घोराही: गस्तीमा रहेको प्रहरी टोलीमाथि जाइलागेका एक समूहमाथि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्। शुक्रबार साँझ दाङको घोराही–तुलसीपुर सडक खण्डमा प्रहरीमाथि हमला गर्न थालेपछि गस्तीको प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर दाङ रामपुरका २७ वर्षीय दानबहादुर बुढा घाइते भएका छन्। उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको छ।
राति अबेरसम्म रक्सी खाएर मूल सडकमा हिँडिरहेका उनीहरुले गस्तीमा हिँडेको प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए। प्रहरीले प्रतिरक्षाको लागि गोली चलाएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए। प्रहरीले प्रहरीमाथि आक्रमण गर्ने समूहका रामपुर–९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाँउ निवासी १९ वर्षीय उपेन्द्र गिरी, सोही ठाँउकै २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका–१५ निवासी सागर श्रेष्ठलाई पक्राउ गरेको छ।
उनीहरुबाट केही थान खुकुरी तथा अन्य घरेलु हतियारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुको समूहले फोनमा विभिन्न व्यक्तिलाई धम्की दिँदै पैसा असुली गर्दै आएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment