका कर्मचारीलाई बयानमा बोलाएका छौं।’
नेपालमा धर्मछोरा र धर्म बहिनी
कोम्बसको पक्राउपछि प्रहरीले सामाजिक सञ्जालका आधारमा उनको नेपालमा सक्रियताबारे अध्ययन गरेको थियो। उनको फेसबुक पेज बालबालिकासँग बसेका तस्बिरले भरिएका छन्। उनी भूकम्पको समयमा समेत नेपालमा आएर बालबालिकालाई कम्बल बाँडेको, नेपालमै धर्मछोरा र बहिनी बनाएर तिहारमा टीकासमेत लगाएको तस्बिरहरू फेला परेका छन्।सामाजिक सञ्जालको विवरणअनुसार उनी काठमाडौं, पोखरा, टीकापुर, बर्दिया, भारतको गोवा, दार्जिलिङ, मुम्बई, जयपुर, थाइल्यान्ड जाने गरेको देखिन्छ।


http://bit.ly/2cTCyQX

Comments