उपत्यकामा इन्द्रजात्राको उल्लास (फोटो फिचर)

भाद्र ३०, २०७३- इन्द्रोत्सवको अवसरमा राजधानीमा जीवित देवीदेवताका रुपमा कुमारी, गणेश र भैरवलाई बिहिबार हर्ष र उल्लासका साथ रथ यात्रा गरि इन्द्रजात्रा मनाइएको छ ।

रथ यात्राका लागि शाक्य जातकी एक महिला, गणेश र भैरवको भेषमा दुई पुरुषलाई वसन्तपुर दरवारस्थित कुमारी घर अगाडी राखिएको बेग्ला बेग्लै रथमा रथारोहण गरिएको थियो । 

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवी देवताको दर्शन गरी प्रसाद ग्रहण गरेकी छिन् । तीनै वटा रथलाई वसन्तपुरबाट तानेर मरू, चिकमुगल, मजिपात, जैशीदेवल, ज्याबहाल, लगन, बह्मटोल, ह्युमत, क्व:हिटी, भीमसेनस्थान भई पुन: वसन्तपुरमा नै पुर्‍याइएका थिए । 

रथ यात्रामा सांस्कृतिक बाजागाजा, पञ्चेबाजा, गुरूजु पल्टन, सैनिक बैण्डबाजा, पञ्चबुद्ध (बैरोचन, अक्षोभ्य, अमोघसिद्धि, अमिताभ र रत्नसम्भव) को भेषमा ग: (घण्टी) बजाउँदै नगर परिक्रमा गरेका थिए । 

राजप्रतिनिघिको रुपमा मल्लकालिन राजखड्ग कुमारीको रथमा राखिएको थियो । साथमा हलचोकको आकाश भैरव, मजिपा: लाखे, किलाघ:का पुलुकिसी नाच (कात्रोले बनाइएको ऐरावत हात्ती) लाई पनि नगरपरिक्रममा गराइएको थियो । 

रथ जात्रामा बाटोमा बौद्ध धर्मावलम्बीहरुले बर्षभरिमा दिवंगत भएका आफन्तहरुको नाममा स्तोत्र पाठ र दियो दान गर्दै नगरपरिक्रमा पनि गरेका थिए । यात्रामा पर्ने टोल टोलमा सिगारेर राखेको समेबजी रथ पुग्नासाथ देवीदेवतालाई चढाइएका थिए । 

जात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो लागेको देख्न सकिन्थ्यो । रथ जात्रा सकिएपछि धिमेबजाको तालमा धुन्या (रंगीचंगी कपडाका टुक्राहरुले सिंगारेको अग्लो बास) घुमाउदै इन्द्रको आमा भनिने डागीलाई नगरपरिक्रममा गराइएको थियो । उनका साथमा मृतकहरु स्वर्ग गएको हेर्न जाने भनी मृतकको आफन्त पनि बाटोभरि सतबजि छर्दै  नगर परिक्रमा गरेका थिए । 

हनुमान ढोका दरवार परिसरमा ध्वजापताका सहितको लिंगो ठड्याएपछि मंगलबार सुरू भएको जात्रा शुक्रबार थने: या: भनी बसन्तपुरदेखि तीनै वटा रथलाई माथिल्लो तोलमा परिक्रमा गराइने छ । 
तस्बिरहरु : हेमन्त श्रेष्ठ/अंगद ढकाल/प्रताप थापा

Comments