सम्पदाको बिजोग, घरभित्रै मन्दिर




भाद्र २८, २०७३- पहिला सार्वजनिक रूपमा पूजा गरिने कुमारी र गणेशको मन्दिर व्यक्तिको घरभित्र पाइएको छ। घर भत्काउने क्रममा मन्दिर पुरिन लागेपछि सर्वसाधारणले मूर्तिबारे चासो राख्दा कुमारी र गणेशको मूर्ति घरभित्र रहेको पत्ता लागेको हो।
स्थानीयवासीले यसबारे खोजी गर्न पुरातत्त्व विभागमा असार ८ मा उजुरी दिएका थिए। स्थानीयवासीको मागअनुसार विभागले हनुमानढोका दरबार हेरचाह अड्डालाई खोजी गर्न र अध्ययन गरी रायसहित प्रतिवेदन दिन असार १५ मा निर्देशन दिएको थियो। अड्डाले खोजी गरी प्रतिवेदन तयार पार्न संरक्षण अधिकृत नारायण कार्कीलाई खटायो। कार्कीसहितको टोलीले खोजी गर्दा कुमारी मन्दिर निजी प्रयोजनमा रहेको भेटियो।
काठमाडौं महानगरपालिका ३५ मा हनुमानढोका दरबारसँगै जोडिएको क्रिस्टल होटल रहेको भवनभित्र कुमारी मन्दिर भेटिएको हो। यो भवन कृष्णलाल महर्जनको स्वामित्वमा छ। मन्दिरमा पहिला जस्ताको छानो थियो। बुढापाकाका अनुसार त्यहाँ पूजा गर्न सर्वसाधारणको घुइँचो लाग्थ्यो। ‘हाम्रो हजुरआमा यहाँ पूजा गर्नु आउनुहुन्थ्यो। म पनि हजुरआमासँगै आउँथें,’ स्थानीय शैलेश शाक्य भन्छन्, ‘हेर्दा हेर्दै यहाँ भवन बन्यो। मन्दिर पनि भित्र पर्‍यो। हामीले पनि त्यतिबेला वास्तै गरेनौं।’
अड्डाका संरक्षण अधिकृत कार्कीले तयार पारेको प्रतिवेदनअनुसार कुमारी मन्दिरवरिपरि ठूला बोरिङ बनाइएका छन्। पहिला जस्ताको छानोले मूर्ति ढाकिएको थियो। अहिले त्यसलाई हटाएर ढलान गरिएको छ। वरिपरि टायल ओछयाइएको छ। ‘कुमारीको दर्शन गर्न जाने बाटो बन्द गरी पसल कबल राखेको देखिन्छ। बाटोमा रितु जेम्स एन्ड ज्वेलरीको पसल राखिएको छ। दर्शन गर्न जाँदा गार्डसँग अनुमति लिएर सटर खोलेर जानुपर्ने अवस्था छ,’ अड्डाले पेस गरेको प्रतिवेदनमा छ।
घरधनी महर्जन भने यो आफ्नो निजी देवता भएको दाबी गर्छन्। ‘घर बनेको ७०/८० वर्ष भयो,’ महर्जन भन्छन्, ‘त्यही बेलादेखि यो भवन यही अवस्थामा छ। त्यो मन्दिर पनि यही अवस्थामा छ।’
मन्दिरलाई भित्र राखे पनि त्यसलाई स्याहार गर्न स्थानीयवासीको माग छ। नेवार समुदायमा कुमारीको ठूलो महत्त्व हुन्छ। ठाउँ–ठाउँमा गणेश कुमार र कुमारीको मूर्ति राखिएका हुन्छन्। ती मूर्तिलाई खुला आकाश छाड्नुपर्छ भन्ने मान्यता छ। अहिले पनि कतिपय घरभित्र कुमारीका मूर्ति छन्। भित्र भए पनि त्यसलाई खुला राखिएका छन्। ‘रन्जना हल (अहिले रन्जना कम्प्लेक्स) भित्रै कुमारीको प्रतिमा छ। त्यहाँ कुमारीको पूजा सधैं हुन्छ,’ शाक्य भन्छन्, ‘हामी फिल्म हेर्न जान्थ्यौं। हल मालिक कुमारीको पूजा गर्न घण्टी बजाउँथे। त्यति श्रद्धा हुन्छ कुमारीको नेवारी समुदायमा।’ यही भवनको बाहिरपट्टि नासल देवताको मन्दिर छ। यो मन्दिर भने सर्वसाधारणका लागि खुला छ। शाक्यका अनुसार यो मन्दिर पनि पहिला बाहिरै थियो। पछि सार्वजनिक जग्गा अतिक्रमण भएपछि भवनभित्रै परेको हो।
कुन बेला जग्गा अतिक्रमणमा पर्‍यो भन्ने एकिन छैन। यस्ता मिचिएका संरचना थुप्रै छन् राजधानीमा। पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु कार्कीका अनुसार यो ठाउँ पहिला दरबारको स्वामित्वमा थियो। राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले दरबारको नाममा भएको जग्गा टुक्रयाए। १९९० सालको भूकम्पले हनुमान ढोका दरबार खुम्चिएको कार्की बताउँछन्। ‘जुद्धशमशेरले दरबारको जग्गा टुक्रयाएर आफ्नो सालिक राखे। जुद्ध सडक बनाए। त्यही सडक न्युरोडको नामले चिनिएको हो।
युरोपियन शैलीका ३ घर बनाए,’ कार्की भन्छन्, ‘मल्लकालीन कुमारीको थान, पोखरी, बगैंचा सबै नापी गराइदिए। अनि त्यो व्यक्तिको नाममा दर्ता भयो।’ कार्कीका अनुसार त्यसयता भएका नापीका बेलामा सार्वजनिक जग्गा मिचेर आफ्नो नाममा दर्ता गर्ने क्रम बढयो। ‘त्यही बेलामा जग्गा आफ्नो नाममा गराए। आफ्नो नाममा जग्गा दर्ता गराउँदा सार्वजनिक ठाउँमा रहेको कुमारी पनि जग्गाधनीले आफ्नो बनाए,’ उनी भन्छन्, ‘अनि कुमारी मन्दिर घरभित्र पर्ने गरी संरचना बने।’
स्थानीयवासीका अनुसार यो क्षेत्रमा थुप्रै सार्वजनिक सम्पत्ति मिचिएका छन्। ५२ वर्षीय शाक्यका अनुसार काष्ठमण्डपदेखि पिपलबोटसम्म विहारै विहार थिए। अहिले ती कहाँ छन् पत्तो छैन। ठाउँ–ठाउँमा महाकाल देउता थिए। ‘ती कहाँ पुगे कहाँ,’ शाक्य भन्छन्, ‘कुमारी बल्ल घरभित्र भेटियो। खोज्दै जाँदा अरू पनि थाहा होला। भूकम्पले यो घर नभत्काएको भए वर्षाैंदेखि हराएको कुमारी भेटिने थिएन।’
सार्वजनिक ठाउँ मिच्नेलाई पत्ता लगाई कारबाहीको दायरामा ल्याइने गरी योजना बनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उच्च स्रोतले जनाएको छ। ‘यो भूकम्पपछिको निर्माण मात्रै होइन, नवनिर्माण गर्ने अवसर पनि हो,’ स्रोतले भन्यो, ‘वसन्तपुर दरबारलाई अगाडि ल्याउनुपर्छ। यसका लागि जुद्ध वारुणयन्त्र राखेको ठाउँदेखि इन्द्रचोकसम्मको एकलाइन घर अन्त सार्नुपर्छ। यसो गरिए सबै दरबार अगाडि आउँछन्। त्यसले पर्यटक आकर्षण बढ्छ। भूगोलपार्कदेखि सम्पूर्ण ठाउँलाई पर्यटक बस्ने ठाउँ बनाउन सक्छौं।’ भूकम्पले सामान्य क्षति बनाएको भवन भत्काएर नयाँ बिजनेस कम्प्लेक्स बनाउने तयारी भइरहेको छ। यो मन्दिर भत्काएपछि हनुमान ढोका दरबार वरैबाट झयाङ देखिन्छ। भवन दरबारसँगै सटाएर बनाइएको छ। यो भवन भत्काउन थाल्दा मन्दिर पुरिन लागेपछि स्थानीयवासीले मूर्तिबारे चासो राखेका हुन्।
साढे ५ तले यो भवनले हनुमानढोका क्षेत्र कुरूप बनाएको थियो। पुरातत्त्वको मापदण्डअनुसार ३२ फिट अग्लो मात्रै बनाउन पाइन्छ। विश्व सम्पदामा सूचीकृत भएपछि पुराना बनेकालाई नचलाउने र नयाँ बन्नेलाई मापदण्ड लागू गरिएन। यो भवन भत्काउन अब एक तला मात्रै बाँकी छ।
यहाँ घर बनाए पनि पहिलाको कुमारी मन्दिरचाहिँ छाडनुपर्ने कार्की बताउँछन्। ‘यस्तो सार्वजनिक महत्त्वको ठाउँमा सर्वसाधारणको एक्सेस बनाइनुपर्छ,’ कार्की भन्छन्, ‘यो पुनर्निर्माणको बेला हो। पुनर्निर्माण गर्दा पुरातात्त्विक मापदण्ड मान्नुपर्छ। अन्य ठाउँमा पनि मिचिएका संरचना भत्काउनुपर्छ।’
अतिक्रमण गरिएका संरचना हटाउन सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने सुझाव पनि अड्डाले दिएको छ। ‘मल्लकालीन कुमारीलाई पहिलाकै अवस्थामा ल्याएर दर्शनार्थीलाई दर्शन गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई पत्रचार गरी अतिक्रमण हटाई पहिलाकै अवस्थामा ल्याउनुपर्ने देखिन्छ,’ प्रतिवेदनको सुझाव छ।
पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली अतिक्रमणमा परेका ठाउँ जोगाउनुपर्ने बताउँछन्। ‘मल्लकालीन नक्सा हेरेर पनि मिचिएका संरचना पत्ता लगाउनुपर्छ,’ ज्ञवाली भन्छन्, ‘२०२० सालको नक्सा हेर्‍यो भने पनि वसन्तपुर कस्तो थियो भनेर पत्ता लगाउन सकिन्छ।’ अहिले घरबारविहीन भएका भूकम्पपीडितलाई बासको व्यवस्था गरिसकेपछि नवनिर्माणको काममा प्राधिकरण जुट्ने ज्ञवालीले बताए।

Comments